site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चियापानमा राजा वीरेन्द्रलाई सोफामा राखेर प्रधानमन्त्री गिरिजाप्रसादलाई उभ्याइएपछि...
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  शासकीय राजनीतिमा अनेक काण्ड–प्रकरण मञ्चित हुने क्रम निरन्तर छ नै । त्यही उपक्रममा २०५० असोज १ मा संसद् परिसरमा अलि अनौठो काण्ड मञ्चन भयो, ‘कुर्सीकाण्ड ।’

संसद्को वर्षे अधिवेशन सकिएसँगै चियापानसहित बिदाइ हुने प्रचलन थियो । २०५० असोज १ का दिन पाँचौँ अधिवेशन सकिँदै गर्दा त्यही प्रचलन पालना गरिँदै थियो । ८२ दिनसम्म चलेको पट्यारलाग्दो अधिवेशन सकिएकै भोलिपल्ट जलपान गरियो, संसद् हातामै । जहाँ राजारानी मुख्य पाहुना थिए ।

सभामुख दमननाथ ढुंगाना र राष्ट्रियसभा अध्यक्ष बेनीबहादुर कार्कीले संसद् परिसरमै जलपान आयोजना गरेका थिए । सँगै राज्यसंयन्त्रका भएभरका भीभीआईपीदेखि भीआईपीसम्मको उपस्थिति हुने नै भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

अनि, प्रजातान्त्रिक आन्दोलनका लौहपुरुषको सम्मान पाएका गणेशमान सिंह, कूटनीतिक नियोग प्रमुखहरू पनि सामेल थिए । प्रजातन्त्र बहालीपछि पाँचौँ संसद् अधिवेशन अन्त्यको चियापानले मुलुकको स्वाभाविक ध्यान खिचेकै थियो नै । उतिखेर यतिखेरजस्तो संसद्लाई बेवास्ता गर्ने थिति थिएन ।

संसद् सचिवालय परिसरमै पहिलोचोटि जलपान हुँदै थियो । त्यसअघि शीतलनिवासमै चियापान हुने गर्थ्यो, जहाँ अतिथि सत्कार विभाग थियो । चियापान आफैँमा औपचारिक थिएन, केवल अनौपचारिक ।

Global Ime bank

तर, त्यो चियापानले सभामुख र कांग्रेसबीच ठूलै झगडा–लफडा निम्त्यायो । सभामुख ढुंगाना कांग्रेसबाटै निर्वाचित थिए ।

यहाँसम्म कि सभामुखले राजीनामा दिनुपर्नेसम्मको स्थिति पैदा भएको थियो, संसदीय अभ्यासमा त्यो ‘कुर्सीकाण्ड’ले चिनिन्छ । अर्थात्, ‘चियाकै कपमा उत्पन्न तुफान’झैँ बन्यो, संसदीय हाताभित्रको त्यो चियापान समारोह ।

कुर्सीकाण्डको पृष्ठभूमि

घटनाको कारण थियो, जलपान चलिरहँदा मर्यादानुरूप कुर्सी नराखिनु । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सर्वाेच्च नेता गणेशमान सिंह कुर्सीविहीन रहे । राष्ट्रियसभा अध्यक्ष बेनीबहादुर कार्कीकै निम्ति समेत कुर्सी थिएन ।

संसद् परिसरमा राजपरिवारका निम्ति छुट्टै टेन्टभित्र सोफा र कुर्सी राखिएका थिए । अघिल्लो पंक्तिमा राजा, रानी, युवराज र सभामुखका निम्ति सोफा मात्रै राखिएको थियो । त्यसभन्दा पछाडिको लहर राजपरिवारका सदस्यका निम्ति थियो । जहाँ तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह पनि उपस्थित थिए ।

त्यहाँ न प्रधानमन्त्री न त प्रधानन्यायाधीशका लागि कुर्सी थियो, न स्वयम् राष्ट्रियसभा अध्यक्षका निम्ति नै । त्यसअतिरिक्त राजपरिषद् सभापति, सर्वाेच्च नेताका निम्ति कुर्सी थिएन । अर्थात्, त्यो ठाउँमा संवैधानिक मर्यादा र सर्वाेच्च नेताका निम्ति जसरी कुर्सी राखिनुपर्ने थियो, त्यसरी नराखिएकै कारण चियाको कपमा आँधी आयो ।

त्यसरी कुर्सी नराख्दा विवाद निम्तन सक्छ भन्ने हेक्का न संसद् सचिवालयले पुर्‍याउन सक्यो न कुर्सीको जिम्मा लिएको सेना–गृह मन्त्रालयले नै । अनि, त्यसरी कुर्सी नराख्दा अरू पदाधिकारीबाट खास गुनासो आएन । तर, कांग्रेसीजनले जननिर्वाचित प्रधानमन्त्री, लौहपुरुष गणेशमान सिंह बस्ने कुर्सी नहुनुलाई ‘अपमान’का रूपमा लिए ।

कांग्रेसले त्यसलाई ‘षडयन्त्रयुक्त’ विवादको विषय बनायो । र, प्रश्नै–प्रश्नले सभामुखलाई अत्याएको थियो, ‘निर्वाचित प्रधानमन्त्रीलाई संवैधानिक मर्यादाअनुरूप किन आसन दिइएन ? माथिल्लो सदन राष्ट्रियसभा अध्यक्षलाई समेत अपमान गर्ने शक्ति सभामुखलाई कहाँबाट प्राप्त भयो ? षड्यन्त्रमूलक ढंगले जननिर्वाचित कार्यकारिणी प्रधानमन्त्रीलाई किन हेपियो ?’

kursikanda-1708947817.jpg
 

कांग्रेसभित्र ‘गुटगत शीतयुद्ध’ चल्दै थियो । सँगै सभामुख–प्रधानमन्त्रीबीच चिसोपना बढ्दै गएको आलोकमा ‘कुर्सी प्रकरण’ले बलेको आगोमा घिउ थप्ने काम ग¥यो ।

शीतलनिवासमा हुँदा पनि कुर्सी सेना–प्रशासनबाट मिलाइन्थ्यो । सिंहदरबारमा पनि उनै हाबी थिए । घटना सामान्य थियो, सत्तारूढ कांग्रेसभित्र ‘विग्रहको बीउ’ले स्वरूप लिँदै गर्दा ‘असामान्य’ बन्न पुग्यो ।

त्यसमा कुनै षड्यन्त्र नभएको र आफ्नो संलग्नता नरहेको जिकिर ढुंगानाको रह्यो । ‘मास्टर अफ सेरोमोनी’ उनैलाई ठानियो र उनैलाई ‘षड्यन्त्रकारी’ ठान्नेहरू कम्ती थिएनन् ।

त्यो तीस वर्ष पुरानो संसदीय घटनाको वस्तुस्थिति बुझ्न यो पंक्तिकारले केही समयअघि ढुंगानासँग लामै कुराकानी गरेको थियो । उतिखेरका टेन्टको तस्बिर देखाउँदै ढुंगानाको जिकिर रह्यो, ‘त्यो काण्ड मेरो कारण नभई सेना र गृह प्रशासनबाट भएको थियो ।’

कुर्सी नहुँदा ढुंगाना स्वयम् आश्चर्यमा थिए । ढुंगानाको जिकिरमा, ‘गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईका निम्ति पनि सोफाकै व्यवस्था गर्नू भनिएको थियो । सेना र गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय सेवा विभागका कर्मचारीले किन राखेनन् ? म आफैँलाई आश्चर्य लागेको थियो ।’

उनले त्यो काण्ड भएपछि ‘कारण’को खोज पनि गराए । तिनको विश्लेषण थियो, ‘गृह प्रशासनका मानिसहरू (जो पहिला पञ्चभक्त थिए) कांग्रेसका मन्त्रीहरूसँग नजिकिँदै चर्का कांग्रेसी बनेका थिए । तिनको फुर्ती नै बेग्लै थियो । तिनीहरू पञ्चायतकालमा पूरै कांग्रेसविरोधी थिए, बहुदलपछि कडा कांग्रेस बनेकाहरूले खेलेको खेल थियो ।’

चियापान हुनु अघिल्लो दिन सेनापति स्वयम्ले ‘तयारी’को अवलोकन गरेका थिए । उनैले ठाउँ साँघुरो भएको हुँदा कुर्सी थप्न नहुनेमा संसद् सचिवालयका अधिकारीलाई आश्वस्त तुल्याउँदै फर्केका थिए । आयोजक संसद् सचिवालय भए पनि कुर्सीको चाँजोपाजोमा सचिवालयको हात रहेन । सेना र प्रशासनबाटै कुर्सी या सोफा राखिएका थिए ।

ढुंगानाकै शब्दमा– जहाँ राजाको सवारी हुन्थ्यो, त्यहाँ सेना–पुलिस हाबी हुने गर्दा रहेछन् । आयोजक सचिवालयभन्दा उनीहरूकै खटनपटन चल्दो रहेछ । जहाँ राजारानीका ठाउँ छुट्ट्याइएको थियो, त्यहाँ सानै आकारको टेन्ट थियो ।

अनि, कसलाई, कहाँ, कुन कुर्सी या सोफा राखिएका छन् भनी सभामुखले हेर्ने वा हेर्न भ्याउने विषय पनि रहेन । गिरिजाबाबुका निम्ति कुर्सी नभएपछि राजारानी भएको टेन्टतिर देखापर्ने सवाल पनि रहेन । कोइरालाले पनि अरूहरूसँगै अर्कै टेन्टमा बस्दै जलपान गरेका थिए ।

त्यो दिन त्यसरी राजाका नजिक सोफा नराख्दा पनि गिरिजाप्रसाद कोइराला स्वयम्ले कुनै फिक्री लिएको देखिँदैनथ्यो । कुर्सी नहुँदा बरु ढुंगानाले नै अप्ठ्यारो मानेका थिए, तर कोइरालाले अप्ठ्यारो मानेको कुनै छनक दिएनन् ।

अपराह्नको चियापान सकियो । उनै ढुंगानाले राजारानी, राजपरिवारका सदस्य र गिरिजाप्रसाद कोइरालालाई संसद् परिसरबाट बिदा गरेका थिए । अझ राजपरिवारको बिदाइमा प्रधानमन्त्री पनि सरिक थिए । त्यसरी बिदाइ गरिरहँदा पनि कोइरालाले आफ्ना लागि कुर्सी नराखिएकामा कुनै गुनासो गरेका थिएनन् ।

कुराकानीका क्रममा ढुंगानाले चियापानका बेला आफू राजासँग बसिरहँदा प्रधानमन्त्री उभिएको देखेपछि अप्ठ्यारो महसुस भएको पंक्तिकारसँग बताएका थिए । यद्यपि, त्यो दृश्यले त्यति ‘असामान्य रूप’ लिन्छ भन्ने अनुमान लगाउन सकेनन् ।

जब कोइराला प्रधानमन्त्रीको निवास बालुवाटार पुगे, तब कांंग्रेस नेता–सांसदहरू कोइरालालाई उचाल्ने उद्देश्य बोकेर सँगसँगै बालुवाटार छिरे । तिनले भनेछन्, ‘तपाईंलाई कुर्सीको व्यवस्था नगरी अपमान गरियो ।’

त्यो दिनको तस्बिर देखाउँदै ढुंगानाले भने, ‘‘हेर्नाेस्, यो त्यही दिनको फोटो, जहाँ अधिराजकुमार ज्ञानेन्द्रलाई पनि सोफाको व्यवस्था थिएन । राजा वीरेन्द्र र मभन्दा पछाडि ज्ञानेन्द्र बसेका थिए । जनताको प्रजातन्त्र भनेको यही हो, अधिराजकुमार पनि मेरो पछाडिको कुर्सीमा थिए । सभामुखभन्दा पछाडि...।’’

चियापान सकिएपछि बालुवाटार छिरेका मन्त्री–सांसदहरूको बहसको विषय बन्यो, कुर्सी । “हेर्नाेस् त, कांग्रेसी षड्यन्त्रकारीहरूको बद्मासी ?,” ढुंगाना अझै प्रश्न गर्दै भन्छन्, “बालुवाटार पुगेपछि वरिपरिका भक्तहरूले बढी नै उचाले । त्यसपछि काण्डको रूपमा परिणत हुन पुग्यो ।”

