काठमाडौं । आगलागी र वन डढेलोका घटना अबका तीन महिना ह्वात्तै बढ्ने अनुमान गरिएको छ । २०८० को चैत र २०८१ को वैशाख र जेठ महिनामा अघिल्ला वर्षहरूमा भन्दा आगलागी र वन डढेलोका घटना बढ्ने अनुमान गरिएको हो । यसको पछाडि केही कारण छन् ।
“वन डढेलो र आगलागीका दृष्टिले अबका केही महिना हाम्रा लागि जोखिमपूर्ण छन्,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाह्रखरीसँग भने, “जोखिम यस अर्थमा बढी छ– एक त घटना हुने सम्भावना बढी छ, अर्को हामीसँग यसको सामना गर्ने संस्थागत ज्ञान, सीप र क्षमताको अभाव छ ।”
पहिलो कारण– नेपालमा पछिल्ला दुई वर्षयता ठूलो र धेरै संख्यामा डढेलोका घटना भएका छैनन् । यसैकारण जंगलमा ठूलो मात्रामा पात–पतिंगर थुप्रिएको छ । कतैबाट आगो सल्किहालेमा यसले ठूलो रूप लिनसक्छ । “स–सानो डढेलो तथा आगलागी भइरहे ठूलो क्षति हुँदैन । तर केही वर्षका अन्तरमा डढेलो लागे त्यसले ठूलो रूप लिन्छ,” उनले भने ।
दोस्रो कारण– यो वर्ष नेपालमा हिउँदे वर्षा राम्रोसँग भएन । हिउँदमा नेपालमा औसतमा जति पानी पर्नुपर्थ्यो यसवर्ष त्यसको मात्र २० प्रतिशत वर्षा भएको छ । छिट्टै वर्षा हुने सम्भावना देखिँदैन । यसले सुक्खापन एकदमै बढाएको छ ।
तेस्रो कारण– नेपालको तापक्रम बढ्नु हो । जल तथा मौसम विज्ञान विभागले गत माघमा एउटा रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टमा वर्ष सन् २०२३ झन्डै चार दशकयताकै सबैभन्दा धेरै तातो वर्ष भएको उल्लेख छ । सन् १९८१ यता सन् २०२३ कम वर्षा हुने वर्षहरूको सूचीको आठौँ नम्बरमा रह्यो ।
रिपोर्टअनुसार सन् २०२३ मा नेपालको वर्षभरिको औसत अधिकतम तापक्रम २७.९ डिग्री सेल्सियस मापन गरियो, जुन सामान्य वार्षिक अधिकतम तापक्रमभन्दा केही धेरै हो । यसको विपरीत सन् २०२३ मा वर्षको औसत न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस मापन गरियो, जुन सामान्य वार्षिक न्यूनतम तापक्रमभन्दा धेरै हो ।
समग्रमा सन् २०२३, सन् १९८१ पछिकै सबैभन्दा तातो वर्षका रूपमा रह्यो । केही क्षेत्रमा इतिहासकै उच्च तापक्रम मापन गरियो । रिपोर्टअनुसार देशभरका स्टेसनमध्ये १२ वटा स्टेसनले अहिलेसम्मकै अधिकतम तापक्रम मापन गरेर रेकर्ड ब्रेक गरेका छन् । बन्दीपुर, चतारा, चौतारा, धरान बजार, दुम्कौली, वीरेनचोक गार्खा, जनकपुर एयरपोर्ट, कन्याम टी इस्टेट, ओखलढुंगा, रामपुर, सिमरा एयरपोर्ट र सिरहाका स्टेसनले रेकर्ड ब्रेक गरेका हुन् ।
पूर्वी नवलपरासीस्थित दुम्कौली स्टेसनमा ५ जुन १९७९ मा अधिकतम ४३.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । जबकी ९ जुन २०२३ मा यो स्टसेनले ४४.८ डिग्री सेल्सियस तापक्रम मापन गरेर रेकर्ड तोडेको छ ।
यसैगरी, धनुषाको जनकपुर एयरपोर्टमा ७ मे १९८९ मा ४२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएकोमा ९ जुन २०२३ मा ४२.५ डिग्री सेल्सियस तापक्रम मापन भएर रेकर्ड ब्रेक भएको छ ।
यस्तै, इलामको कन्याम टी इस्टेटको स्टेसनमा १० जुलाई १९७३ मा अधिकतम २९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । नेपालमा तापक्रम वृद्धि हुँदा र लामो समय वर्षा नहुँदा सुक्खापन बढाएको छ, जसले डढेलो र आगलागीको सम्भावना बढाउनेछ ।
चौथो कारण– विश्वव्यापी रूपमा तापक्रम बढ्नु । पछिल्ला दिनहरूमा नेपालमा मात्र तापक्रम बढेको छैन, विश्वव्यापी रूपमै तापक्रम बढेको विभिन्न अध्ययनले देखाएको छ ।
युरोपेली संघको कोपर्निकस जलवायु परिवर्तन सेवाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२४ को फेब्रुअरी महिना हालसम्मकै सबैभन्दा तातो फेब्रुअरी महिना भएको उल्लेख गरेको छ ।
प्रतिवेदनमा लगातार नवौँ महिनाले तापक्रम वृद्धिमा रेकर्ड कायम गरेको जनाइएको छ । मानवीय गतिविधि र एल निनो मौसमीय चक्रका कारण सन् २०२३ को जुनयता पृथ्वीमा जल र स्थल दुवैमा तापक्रम बढेको छ ।
फेब्रुअरीमा औसत विश्वव्यापी हावाको तापक्रम १३.५ डिग्री सेल्सियस पुगेको छ । यसअघि, सन् २०१६ को फेब्रुअरी सबैभन्दा तातो महिना थियो । त्योभन्दा गएको फेब्रुअरीको तापक्रम ०.१२ डिग्री सेल्सिययले बढी हो । विश्वव्यापी तापक्रम बढ्दा त्यसबाट नेपाल अछुतो रहन सक्दैन । “विश्वव्यापी तापक्रम बढ्दा यसले नेपालमा पनि जोखिम बढाएको छ,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलको धारणा छ ।
पाँचौँ कारण हो– हावाहुरीको मौसम । अबको तीन महिना (चैत, वैशाख र जेठ) बेजोडले हावाहुरी चल्छ । घर, गोठ र वन÷जंगलमा लागेको आगो हावाहुरीले छिटो र टाढासम्म पुर्याउँछ । वन र मानववस्ती जोडिएका छन् । मानव बस्तीमा लागेको आगो वनमा सल्किन र वनमा लागेको आगो मानवबस्तीमा सल्किन बेर नै लाग्दैन । यसकारण अबका केही महिना एकदमै चनाखो हुनुपर्ने समय हो ।
“अझै लामो समय पानी परेन र हावा हुन्डरी बढ्यो भने क्षति बढाउन सक्छ र यसको प्रभाव ठूलो हुन्छ,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।
फागुन महिना सुरु भएपछि नेपालमा डढेलो र आगलागीका घटनाहरू बढ्न थालेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार, फागुन २७ गते देशभर रेकर्ड भएका २५ वटा विपद्का घटनामा २३ वटा आगलागी र डढेंलोसँग सम्बन्धीत थिए ।
यही फागुन २६ गते देशभर विपद्का ४३ वटा घटना रेकर्ड गरिएको थियो । २७ जिल्लामा भएका ती सबै घटना आगलागी र वन डढेलोसँग सम्बन्धित रहेको प्राधिकरणको तथ्यांकले देखाउँछ । यस्तै, फागुन गते रेकर्ड भएका विपद्का १३ घटनामा १२ वटा आगलागी र डढेलोसँग सम्बन्धित थिए । फागुन १ गते रेकर्ड गरिएका २३ वटा विपद्का घटनामा २२ वटा आगलागी र डढेंलोका थिए ।
फागुन महिनाको यी तथ्यांकले पनि पछिल्ला दिन नेपालमा आगलागी र डढेलोका घटना कसरी बढिरहेको छ स्पष्ट देखाउँछ । आगामी दिनमा यो संख्या झन् बढ्दै जाने देखिन्छ । “अबका केही दिन हामीले धेरै नै सावधानी र सतर्कता अपनाउन जरुरी छ,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।
पछिल्लो करिब १३ वर्षको तथ्यांकले के भन्छ ?
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार पछिल्लो १२ वर्ष ११ महिनाको अवधिमा नेपालमा आगलागी र डढेलोसम्बन्धी २५ हजार २०३ वटा घटना रेकर्ड भएका छन् । २०६८ वैशाख १ गतेदेखि २०८० फागुन २७ गतेसम्मको अवधिमा ती घटना रेकर्ड भएका हुन् ।
उक्त अवधिमा भएका आगलागी र डढेलोका घटनामा परी एक हजार ११ जनाले ज्यान गुमाएका छन् । ती घटनामा तीन हजार ३२२ जना घाइते भएको केन्द्रको तथ्यांकले देखाउँछ ।
पछिल्लो करिब १३ वर्षको अवधिमा भएका आगलागी र डढेलोका घटनाबाट देशभर ३३ हजार १६८ परिवार प्रभावित भएका छन् । सो अवधिमा आगलागीका घटनाले चार हजार ७३९ घरमा आंशिक क्षति, १९ हजार ४६८ घरमा पूर्ण क्षति र सात हजार ३२१ गोठमा क्षति गरेको छ । आगलागीमा परी सात हजार ७५३ पशु चौपाया जलेका छन् ।
केन्द्रका अनुसार, आगलागीका घटनाले करिब १३ वर्षको अवधिमा २६ अर्ब ७१ करोड ९५ लाख ६३ हजार ८३४ रुपैयाँँ बराबरको आर्थिक क्षति गरेको छ । प्रत्येक वर्ष औषतमा दुई अर्ब रुपैयाँँभन्दा बढीको आर्थिक क्षति आगलागीका घटनाले सर्वसाधरणको गर्ने गरेको छ ।
कहाँ हुन्छ सबैभन्दा बढी आगलागीका घटना ?
पछिल्लो करिब १३ वर्षमा नेपालमा सबैभन्दा बढी आगलागीका घटना काठमाडौंमा हुने गरेको तथ्यांकले देखाउँछ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार उक्त अवधिमा काठमाडौंमा आगलागीका एक हजार ६९८ घटना रेकर्ड भएका छन् । काठमाडौंपछि सबैभन्दा बढी आगलागीका घटना हुने जिल्लामा क्रमशः मोरङ, सुनसरी, सप्तरी, झापा, सिराहा, धनुषा, बारा, सर्लाही, कपिलवस्तु र पर्सा रहेका छन् ।
२०६८ देखि २०८० फागुन २७ गतेसम्मको अवधिमा मोरङमा एक हजार ४८७, सुनसरीमा एक हजार १६३, सप्तरीमा एक हजार १५४, झापामा ९५९, सिराहामा ८०६, धनुषामा ७७४, बारामा ७७२, सर्लाहीमा ७४६, कपिलवस्तुमा ७३९ र पर्सामा ७१० वटा आगालागीका घटना भएका थिए ।
केन्द्रको तथ्यांकले नेपालमा सबैभन्दा बढी आगलागीका घटना हुने ११ जिल्लामा १० वटा तराईका जिल्ला देखाएको छ । काठमाडौंबाहेक आगलागी बढी हुने सबै जिल्ला तराईका छन् ।
आगलागीले बढी मानवीय क्षति कहाँ गरेको छ ?
बितेको करिब १३ वर्षमा आगलागी र डढेलोका घटनामा परी एक हजार ११ जनाको नेपालमा मृत्यु भएको छ ।
आगलागीका कारण सबैभन्दा ठूलो मानवीय क्षति काठमाडौंमा भएको छ । सो अवधिमा काठमाडौंमा भएका आगलागीका घटनामा परी ६१ जनाले ज्यान गुमाएका छन् । काठमाडौंपछि बढी मानवीय क्षति हुने जिल्लामा क्रमसः धनुषा, मोरङ, दाङ, झापा, गुल्मी, सुनसरी, बर्दिया, पर्सा, कैलाली, सिराहा, काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक, रामेछाप, प्युठान, ललितपुर, बाग्लुङ र धादिङ रहेका छन् ।
राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार धनुषामा ३८, मोरङमा ३५, दाङमा ३३, झापामा २६, गुल्मीमा २६, सुनसरीमा २५, बर्दियामा २३, पर्सामा २२, कैलालीमा २२, सिराहामा २०, काभ्रेपलाञ्चोकमा १९, सिन्धुपाल्चोकमा १८, रामेछापमा १८, प्युठानमा १७, ललितपुरमा १७, बाग्लुङमा १६ र धादिङमा १६ जनाको आगलागीका कारण मृत्यु भएको छ ।
आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति हुने प्रमुख १८ जिल्लामा ९ वटा पहाडी र ९ वटा तराईका जिल्ला छन् । आगलागीका घटना तराईको तुलनामा पहाडी जिल्लामा कम हुने देखिए पनि मानवीय क्षति भने लगभग उस्तै हुने गरेको तथ्यांकले देखाउँछ ।
आगलागीले बढी आर्थिक क्षति कहाँ गरेको छ ?
राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार पछिल्लो करिब १३ वर्षमा आगलागीका घटनाले सर्वसाधरणको २६ अर्ब ७१ करोड ९५ लाख ६३ हजार ८३४ रुपैयाँँ बराबरको क्षति गरेको छ ।
उक्त अवधिमा आगलागीका घटनाले सबैभन्दा बढी आर्थिक क्षति काठमाडौंमा गरेको छ । आगलागीबाट सो समयमा दुई अर्ब ५५ करोड २६ लाख ३९ हजार २२२ रुपैयाँँ बराबरको क्षति भएको छ ।
काठमाडौंपछि आगलागीका घटनाले सबैभन्दा बढी आर्थिक क्षति गरेका जिल्लामा क्रमशः बारा, सुनसरी, रूपन्देही, मोरङ, झापा, सप्तरी, सोलुखुम्बु, मकवानपुर, पर्सा, बाँके, उदयपुर, सिराहा र कास्की रहेका छन् ।
केन्द्रका अनुसार बितेको करिब १३ वर्षमा आगलागीले बारामा एक अर्ब ९६ करोड २१ लाख ९३ हजार १०० रुपैयाँँ, सुनसरीमा एक अर्ब ४७ करोड पाँच लाख ५७ हजार ३०० रुपैयाँँ, रूपन्देहीमा एक अर्ब ३४ करोड ८६ लाख ७७ हजार ४५० रुपैयाँँ र मोरङमा एक अर्ब ६ करोड १२ लाख ५३ हजार ८०० रुपैयाँँ बराबरको आर्थिक क्षति गरेको छ ।
यस्तै, झापामा एक अर्ब चार करोड २९ लाख ५२ हजार ३०० रुपैयाँ, सप्तरीमा ९९ करोड ८० लाख ३६ हजार ३०० रुपैयाँ, सोलुखुम्बुमा ७१ करोड ८८ लाख ९१ हजार २०० रुपैयाँँ, मकवानपुरमा ६४ करोड ७७ लाख ६९ हजार ४६० रुपैयाँ र पर्सामा ६४ करोड २८ लाख ५३ हजार २५० रुपैयाँ बराबरको आर्थिक क्षति आगलागीका घटनाले गरेको छ ।
बाँकेमा ५७ करोड ९३ लाख चार हजार ७१० रुपैयाँ, उदयपुरमा ५५ करोड ९० लाख ४३ हजार ९३० रुपैयाँ, सिराहामा ५४ करोड २१ लाख ७५ हजार ९५० रुपैयाँ र कास्कीमा ५३ करोड ५५ लाख ६६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको तथ्यांकले देखाउँछ । केन्द्रको तथ्यांकले आगलागीका घटनाले पहाडी जिल्लामाभन्दा तराईका जिल्लामा बढी आर्थिक क्षति गरेको देखाउँछ ।
आगलागीका दृष्टिले सबैभन्दा जोखिम काठमाडौं
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकले आगालागीका दृष्टिले नेपालमा सबैभन्दा बढी जोखिममा रहेको जिल्लामा काठमाडौंलाई देखाउँछ ।
पछिल्ला करिब १३ वर्षको तथ्यांकले आगलागीका सबैभन्दा बढी घटना काठमाडौंमा भएका छन् । आगलागीका घटनामा परी सबैभन्दा बढीको मृत्यु काठमाडौंमा भएको छ । आगलागीका घटनाले सबैभन्दा बढी आर्थिक क्षति काठमाडौंमा गरेको छ ।
उक्त समयमा काठमाडौंमा आगलागीका एक हजार ६९८ घटना रेकर्ड भएका छन् । ती घटनामा परी ६१ जनाले ज्यानमा गुमाएका छन् भने २ अर्ब ५५ करोड २६ लाख ३९ हजार २२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
जोखिम कसरी कम गर्ने ?
आगलागी र डढेलोका घटना भइरहन्छन् । यस्ता घटना भैहाले जोखिम कम गर्न सकिन्छ । त्यसको लागि विभिन्न उपायहरू छन् । घर तथा गाउँ वरपर पोखरी बनाउनुपर्छ । आगलागी भैहालेमा पोखरीको काम आउँछ । पोखरी घर तथा गाउँ वरपर मात्र होइन, जंगलको बीच बीचमा पनि बनाउन जरुरी छ । वनमा लागेको डढेलो निभाउन यस्ता पोखरीका रहेको पानी प्रयोग गर्न सकिन्छ । नेपालसँग डढेलो निभाउन प्रयोग हुने हेलिकोप्टर र जहाज छैन । यसैकारण पोखरी सबैभन्दा बढी उपयोगी हुने देखिन्छ ।
“पहिला पहिला घर तथा गाउँ वरपर र जंगलमा पोखरी बनाइन्थ्यो । बाह्रै महिना ती पोखरीमा पानी जम्मा गरिन्थ्यो । तर सडक विकासका नाममा यस्ता पोखरी मासिएका छन् । जंगलमा पोखरी बनाउन दिइँदैन । जब आगलागी हुन्छ, तब निभाउन पानीको अभाव हुन्छ र यस्तो हुँदा क्षति बढी हुनेगर्छ,” प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने ।
जोखिम घटाउन अर्को गर्ने पर्ने कुरा हो संस्थागत क्षमता अभिवृद्धि । नेपालमा दमकल सेवा प्रदान गर्ने जुद्ध वारुण यन्त्र कार्यालय त छ तर थन्काइएको अवस्थामा छ । पछिल्ला वर्षहरूमा दमकल सेवा स्थानीय पालिकाहरूलाई जिम्मा लगाइएको छ । जुद्ध वारुण र स्थानीय पालिकाहरू दक्ष व्यक्तिको अभाव छ ।
“जुद्ध बारुणलाई पुरै तिरस्कार गरिएको अवस्था छ । यसलाई कुनामा लगेर फालिएको छ । जुद्ध वारणलाई कुनामा राख्ने होइन, केन्द्रमा तानेर सक्रिय बनाउनु पर्छ,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल भन्छन्, “सबै पालिकाले गर्छ भन्ने भ्रम छ । पालिकामा दक्ष जनशत्ति छन् वा छैनन्, भए कति छन् यसबारे कसैले ध्यानै दिएको छैन ।”
नेपालमा रहेका अग्नि नियन्त्रकलाई आवश्यक तालिको अभाव छ । नेपालमा उच्चस्तरको तालिम दिने ठाउँ छैन । तालिमको लागि विदेश जाने अवसर कमै पाउँछन् । जुद्ध वारण र स्थानीय तहका दमकल सेवासँग समबन्धित कर्मचारीलाई आवश्यक तालिका दिनुपर्ने उनको धारणा छ ।
नेपालमा जुद्ध वारुण, स्थानीय पालिका, सेना र प्रहरीसँग केही थान दमकल त छन् तर ती सबै होचा घरमा आगलागी भए मात्र काम आउँछन् । काठमाडौंमा पछिल्ला केही वर्षयता अग्ला घर बन्न थालेका छन् । १५–२० तले घरको संख्या बढ्न थालेको छ । यस्ता अग्ला घरमा आगलागी भए निभाउनको लागि नेपालमा साधन छैन । अहिले भएका दमकलसँग यस्तो क्षमता छैन ।
“कम्तीमा पनि देश र प्रदेशका राजधानीमा अग्ला भवनमा लागेको आगो निभाउन सक्ने क्षमताका दमकल राख्न जरुरी छ,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।
तालिमको आवश्यक समुदाय र वन उपभोत्ता समितिलाई पनि छ । कस्तो आगो निभाउन के प्रयोग गर्ने भन्ने ज्ञान समुदायमा पनि हुनुपर्छ । त्यतिमात्र होइन, वनमा लागेको डढेलो निभाउन कस्तो अवस्थामा जानुहुन्छ वा हुँदैन भन्ने ज्ञान पनि हुन जरुरी छ । पात–पतिंगर तथा स–साना बुट्यानमा आगो लागेको छ भने निभाउन जान हुन्छ तर रुख नै बल्न थालेका छन् भने त्यस्तो अवस्थामा जानु हुँदैन । आगो निभाउन जाँदा हावा कुन दिशाबाट बहिरहेको छ भन्ने समेत ख्याल गर्नुपर्छ ।
पछिल्लो ३०–४० वर्षमा नेपालमा वन क्षेत्र लोभलाग्दो तरिकाले बढेको छ । वन क्षेत्र बढिरहँदा डढेलोको जोखिम पनि बढेको छ । यसकारण वन क्षेत्र बढाएर मात्र पुग्दैन, वनको व्यवस्थापन पनि गर्न जान्नुपर्छ । वनको व्यवस्थापन सहि तरिकाले गर्नसके डेढेलोको जोखिम कम गर्न सकिने धारणा प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलको छ ।