site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
श्वेत पर्वत, योगीराज गणपति स्वामी, बाबा मेरो पीआर आयो, पर्दाभित्र... र छचल्का

श्वेत पर्वत
(नियात्रासंग्रह: विष्णुप्रसाद शर्मा पराजुली)
नियात्रा साहित्यमा क्रियाशील सर्जक हुन्, विष्णुप्रसाद शर्मा पराजुली । उनका केही नियात्राकृति प्रकाशित भइसकेका छन् । तिनैमध्ये पर्वतीय शृंखला क्षेत्रमा गरिएको भ्रमणको इतिवृत्त कोरिएको कृति हो, ‘श्वेत पर्वत’ ।

लेखकीयमा कृतिकार पराजुलीले लेखेका छन्, “पुस्तकमा धवलागिरि, अन्नपूर्ण, मुस्ताङ र मनाङ गरी चार खण्ड रहेका छन् । यस क्षेत्रमा विभिन्न जातजातिको बसोबास भए तापनि उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालकै प्रमुख आदिवासी जनजातिमध्ये मगर, गुरुङ र थकालीको मूल थलो यसै भेगमा पर्दछ । ...।”

यो कृतिभित्र चार खण्डमा ३९ नियात्रा समेटिएको छ ।

Dabur Nepal
NIC Asia

भुँडीपुराण प्रकाशनबाट प्रकाशित ३५२+४ पृष्ठको यो पुस्तकको मूल्य ४९०/– रुपैयाँ राखिएको छ ।
०००

योगीराज गणपति स्वामी
(जीवनी: कमलप्रसाद ढुङ्गाना)
योगीराजको जीवनका यावत् पक्षलाई समेटेर कमलप्रसाद ढुङ्गानाद्वारा लेखिएको जीवनीपरक पुस्तक हो, ‘योगीराज गणपति स्वामी’ । पुस्तक केही समयअघि बजारमा ल्याइएको छ ।

जीवनीमा लेखकले गणपति स्वामीको जन्मकालदेखिका विभिन्न सन्दर्भलाई समेटेका छन् । यसमा ‘आमाबाट शिक्षा प्रारम्भ’, ‘विवाह नगर्ने निर्णय’, ‘श्मशानको वास’, ‘राजपरिवारको अभिमानमा धक्का’ लगायत ४२ शीर्षकमा सन्दर्भ प्रस्तुत गरिएको छ ।

रत्न पुस्तक भण्डार (रत्न धार्मिक ग्रन्थ) द्वारा प्रकाशित १३२+४ पृष्ठको यो पुस्तकको मूल्य २९५/– रुपैयाँ राखिएको छ ।
०००

बाबा मेरो पीआर आयो
(कथासंग्रह: भागवत खनाल)
कथा र निबन्ध विधामा समान रूपले कलम चलाउने स्रष्टा हुन्, भागवत खनाल । उनको कथाकृति केही समयअघि सार्वजनिक गरिएको छ, ‘बाबा मेरो पीआर आयो’ । यसको शीर्षकले नै अहिलेको समय र युवा मानसिकताको संकेत गर्छ ।

कृतिकार खनालले लेखकीयमा लेखेका छन्, “कथाकार फगत कथाकार मात्र नभइ विद्रोही पनि हो । आफ्नो अन्तःकरणलाई चिमोटिरहने उदासी, भय, अभाव, कलह एवं परिस्थितिले पैदा गरेका असहमति र बेखुसीहरूलाई अक्षरका माध्यमबाट छ्याल्लब्याल्ल पारेर सन्तुष्ट हुने जीव हो कथाकार ।”

पुस्तकको ब्लर्बमा चर्चित कथाकार नयनराज पाण्डेले लेखेका छन्, “...शिल्प र प्रस्तुतिमा चामत्कारिक प्रभाव उत्पन्न गर्ने निहुँमा कुनै गिमिक्समा फस्दैनन् उहाँका कथाहरू । त्यसैले उहाँको कथा लेखन मेरा लागि सम्मानयोग्य विषय हो । ...।”

ब्लर्बमै कथाकार अभय श्रेष्ठले लेखेका छन्, “...जुनसुकै विधामा उत्तिकै राम्रो लेख्ने क्षमता छ उहाँमा । नजानिँदो ईष्र्या पनि लाग्छ । ...।”

विनीता खनालद्वारा प्रकाशित २८०+४ पृष्ठको यस पुस्तकको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।
०००

पर्दाभित्र...
(उपन्यास: गंगाप्रसाद भेटवाल)
उपन्यासकार गंगाप्रसाद भेटवालले पाठकका निम्ति प्रस्तुत गरेको औपन्यासिककृति हो, ‘पर्दाभित्र...’ ।

कृतिभित्र लेखकीयमा भेटवालले लेखेका छन्, “...समाजका हरेक क्षेत्रमा विकृतिले जरो गाडेको र युवाशक्ति देशबाट दैनन्दिन पलायन हुँदै स्थायी रूपमा नै अरू मुलुकमा बस्न जाने क्रम बढेको देखेपछि युवाहरूलाई देशभित्र नै बस्ने वातावरण सिर्जना गर्नुपर्छ, त्यसका लागि सचेत र स्वस्थ्य युवा नै अघि सर्नुपर्छ भन्ने मूल भावको केन्द्रीयतामा यो उपन्यास तयार गरेको हुँ । ...।”

अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित १८८+४ पृष्ठको यो उपन्यासको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।
०००

छचल्का
(लघुकथासंग्रह: सं. विमल भौकाजी)
पछिल्लो समय लघुकथा लेख्नेहरूको संख्या बढ्दै गएको छ । त्यही भीडमा राम्रा लघुकथा र लघुकथाकार पनि आइरहेका छन् ।

विभिन्न लघुकथाकारका रचनालाई एकै ठाउँमा ल्याएर आफ्नो सम्पादनमा विमल भौकाजीले ठाउँ दिएका छन्, ‘छचल्का’ कृतिमार्फत । यो संग्रहमा ९९ लघुकथाकारका रचना समावेश गरिएको छ ।

सम्पादकीयमा भौकाजीले लेखेका छन्, “...आकारका हिसाबले कुनै साना र कुनै अलिक लामा लघुकथा छन् । अक्षर गनिएका छैनन् । तर, पाठकले यी सबै रचनाका मर्मलाई समान गणना गर्नु हुनेछ भन्नेमा हामी आशावादी छौँ । ...।”

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित २०४+४ पृष्ठको यो पुस्तकको मूल्य ३९०/– रुपैयाँ राखिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro