
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोसी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपीएफले जित निकालेका छन् ।
सोमबार विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई दुई विकेटले पराजित गरेको हो । जितसँगै सुदूर चार खेलबाट ६ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । वाग्मती भने खेलेको दुवै खेलमा पराजित भएसँगै अन्तिम दुई खेल बाँकी भए पनि प्रतियोगिताबाट बाहिरिने निश्चित बनेको छ ।
टस जितेर ब्याटिङ गरेको वाग्मतीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११७ रनको योगफल खडा गरेको थियो ।
वाग्मतीका लागि शुभ कन्साकारले ३४ बलमा तीन छक्का र चार चौका प्रहार गरि ४१ रन बनाए । यस्तै, रविन जोशीले ३१ रन थपे ।
सुदूरका तीन विकेट लिए । यस्तै, नरेन साउदले दुई विकेट लिए ।
११८ रनको लक्ष्य पाएको सुदूरले १९.२ बलमा आठ विकेट गुमाएर जित भेट्टायो । सुदूरको जितमा नरेन भट्टले ३० रन बनाए । दिपक वोहोराले २२, किरण ठगुन्नाले २१ र नारायण जोशीले १६ रन थपे ।
वाग्मतीका गौतम केसीले तीन विकेट लिए । विपीन आचार्य र इशान पाण्डेले समान दुई विकेट लिए ।
दोस्रो खेलमा एपिएफले घरेलु टोली कोसी प्रदेशलाई चार विकेटले पराजित गरेको छ । एपीएफसँग पाराजित भएको कोसी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा तीन खेलमा एकमा जित र दुईमा पराजित कोसी दुई अंकका साथ तेस्रो स्थानमा छ ।
टस जितेर ब्याटिङ गरेको कोसीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ११७ रनको योगफल तयार पारेको थियो । कोसीका विकेट किपर सोनु अन्सारीले ३१ बलमा ४३ रन बनाए । अंकित सुवेदीले ३२ रन र श्रवण यादवले १९ रनको योगदान दिए ।एपीएफका भुवन कार्की, यज्ञमान कुमाल, अमर रोटेला र इर्साद अहमद समान दुई विकेट लिए ।
जवाफमा ११८ रनको लक्ष्य पछ्याएको एपीएफले १८.५ बलमा ६ विकेट गुमाई लक्ष्य भेट्टायो । एपीएफकोे जितमा पूरन विकले ३६ रन बनाए । प्रनित थापा मगरले २० र अरुण ऐरीले १५ रनको योगदान दिए ।
मधेसका फिर्दोस अन्सारीले तीन विकेट लिँदा दिपेश कँडेलले एक विकेट लिए ।
मंगलबारको पहिलो खेल घरेलु टोली कोसी र आर्मी तथा दोस्रो खेल वाग्मती र गण्डकीबीच हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमदसाद बाबु कुरैसीले जानकारी दिए ।
गण्डकीको कप्तान विपीन कारबाहीमा
गण्डकीको कप्तान विपीन खत्री कोसी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा कारबाहीमा परेका छन् । आइतबार पुलिससँग भएको खेलमा पुलिका खेलाडी शंकर रानाको स्टम्पिङको अपिल गरेपछि अम्पायरले आउट नदिए पछि खेल सकिदा विपीनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको भनेपछि उनी कोड अफ कन्डकटका आधारमा कारबाहीमा परेका हुन् ।
म्याच रेफ्री महमद सफिकले उनलाई म्याच फिको शतप्रतिशत र तीन डिमेरिट प्वाइन्ट दिएका छन् । उनले अब १८ महिनाभित्र क्यानले मान्यता दिए प्रतियोगितामा एक डिमेरिट प्वाइन्ट पाए भने क्यानले मान्यता पाएको प्रतियोगिताको एक खेल प्रतिबन्ध हुने म्याच रेफ्री सफिकले बताए ।