site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पहिचानवादी नरम

विराटनगर । फेदेन अर्थात् पाँचथर सदरमुकाम फिदिम । लिम्बुवान आन्दोलनको केन्द्र । पहिचानका पक्षमा आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पकड क्षेत्र पनि हो यो । केही समयअघिसम्म प्रमुख राजनीतिक दलका सांसद, मन्त्रीका निम्ति त्यहाँ जाउआउ कठिनपूर्ण थियो ।

फिदिम मात्र होइन, उनीहरूको पकड क्षेत्रमा प्रदेशका मुख्यमन्त्री, मन्त्री र कोसी नामकरणको पक्षमा मतदान गर्ने ८२ सांसदलाई निषेध नै गरिएको थियो । आफूहरूका माग बेवास्ता गरेको र माथिबाट समेत पहल नलिएको भन्दै उनीहरूले केन्द्रीयस्तरका नेतालाई समेत अवरोध गर्दै आएका थिए ।

इलाम जाने क्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राजमार्गमा रुख ढालेर अवरोध गरिएको थियो । ताप्लेजुङ जाने क्रममा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको सवारीसाधनमा ढुंगामुढा गरियो । पाँचथरबाट निर्वाचित प्रदेश सांसद तथा पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोमाथि पनि आक्रमण गरिएको थियो ।

एमाले कोसी प्रदेशका उपनेता राम रानामाथि मोसो दल्ने प्रयास गर्दै सवारीसाधनमा मोबिल फ्याँकियो । पहिचानवादीले प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीको सवारीसाधनमाथि ओखलढुंगामा आक्रमण गरे । वर्तमान मुख्यमन्त्री केदार कार्कीको सवारीसाधनमाथि झापाको दमकमा ढुंगामुढा गरियो ।

०७९ फागुन १७ गते प्रदेश नम्बर–१ को नाम प्रदेशसभाबाट कोसी पारित गरिएसँगै पहिचानवादीले तीव्र विरोध गर्दै आन्दोलन घोषणा गरेका थिए । नाम संशोधन गर्नुपर्ने माग उनीहरूले गर्दै आएका छन् । पहिचानवादीको विरोधसँगै प्रदेशका धेरै क्षेत्रमा सरकारको उपस्थिति शून्यप्रायः थियो ।

यसैबीच, प्रदेशका मुख्यमन्त्री केदार कार्की फिदिम पुगेर औपचारिक कार्यक्रममा सहभागी भएका छन् । शनिबार त्यहाँ आयोजित चौथो पाँचथर गोल्डकपको फाइनल खेल उद्घाटन समारोहमा उनी सहभागी भएका हुन् ।

सहमतिपछि सहज
प्रदेशको नाम फेर्न माग गर्दै पहिचानवादी एक वर्षदेखि आन्दोलनमा थिए । सरकारले वार्ता समिति गठन गरी छलफलमा बोलाएसँगै चरणबद्ध वार्ता भयो । यसक्रममा पहिचान पक्षधर र प्रदेश सरकारबीच पाँचबुँदे सहमति जुट्यो ।

त्यसअघि, राजधानी विराटनगरकेन्द्रित आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको थियो । दर्जनौँ घाइते भए ।

कोसीका पक्षमा मतदान गर्ने सांसद र सरकारका प्रमुख तथा प्रतिनिधिलाई पहिचान पक्षधरले बहिष्कार गर्दै आएका थिए । असुरक्षाका कारण प्रदेशभित्र नै आउजाउ गर्न कठिन थियो । पाँचबुँदे सहमतिपछि अवस्था फेरिएको छ । स्थिति सहज भएको छ ।

प्रदेशको पुनः नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउने, सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने, आन्दोलनको स्वरूप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने सहमति भएको छ ।

पहिचानको आन्दोलनका क्रममा भएका घाइतेको उपचारको व्यवस्थापन र सहिद परिवारलाई क्षतिपूर्तिको व्यवस्था गराउन प्रदेश सरकारले प्रबन्ध गर्ने, पहिचानको आन्दोलनका क्रममा कारागारमा रहेकाको रिहाइ र मुद्दा फिर्ता लिन पहल गर्ने सहमति भएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro