site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कतारका अमिर तमिमले वैशाखमा नेपालको भ्रमण गर्ने, नौवटा सम्झौतापत्रमा हस्ताक्षर हुने 

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले २०८१ वैशाख १२ र १३ गते नेपालको भ्रमण गर्ने भएका छन् ।  यसअघि एक पटक स्थगन भएको उनको नेपाल भ्रमण पुन तय गरिएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीलाई बतायो । 

“कतारका अमिर तमिमको नेपाल भ्रमणको मिति पुनः तय भएको छ । उहाँ दुईदिनको लागि नेपाल आउँदै हुनुहुन्छ । खाडी राष्ट्रबाट नेपालमा हुन लागेको यो अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय भ्रमण हो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

यसअघि कतारका अमिर तमिमले गत कात्तिक २० र २१ गते गर्ने भनिएको नेपाल भ्रमण स्थगित गरेका थिए । 

Dabur Nepal
NIC Asia

भ्रमणको सम्पूर्ण तयारी सकिएपछि काठमाडौंस्थित कतारको दूतावासले कात्तिक १३ गते परराष्ट्र मन्त्रालयलाई भ्रमण स्थगित गरिएको जानकारी दिएको थियो ।

पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले त्यतिबेला परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको थियो । त्यसपछि अहिले पुनः कतारका अमिर तमिमको नेपाल भ्रमण मिति तय गरिएको हो । 

सन् १९८० मा जन्मिएका तमिम सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् ।  तमिम पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन् ।  अल थानीको दोस्रो पत्नी मोजा बिन्त नासिरबाट उनको जन्म भएको थियो । 

जेठा दाई शेख जसिमले सिंहासनमा आफ्नो दाबी त्यागेपछि सन् २००३ मा तमिम उत्तराधिकारी बनेका थिए ।  सन् २०१३ मा उनका पिताले गद्दी त्यागेपछि उनी कतारको अमिर भएका थिए ।  उनले सन् २०२२ मा कतारमा फिफा विश्वकप जस्तो विश्व चर्चित खेलकुद कार्यक्रम आयोजना गरेर कतारको छवि अन्तर्राष्ट्रिय स्तरमा निकै माथि पु¥याएका थिए । 

उनले फ्रान्सको चर्चित फुटबल क्लब पेरिस सेन्ट–जर्मेन खरिद गरेर एक समय चर्चा बटुलेका थिए । यिनै कतारका अमिर तमिम आगामी वैशाख महिनामा नेपाल आउन लागेका हुन् । 

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेपछि कतारबाट नेपालमा हुन लागेको यो सबैभन्दा उस्चस्तरीय भ्रमण हो । कतारबाट मात्र होइन सम्पूर्ण खाडी राष्ट्रहरुबाट नै अहिलेसम्म यति उच्चस्तरमा नेपालमा भ्रमण भएको छैन । 

यसले अन्य खाडी राष्ट्रबाट पनि नेपालमा उच्चस्तरीय भ्रमणको लागि ढोका खोल्ने दाबी स्रोतको छ ।  “कतारका अमिरको भ्रमण पछि खाडीका अन्य शक्ति राष्ट्र साउदी अरब, युनाइटेड अरब इमिरेट्स लगायतका देशबाट पनि नेपालमा उच्चस्तरीय भ्रमणको लागि ढोका खुला हुन्छ । यसले नेपालमा लगानी र पर्यटन प्रवद्र्धन गर्न सघाउने छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

कतार वैदेशिक रोजागरीको लागि नेपालीहरुको प्रमुख गन्तव्य राष्ट्रमध्ये एक हो । 

पछिल्ला वर्षहरुमा मलेसियापछि दोस्रो ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा कतार जाने गरेका छन् । कतारका अमिरको भ्रमणले कतारमा रहेका नेपालीका हितमा पनि सघाउ पु्ग्ने आशा गरिएको छ । 

स्रोतका अनुसार कतारका अमिर तमिमको नेपाल भ्रमणको समयमा नेपाल र कतारबीच नौवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । 

दुई देशबीच कूटनीतिक तालिम र शिक्षा सम्बन्धी समझदारीपत्र, सांस्कृतिक क्षेत्रमा एक–आपसमा सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्र, युवा तथा खेलकुदसम्बन्धी समझदारी, छापा तथा सूचना सम्बन्धी पोर्टोकल, विकास साझेदारी सम्बन्धी समझदारी, महान्यायाधिवक्ताको कार्यालय र कतारको यस्तै निकायबीच सहकार्य गर्ने समझदारीपत्र, संशोधित श्रम सम्झौता लगायतका समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । 

घरेलु कामदार लैजाने र कतार प्रहरीमा नेपालीलाई लिने सम्बन्धी विषयमा पनि अहिले दुई देशबीच छलफल भइरहेको छ । कतार फन्ड फर डेभलपमेन्टबाट नेपालले सहायता लिने विषयमा पनि छलफल चलिरहेको दाबी स्रोतको छ । 

“कतारका अमिरको भ्रमणका बेला नेपालले कतारलाई विशेष उपहारस्वरुप दुईवटा हात्तीका छावा दिने तयारी पनि भइरहेको छ,” स्रोतले भन्यो ।

नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्ष पुगेको छ । यो अवधिमा नेपालबाट कतारमा उच्चस्तरीय भ्रमणहरु भए पनि कतारबाट हुन सकेको थिएन ।  कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालले सन् २००० मा कतारमा आफ्नो दूतावास स्थापना गरेको थियो । कतारले सन् २०११ मा नेपालमा दूतावास खोलेको थियो । 

नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान धारणा राख्दै आएका छन् । संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले शान्ति, सुरक्षा र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । 

नेपालका तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले २१ मार्च २००५ मा कतार भ्रमण गरी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन राष्ट्रपति रामवरण यादवले २०११ अक्टोबर १०–१३ सम्म कतारको औपचारिक भ्रमण गरेका थिए । 

यसअघि तत्कालीन श्रममन्त्री रमेश लेखकले स्न २००८ जनवरी २० मा कतारको भ्रमण गरी एउटा श्रम सम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका थिए । परराष्ट्रमन्त्रीको रुपमा उपेन्द्र यादवले पनि स्न २००९ मार्च १४–१६ सम्म कतारको भ्रमण गरेका थिए । 

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सन् २००८ नोभेम्बर २८ देखि डिसेम्बर ३ सम्म कतारको भ्रमण गरेका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सन् २०१४को मार्चमा कतारको निजी भ्रमण गरेका थिए ।  परराष्ट्रमन्त्रीको हैसियतमा प्रकाशशरण महतले पनि सन् २०१७ जनवरीमा कतारको भ्रमण गरेका थिए । 

यस्तै २०७५ कात्तिकमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कतारको चार दिने भ्रमण गरेकी थिइन् । कतारबाट भने सन् २०१५ को अप्रिलमा श्रम तथा सामाजिक मामिला मन्त्री अब्दुल्लाह सलेह मुबारक अल–अलखुलाफीले नेपाल भ्रमण गरेका थिए । 

कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखीले गत मंसिर महिनामा नेपालको भ्रमण गरेका थिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro