site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री श्रेष्ठ र रूसका विदेशमन्त्री लाभरोभबीच टेलिफोन वार्ता
फाइल तस्बिर ।

काठमाडौं । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले रूसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न सघाउने आश्वासन नेपाललाई दिएका छन् ।  

बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको टेलिफोन वार्तामा रूसी विदेशमन्त्रीले उक्त आश्वासन दिएका हुन् ।  

“रूसी विदेशमन्त्रीले रूसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाउन सहयोग गर्ने आश्वासन दिनुभएको छ,” दुई देशका मन्त्रीबीचको टेलिफोन कुराकानी हुँदा उपस्थित परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “फिर्ता गर्ने प्रक्रिया दुई देशका विदेश मन्त्रालयका अधिकारीले टुंगो लगाउने सहमति भएको छ ।” 

टेलिफोन वार्ताको सुरुमा रूसी विदेशमन्त्रीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई पदभार ग्रहण गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।  

त्यसपछि उनले रूस नेपालसँग व्यापार, पर्यटन, संस्कृति लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

“दुवै परराष्ट्रमन्त्रीले रूसी सेनामा रहेका नेपाली नागरिक र नेपाल–रुस सम्बन्धका विविध पक्षमा छलफल गरेका थिए,” परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रूसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न रूसका विदेशमन्त्रीसँग आग्रह गरेका थिए । 

मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया सुरु गरेकोमा रूसी विदेशमन्त्रीलाई धन्यवाद दिँदै यसलाई छिटोभन्दा छिटो टुंग्याउन उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले आग्रह गरेका थिए । जवाफमा रूसी विदेशमन्त्रीले नेपालको चासो सम्बोधन गर्न सहयोग गर्ने आश्वासन दिएका थिए । 

अवैधमा रूपमा रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म २१ जना नेपालीले ज्यान गुमाइसकेका छन् । रूसी सेनामा भर्ती भएका साढे दुई सयभन्दा बढी नेपाली लामो समयदेखि परिवारको सम्पर्कमा छैनन् । रूसी सेनामा भर्ती भएका ६ सयभन्दा बढीका परिवारले उनीहरूलाई फिर्ता गरिदिन अनुरोध गर्दै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro