site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीमान्/श्रीमतीको बेमेलले निम्त्याएका तीन विभत्स घटना, जसको परिवार नै उजाडियो

काठमाडौं । दुई साताअघि फागुन ९ मा सोलुखुम्बु दूधकोसी गाउँपालिकाका ५१ वर्षीय राजु घिमिरे भन्ने काजी विश्वकर्माले श्रीमतीसहित तीनजनाको सामूहिक हत्या गरी आफूले आत्महत्या गरे ।

सितापाइलास्थित बद्री बजगाईंको घरमा भाडामा बस्दै आएका राजुले ३९ वर्षीया श्रीमती ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, आठ वर्षीया छोरी अनिसा र साढे दुई वर्षीया नातिनी सिबनाको विभत्स हत्या गरेका थिए । कोठामा बिहान राजुले परिवारका सदस्यको हत्या गरे । त्यसको ४ घण्टापछि आफूले पनि घटनास्थल भन्दा करिब चार किलोमिटरमाथिको जंगलमा पुगेर झुन्डिएर आत्महत्या गरेका थिए ।

प्रहरीको अनुसन्धानले राजुले परिवारकै सामूहिक हत्या गरेर आत्महत्या रोज्नुको कारण परपुरुषसँग श्रीमतीको अवैध सम्बन्ध रहेको खुलाएको छ । राजुले सामूहिक हत्यालगत्तै ससुरा, सालीलगायतका आफन्तलाई फोन गरेर श्रीमतीकै कारण सामूहिक हत्या गर्नुपरेको बताएका थिए ।

त्यसबाहेक प्रहरीको अनुसन्धानका क्रममा पनि श्रीमतीको अवैध सम्बन्धले घटना भएको खुलेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्रबहादुर खत्री बताएका छन् । गतवर्षको साउन १६ मा पनि यही प्रकृतिको घटना काठमाडौं तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा घटेको थियो । काभे्रस्थलीका दिनेश पाण्डेले श्रीमतीसहित तीन जनाको विभत्स हत्या गरेपछि आत्महत्या गरेका थिए ।

दिनेशले श्रीमती सुनिता पाण्डे, छोरी आशिका र ११ वर्षका छोरा आशिकको हत्या धारिलो हतियार प्रयोग गरेर हत्या गरेका थिए । दिनेश भने झुन्डिएको अवस्थामा घरभित्रै फेला परेका थिए ।गोरखाका पाण्डे परिवार बसाईं सरेर काभ्रेस्थली बस्न थालेको केही समयमै दिनेश आफैँले परिवार सखाप पारेका थिए ।

श्रीमतीको अवैध सम्बन्धकै कारण पाण्डेले उक्त घटना गरेको प्रहरीको अनुसन्धानले देखाएको थियो । पाण्डेले लेखेको पाँच पाना लामो ‘सुुसाइड नोट’ समेत प्रहरीले फेला परेको थियो । नोटमा समेत श्रीमतीकै कारण आफूले अप्रिय निर्णय लिएको लेखिएको थियो । श्रीमतीको अवैध सम्बन्धका कारण एक वर्षको अवधिमै घटेका यी दुई विभत्स घटना हुन् ।

सम्बन्धकै कारण श्रीमान्/श्रीमती मात्र होइन, अबोध बालबालिसहित परिवारकै जीवनलीला समाप्त भयो । तीन वर्षअघि ०७७ को भदौमा भक्तपुरको मध्यपुरथिमिमा पनि एकै परिवारका तीन जनाको शव फेला परेको थियो ।

थिमीका ३६ वर्षीय सुदीप अधिकारीले ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १६ वर्षीय छोरा सुशान्त अधिकारीको हत्यापछि आफूले पनि आत्महत्या गरेका थिए । सुदीप सामूहिक हत्याको अवस्थासम्म पुग्नुको कारण भने प्रहरीले फेला पार्न सकेन । तर, सुदीपले पनि परिवार नै सखाप पारेर आत्महत्या गरेका थिए ।

सुदीपको घटनामा प्रहरीले आर्थिक विषयका साथै श्रीमान्/श्रीमतीबीचकै विवाद प्रमुख कारण रहेको दाबी गरेको छ ।

किन पुग्छन् सामूहिक हत्याको बाटोमा ?

माथिका दुई सामूहिक हत्याको मुख्यकारण ‘अवैध सम्बन्ध’ देखिन्छ । तर, कानुनले श्रीमान्÷श्रीमती मिल्न नसक्ने अवस्थामा पुगे छुट्टिएर बस्न मिल्ने कानुनी व्यवस्था गरेको छ । कतिपय श्रीमान्/श्रीमतीले ‘डिभोर्स’पछि फेरि नयाँ जीवन सुरुवात समेत गरेका छन् । तर, राजु, दिनेश र सुदिपले भने परिवार नै सखाप पारे ।

मनोविद् पदमराज जोशी भने कारण जेसुकै भए पनि आवेग र हिनताबोध हत्यादेखि सामूहिक हत्या र आत्महत्यासम्म पुग्ने प्रमुख कारण रहेको बताउँछन् । अपराधमै संलग्न व्यक्तिले आत्महत्या गर्दा अनुुसन्धानसमेत निष्कर्षमा पुग्न सक्दैन । प्रहरी प्रधान कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्दा कर्तव्य ज्यान मुद्दाका घटना समाजलाई झस्काउने खालको छ ।

आर्थिक २०७७–०७८ मा देशभर ६ सय ९७ जनाको हत्या भएको छ । त्यस्तै आर्थिक वर्ष २०७८–०७९ मा पाँच सय ९० जना र आर्थिक वर्ष २०७९–०८० मा पाँच सय एक जनाको हत्या भएको अभिलेख प्रहरीसँग छ ।

यसमध्ये केही सामूहिक हत्याका घटनासमेत छन् । प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले तत्काल उत्पन्न हुने आवेग र परिवारिक समस्या नै हत्याका कारण रहेको बताए ।

डीआईजी ढकाल भन्छन्, ‘पछिल्लो सयम आफन्तबाट नै आफन्त मारिने समस्या बढी छ । यसको कारण नै पारिवारिक बेमेल हो । क्षणिक रीसका कारण पनि हत्या भएको देखिन्छ भने अर्को आर्थिक अवस्थाका कारण मानिस हत्या जस्तो जघन्य अपराधको बाटोमा पुगेको देखिन्छ ।’

के भन्छन् मनोचिकित्सक ?

शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सक डा. सरोजप्रसाद ओझाले आत्महत्या वा हत्याको अवस्थामा पुगेका मानिसलाई रोक्न सकिने बताए ।

उनी भन्छन्, “आत्महत्याको बाटोमा पुगेका मानिसलाई समयमै मनोपरामर्शको माध्यमबाट बचाउन सकिन्छ । कुनै कारण मानिस डिप्रेसनमा पुगेपछि आत्महत्या वा हत्याको बाटोमा पुग्छन् । त्यसको समयमै उपचार गर्नसके रोक्न सकिन्छ ।”

मानिसमा हुने फरक–फरक स्वभावका कारण कुनै मानिस हत्यापछि आत्महत्याको बाटोमा पुग्ने गरेको उनको भनाइ छ । “मानिस कुनै न कुनै कारणले डिप्रेसनमा नपुगी आत्महत्याको अवस्थामा पुग्दैन । मुख्यकारण डिप्रेसन हो । त्यसका लागि औषधि वा परामर्श अनिवार्य हुन्छ,” ओझा भन्छन् ।

पछिल्लो समय आर्थिक, पारिवारिक र सामाजिक कारण मानिसमा ‘डिप्रेसन’मा पुग्ने गरेको देखिएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro