site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपेन्द्र यादव पाँचौँमा, यस्तो छ मन्त्रिपरिषद्को वरीयता 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्‌मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री बनेका छन् ।

जसपाबाटै नवलकिशोर साह वन तथा वातावरणमन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई आजै शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराए ।

उनीहरू मन्त्री बनेसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । सरकारमा चार उपप्रधानमन्त्री छन् ।

पूर्वउपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका यादव अहिले पाँचौँ वरीयताक्रममा छन् । मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा नेकपा (एमाले)का सचिव समेत रहेका रघुवीर महासेठ छन् । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुन् ।

तेस्रो वरीयतामा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छन् ।

चौथो वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने छन् । यादवलाई लामिछानेभन्दा तलको वरीयतामा राखिएको छ ।

स्रोतका अनुसार, यादवले मन्त्रिपरिषद्‌मा दोस्रो वरीयता पाउनुपर्ने माग गरेका थिए । तर, गठबन्धनको सरकार भएकाले वरीयता विवाद नगर्न आग्रह गरिएको बताइएको छ ।

मन्त्रिपरिषद्को वरीयताक्रम हेर्नोस्–

af-1710053381.jpg
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्