site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीमा मुख्यमन्त्रीका आकांक्षी चुमान भन्छन्– अब त दिनैपर्ने हो क्यारे

पोखरा । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक गठबन्धन फेरेर प्रधानमन्त्री पदलाई निरन्तरता दिँदै गर्दा प्रदेशमा भने तीनपटक सरकार फेरिँदैछन् । प्रदेश सरकार एक वर्षमै तेस्रोपटक फेरिँदै गर्दा यसपटक भने गण्डकीको मुख्यमन्त्री बनिन्छ कि भन्ने आशामा छन्, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान । आफ्नै पार्टीका अध्यक्षले गठबन्धनको काँध फेरिरहेर प्रधानमन्त्री पद टिकाइरहँदा चुमान पनि मुख्यमन्त्री बन्ने भन्ने आशामा छन् ।

२०७९ पुस १० गते नेकपा (एमाले)सहित माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति गरी सात दलीय गठबन्धन बनेको थियो । सोही दिन प्रधानमन्त्री बनेका प्रचण्डले सदनमा विश्वासको मत पाए । तर, कांग्रेसले त्यो गठबन्धनलाई दुई महिना टिक्न दिएन । राष्ट्रपतिको उमेदवार मनोनयनका समयमा फागुन १२ गते नै गठबन्धन टुट्यो । त्यसपछि प्रतिपक्षमा पुगेको एमाले पुनः एक वर्षपछि सत्तामा पुनरागमन गरेको छ । 

यसपटक भने प्रचण्डले पुस १० को गठबन्धनको सहारा लिए । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशमा देखिन सुरु भइसकेको छ ।

मुख्यमन्त्री बन्नको लागि गत वर्ष पुस १० गते काठमाडौंबाट पोखरा आइपुगेका वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त्यतिबेला भनेका थिए, “म सकुशल पोखरा आइपुगेँ, तर राजनीति क्र्यास भयो ।”

एउटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका प्रचण्ड प्रधानमन्त्री बन्दा उनी मुख्यमन्त्री बन्न भने वैशाख १४ सम्म कुर्नुपर्‍यो । तर, सरकार चलाएको एक वर्ष नपुग्दै राजनीति भने पाण्डेको भाषामा पुन क्र्यास भएको छ । नयाँ गठबन्धन बनाएर नयाँ सरकार बन्ने क्रम चलिरहँदा पाण्डे भने अस्वस्थ छन् ।

यता, प्रदेशसभामा दोहोर्‍याएर चुनाव जितेका माओवादी दलका नेता चुमान भने मुख्यमन्त्री बन्नका लागि दाबी गरिसकेका छन् । 

फेरि मुख्यमन्त्री बन्ने पालो आयो त तपाईंको ? यो प्रश्नसहित बाह्रखरीको संवादमा उनले भने, “खै अब केके गर्छन्, गर्छन्, के भन्न सकिन्छ र ।” केन्द्रमा सत्ता फेरिएपछि प्रदेशमा पनि स्वतः फेरिनेमा कुनै आशंका छैन । तर, उनमा मुख्यमन्त्री बन्ने आशा भने अधिक छ ।

“अब त दिनैपर्ने हो क्यारे, गण्डकीमा माओवादीले  एकपटक पनि नेतृत्व गर्न पाएको छैन, सुरेन्द्रजी बन्दा पनि पहिलो पालो मेरो भनेको हो, फुत्कियो । खगराज बन्दा पनि पहिला मलाई दिनुपर्‍यो भन्दा होइन आलोपालो हो, म अगाडि, तपाईं पछि भने,” उनले भने । 

मुख्यमन्त्रीमा आफ्नो सशक्त दाबी रहेको विषयमा स्वयं प्रचण्ड नै जानकार रहेको उनको भनाइ छ । “हामीले निर्णय गर्न पाउने होइन, केन्द्रले निर्णय गर्ने हो । केन्द्रमा शीर्ष नेताहरू बस्छन्, टुंग्याइदिन्छन् । मेरो दाबी छ भन्ने सबै नेताहरूलाई थाहा छ,” चुमानले भने ।

गत वर्ष खगराज अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका चुमान एमाले–माओवादीको गठबन्धन टुट्नासाथ मुख्यमन्त्री बन्न चर्को लबिइङ गरेका थिए ।

“हामीले दुई/दुईपटक एमालेलाई मुख्यमन्त्री बनायौँ, एकपटक कांग्रेसलाई मुख्यमन्त्री बनाइसक्यौँ, अब हाम्रो पालो हो । गण्डकीको मुख्यमन्त्री हामीले पाउनुपर्छ,” चुमानले यही कुरा शीर्ष नेताहरूलाई सुनाएका थिए । तर, त्यतिबेला संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाई पहिला नेतृत्व दिने निर्णय केन्द्रले गर्दा चुमान मुख्यमन्त्री बन्न पाएनन् । उनको ठाउँमा मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले केही वर्ष नेतृत्व गर्ने र बाँकी कार्यकाल चुमानले चलाउने सहमति भएको थियो ।

उक्त सहमति केन्द्रको गठबन्धन अदलबदलले फेरि प्रभावित बनेको छ । गण्डकीमा अब पुनः एमाले, माओवादी र राप्रपा गठबन्धनको सरकार बन्ने सम्भावना छ । यही नयाँ सरकार बन्दा सरकारको नेतृत्व लिने चाहना चुमानमा छ । तर, एमाले र माओवादी मिलेको खण्डमा मात्रै सरकार बन्न सम्भव छैन । यो गठबन्धनलाई राप्रपाको अनिवार्य समर्थन चाहिन्छ ।

कारण गण्डकीमा एमालेका २२ जना प्रदेशसभा सदस्य छन् । माओवादीका सात (सभामुखबाहेक), राप्रपाका दुई र नेकपा (एकीकृत समाजवादी)का एकजना प्रदेशसभा सदस्य छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ जना सदस्यको समर्थन चाहिन्छ । कांग्रेससँग गण्डकीमा २७ जना प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro