site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आर्थिक एजेन्डामा सबै राजनीतिक दलहरूको साझा धारणा आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र जटिल मोडमा रहेको बताएका छन् । उनले सबै राजनीतिक दलहरूको साझा एजेन्डा बनेर सुधार नभए दुर्घटना हुन सक्नेतर्फ सचेत गराएका छन् ।

राज्य व्यवस्था समितिमा बिहीबार भएको छलफलमा अध्यक्ष ढकालले सरकार र राजनीतिक दलहरू संवेदनशील नभए स्वदेशी र विदेशी लगानी हुन नसक्ने अवस्था रहेको बताए ।

“सबै मिलेर अर्थतन्त्रको जटिलता समाधानमा पहल नहुने हो भने निजी क्षेत्र लगानी बढाउने नभई कसरी व्यवसायबाट बाहिरिने भन्ने बाटो खोज्ने अवस्था आउने छ,” अध्यक्ष ढकालले भने ।

महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले सार्वजनिक गरको अध्ययन अनुसार अर्थतन्त्रमा ८१ प्रतिशत रोजगारीमा ८७ प्रतिशत योगदान निजी क्षेत्रको छ ।

अहिले निजी क्षेत्रमा समस्या आउँदा समाधानको उपायको खोजी हुनुपर्ने अध्यक्ष ढकालले बताए । सरकारभित्र पनि अन्तर निकाय समन्वय नहुँदा समस्या बल्झिँदै गएको उनको भनाइ छ ।

“सबैले राम्रो काम गरेको भनिरहनुभएको छ,” उनले भने, “तर, नतिजा सकारात्मक आएको छैन । मूलतः निजी क्षेत्रले काम गर्न नसक्दा सरकारको राजस्वमा पनि असर परेको छ ।”

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको घाटा करिब ५० अर्ब रुपैयाँ छ । निजी क्षेत्रले निर्वाध काम गर्न नसक्दा राजस्वमा चाप परेको छ ।

आगामी लगानी सम्मेलनलाई लक्षित गरेर तयार पारिएको कानुन सुधारसम्बन्धी व्यवस्था पारित गर्नुपर्नेमा पनि अध्यक्ष ढकालको जोड थियो । महासंघले करिब एक दर्जन कानुनमा सुधार आवश्यक रहेको सुझाव सरकारलाई बुझाएको छ ।

सोहीअनुसार प्रधानमन्त्री कार्यालयका सचिव एक नारायण अर्यालको संयोजकत्वमा निजी क्षेत्र सम्मिलित कार्यदलले सुधार सुझाव तयार पारेर मुख्य सचिव वैकुण्ठ अर्याललाई बुझाइसकेको छ ।

अध्यक्ष ढकालले लगानी आकर्षित गर्न तयार पारिएका सुझाव संसद्‌ले पारित गर्नुपर्ने बताए ।

छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नीति नियमनहरू बनाउँदा सरकारले निजी क्षेत्रलाई साक्षीको रूपमा मात्र लिने गरेको बताए । उनले निजी क्षेत्रले दिएका सुझावहरू नीति नियमनहरूको मस्यौदा तयार पार्दा सरकारले ध्यान दिएर समावेश गरे देशको अर्थतन्त्रमा अझै सुधार आउने बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro