
काठमाडौं । बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्सले कुल उत्पादनको ५१ प्रतिशत निर्माण सामग्री भारत निर्यात गरेको छ । सन् २०२४ मा आरती स्ट्रिप्सले सात अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरका ग्याल्भेनाइज्ड जस्तापाता, डन्डी र पाइपलगायत निर्माण सामग्री भारतमा निर्यात गरेको हो । भारतमा माग बढेपछि निर्यात बढेको कम्पनीले जनाएको छ ।
कोल्ड रोलिङ मिल (सीआरएम)को विस्तारले उत्पादन क्षमता बढ्नुका साथै भारततर्फको निर्यात वृद्धि भएको हो । उद्योगका अनुसार, अघिल्लो वर्ष सन् २०२३ मा उद्योगको निर्यात व्यापारको हिस्सा ४७ प्रतिशत थियो ।
अघिल्लो वर्ष आरती स्ट्रिप्सले ६ अर्ब ६३ करोड ३० लाख रुपैयाँको ग्याल्भेनाइज्ड जस्तापाता र टीएमटी बार भारत निर्यात गरेको थियो । २०२२ मा दुई अर्ब ९७ करोड ३० लाख रुपैयाँको निर्यात गरेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
वित्तीय विवरणअनुसार, २०२४ मा आरतीको व्यापार २.९६ प्रतिशत बढेर १४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २०२३ मा १४ अर्ब १२ करोड १० लाख र २०२२ मा १४ अर्ब २७ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको वित्तीय विवरणमा उल्लेख छ । उद्योगले २०२१ मा १३ अर्ब ६१ करोड ७० लाखको कारोबार गरेको थियो । यस्तै, २०२० मा आरतीको जस्ता व्यापार १२ अर्ब ३२ करोड रुपैयाँ थियो । वित्तीय विवरण हेर्दा उद्योगको बर्सेनि कारोबार बढ्दै गएको देखिएको छ ।
गत वर्ष निर्माणजन्य वस्तुको उत्पादन तथा व्यापार बढे पनि प्रफिट विफोर इन्ट्रेस्ट, लिज डिप्रिसियसन एन्ड ट्याक्सेसन मार्जिन घटेर १२.१० प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष २०२३ मा यस्तो मार्जिन १५.२४ प्रतिशत थियो । उत्पादित वस्तुका लागत बढेपछि मार्जिन पनि खस्किएका आरतीले जनाएको छ । आर्थिक वृद्धिको सुस्त गतिले घरेलु माग प्रभावित भए पनि आरतीले निर्यात बढाएर सुस्त घरेलु बिक्रीलाई अफसेट गर्न सक्षम भएको छ ।
गत वर्ष उद्योगको उत्पादन ५.३६ प्रतिशत बढेर एक लाख १४ हजार ९११ टन पुगेको छ । अघिल्लो वर्ष २०२३ मा एकलाख नौहजार ६४ टन मात्र थियो । अघिल्लो वर्षको बीचमा उद्योगको निर्माण सामाग्रीको उत्पादन, व्यापार र भारत निर्यात बढेको छ ।
यसबीचमा उद्योगको ऋण ११ अर्ब ७६ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
उद्योगले आरती स्पेक्ट्रा ब्रान्डअन्तर्गत रंगीन जस्तापाता र आरती सुरक्षा ब्रान्डमा ग्याल्भेनाइज्ड जस्तापाता र एमएस पाइपहरूको उत्पादन तथा बिक्री वितरण गर्दे आएको छ । निर्माण उद्योगमा लामो समयदेखिको उपस्थितिका कारण आरती नेपाल बजारमा स्थापित बहुर्राष्ट्रिय ब्रान्ड हो ।
ग्याल्भ्यालुम पाताहरू आरती सिल्भर ब्रान्डअन्तर्गत बिक्री हुँदै आएको छ । कम्पनी २५ वर्षभन्दा बढी समयदेखि व्यवसायमा छ र देशको प्रमुख उद्योगमध्ये एक हो । आरतीको स्थापित ब्रान्ड छविले ग्राहक विश्वास सुनिश्चित गर्दै आएको जनाएको छ ।
आरतीले देशका सबै प्रमुख सहरमा लगभग २०० डिलरको स्थापित नेटवर्कमार्फत आफ्ना उत्पादनको बजारीकरण र बिक्री गर्छ, जसले यसको उत्पादनका लागि तयार बजार प्रदान गर्छ ।
आरतीले ग्याल्भेनाइज्ड प्लेनरग्याल्भेनाइज्ड कोरुगेटेड, रिज ग्याल्भेनाइज्ड आइरन र जिंक आधारित प्रिप्रिन्टेड ग्याल्भेनाइज्ड आइरन, प्रोफाइल पाताहरू, एमएस ट्यु्बलगायत उत्पादन गर्छ ।
उद्योगले २०२१ सेप्टेम्बरदेखि ग्याल्भेनाइज्ड प्लेनरग्याल्भेनाइज्ड कोरुगेटेड उत्पादनमा प्रवेश गरेर आफ्नो ‘पोर्टफोलियो’लाई थप विस्तार गरेको छ ।
आर्थिक वृद्धिको सुस्त गति र पूर्वाधारमा सरकारी खर्चमा आएको कमीले नेपालको निर्माण क्षेत्रले हाल दिनमा चुनौतीको सामना गरिरहेको छ । फलस्वरूप, नेपालभित्र स्टिल उद्योगको लागि निकट भविष्य कठिन देखिएको छ ।
उद्योगले कच्चा पदार्थ मुख्यतया भारत र चीनबाट आयात गर्छ । एचआर कोइल र पाता, पेन्ट र आल्मुनियमको मूल्य बजारसँग जोडिएको हुन्छ ।
सन् २०२४ मा कच्चा पदार्थको लागत ८२ प्रतिशत थियो । यसको मूल्य अमेरिकी डलरसँग जोडिएको हुन्छ । जसका लागि यो विदेशी मुद्रा उतारचढाव जोखिममा पर्छ । आफ्नै सीआरएम प्लान्ट स्थापना पछि आयात घटाइएको छ ।
आरती स्ट्रिप्स सन् २००१ मा नेपालको विराटनगरमा वेट फ्लक्स ग्याल्भेनाइज्ड प्लेन जस्तापाता उत्पादन गर्न स्थापना गरिएको हो । उद्योगको वार्षिक उत्पादन क्षमता बढेर चार लाख ७३ हजार टन प्लान्ट क्षमताको साथ विस्तृत शृंखलाका स्टिल उत्पादन उत्पादन गर्दै आएको छ । उद्योग चार भारतीय लगानीमा प्रवर्धन गरिएको हो ।