काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वाम गठबन्धनबाट आफू चुनाव लड्ने कुरामा सत्यता नभएको बताएका छन् ।
सोमबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीले उनलाई 'इलाम–२ को उपनिर्वाचनमा तपाईं एमालेमा गएर लड्ने कुरा छ नि ?' भनेर प्रश्न गरेका थिए ।
जवाफमा उनले भने, “काग कराइ रहन्छ, पिना सुकिरहन्छ । यति भन्दा बुझिन्छ ।”
इलाम–२ मा आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । एमालेबाट निर्वाचित सांसद सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
अर्को प्रसंगमा खनालले सत्ता समीकरणबारे अहिले आफूहरूले कुनै प्रकारको टिप्पणी नगर्ने बताए ।
"हामी अहिले धेरै टीकाटिप्पणी कसैको पनि गर्दैनौँ । हाम्रो पार्टी एउटा स्वतन्त्र, सार्वभौम सत्तासम्पन्न क्रान्तिकारी पार्टी हो । हामीले नेपालको समाजवादी क्रान्ति र रूपन्तारण गर्नेछौँ । अहिले हामी आफ्नो पार्टी सुदृढमा लागेका छौँ । अरूकोबारे टिप्पणी गर्दैनौँ," उनले भने ।