सभामुखलाई कारबाहीतिर कांग्रेस

त्यही साँझ त्यसरी कुर्सी नराखिनु षड्यन्त्रकै मामला भएको ठहर गर्दै संसदीय दलबाटै ठोस निर्णय लिनुपर्ने निष्कर्षमा बालुवाटार भेलाकर्मी पुगे । कुर्सी प्रकरणकै रूप दिलाउन भोलिपल्टै संसदीय बैठक आह्वान गरियो ।

कांग्रेस प्रमुख सचेतक तारिणीदत्त चटौतले सभामुख ढुंगानालाई औपचारिक रूपमै पत्र काटे, ‘दलको बैठकमा भाग लिनू ।’ पत्रसँगै ढुंगाना दलको बैठकमा पुगे, जहाँ कांग्रेस सांसदहरूबाट आरोप–अभियोगको वर्षा भयो, ‘सभामुखज्यू, हाम्रा मन्त्री र सत्तारूढ सांसदहरूलाई अपमानित गर्न हुन्छ ?’

तर, दलभन्दा बाहिर रहेर सभामुखको जिम्मेवारी निर्वाह गरिरहेका व्यक्तिलाई बैठकमा बोलाउन मिल्छ कि मिल्दैन, सहभागी हुन मिल्छ कि मिल्दैन भन्ने प्रश्नचाहिँ गौण बन्यो । दलको बैठकमा प्रधानमन्त्री कोइराला स्वयम् पनि कठोर रूपमै प्रस्तुत भए, ‘कांग्रेसलाई तल झार्ने काम भएको छ । संसद् सचिवालयबाट त्यस्तो काम भएको हुँदा संसदीय व्यवस्थामन्त्रीमाथि समेत छानबिन गर्नुपर्छ ।’

कांग्रेसका ताता सांसदहरूलाई शक्तिशाली प्रधानमन्त्रीको बोलीले झन् तताउने नै भयो । सँगै संसदीय दलले निर्णय लियो, ‘अमर्यादित घटनाप्रति खेद व्यक्त गर्ने, पार्टीले सभामुखसँग स्पष्टीकरण माग्ने, कुर्सीकाण्डका सन्दर्भमा प्रशासनिकस्तरको पनि गम्भीरतापूर्वक छानबिन गर्ने ।’

कांग्रेसभित्र कोइराला समूहबाट ढुंगानाविरुद्ध निकै अफवाह पनि फैलाइयो । त्यसपछि ढुंगाना सभामुखबाट राजीनामा दिने निष्कर्षमा पुगे ।

प्रधानमन्त्री कार्यालयमा सभामुख

जब उनी सभामुख भए, उनले प्रधानमन्त्रीको निवास वा कार्यालयमा टेकेका थिएनन्, कुनै औपचारिक या सामाजिक निम्ता मान्न जानुबाहेक । जब गिरिजापक्षीय सांसदहरूले कुर्सीकाण्ड उचाल्दै स्पष्टीकरण मागे, तब उनी प्रधानमन्त्रीकै कार्यालयमा लिखित राजीनामासहित गए ।

उनले गिरिजाप्रसाद कोइरालासँग भने, ‘मैले लिखित राजीनामा तयार गरिसकेँ । अब तपाईँ अनुकूलको सभामुख खोज्नुस् । म बस्दिनँ ।’  प्रधानमन्त्री गिरिजाप्रसादसामु ढुंगाना एकोहोरो बोलिरहे । उनी बारम्बार भनिरहन्थे, ‘तपाईँ नै भन्नुस्, मैले राजीनामा दिनुपर्छ कि पर्दैन ?’

ढुंगाना त्यसरी बोलिरहँदा कोइराला पूरै मौनतामा रहे । अनि, ढुंगानाले ठाने कि गिरिजाप्रसाद आफैँले निर्णय त गर्न सक्ने होइन, कोटरीसँग सल्लाह–परामर्शमा मात्रै निर्णय लिन चाहेजस्तो छ ।

उनलाई लाग्यो, तत्काल निर्णय लिन सक्ने परिस्थितिमा प्रधानमन्त्री छैनन् । त्यो आधा घण्टामा उनले अनगिन्तीपटक भने, ‘मेरो राजीनामा हेर्नुस् ।’

कोइरालाले उनको राजीनामापत्र पनि हेरेनन् । संविधानतः सभामुखले राजीनामा त राजालाई बुझाउनुपर्ने प्रावधान थियो । तैपनि, पार्टीका नेता भएका कारण जानकारी गराउनुपर्ने बाध्यता उनलाई थियो ।

कोइरालासामु कुर्सीकाण्डबारे ढुंगानाले भने, ‘हेर्नाेस्, त्यो चियापानमा सोफा–कुर्सी सचिवालयले व्यवस्थापन गर्ने होइन । सेना–प्रशासनले मिलाएको हो । ती सोफा–कुुर्सी गृह मन्त्रालय आफैँले राखेको रहेछ । उसैले सोफा–कुर्सी ल्यायो, सेनासँग मिलेरै मिलायो । कुर्सीमा मेरो र संसद् सचिवालयको कुनै भूमिका छैन ।’

संसदीय दलको बैठकमा सांसदहरूले सभामुखलाई र्‍याखर्‍याख्ती पारेको विषय ढुंगानालाई चित्तै बुझेको थिएन । 

मनमा पीडा राखेका सभामुख ढुंगाना मौन कोइरालाका अघि बोलेको बोल्यै गरिरहे, ‘कुर्सी राख्न या नराख्न मेरो भूमिका नभए पनि म सभामुख पदबाट छाडिदिन्छु । म सांसद मात्रै भएर बस्छु ।’ अनौठो त ढुंगाना आधा घण्टादेखि धाराप्रवाह बोलिरहे । बरु, ढुंगा बोल्ला, कोइरालाबाट एक शब्द पनि फुत्किएन, अर्थात् ‘निःशब्द’ ।

उनले भनिरहे, ‘तपाईं अनुकूल सभामुख खोज्नुस् । म अनुकूल भइनँ । म पनि तपाईंले प्रस्ताव गरेको सभामुख हुँ । मैले तपाईंसँग नसोधीकन कसरी राजीनामा दिऊँ भनेर मात्रै भेट्न आएको हुँ ।”

कोइरालाले कुनै प्रतिक्रिया नदिए पनि मनमा धेरै कुरा–दिमाग खेलाइरहेको आभास ढुंगानाले पाएका थिए । कोइरालालाई लागेको हुनसक्छ, ‘यसले सभामुख हुँदा त टेरेन, अब सांसद भएपछि झन् मेराविरुद्ध सदनमा खेदो खन्न बाँकी नराख्ने हो कि ? फेरि, संसदीय दलमा खेल्दै नेता बन्न खोज्ने पो हो कि !’

उता, ढुंगानाको मनमा लागिरहेको थियो, ‘संसद्लाई एकैचोटि किन लथालिंग पार्ने ? फेरि को आउला, सदन कसरी चलाउला ?’ उनी राजीनामापत्रसँगै चिन्तामा थिए, कोइरालाचाहिँ ‘निःशब्द’ ।

त्यसरी एकोहोरो बोल्दा उनी थाकिसकेका थिए । कोइरालाबाट न राजीनामा देऊ भनियो न त नदेऊ । यतिसम्म पनि सोधिएन कि ‘राजीनामा दिएपछि के तिमी गर्छौ ?’

ढुंगाना आधा घण्टासम्म कोइरालाको ‘निःशब्द’ अनुहार हेरेर फर्के । 

प्रधानमन्त्री गिरिजाबाबुलाई भेट्न जानुअघि उनी गणेशमान सिंंह, कृष्णप्रसाद भट्टराई र महामन्त्री महेन्द्रनारायण निधिकहाँ गएका थिए । ढुंगानाले महामन्त्री निधिलाई कुर्सीकाण्डको छानबिन गर्न सजिलो होस् भन्दै राजीनामापत्र बुझाएका थिए । तर, तीनैजनाले राजीनामा नदिने अडान लिनू भनेका थिए ।

गिरिजाबाबुले नै आफूलाई सभामुख बन्न प्रस्ताव गरेको हुँदा भेटपछि राजीनामा दिन दरबार जाने मनस्थितिमा थिए, ढुंगाना । त्यही दिन साँझ कांग्रेस महामन्त्री निधिले ‘सभामुखलाई यथास्थानमा राखेर घटनाबारे पार्टी र सरकार दुवैले छानबिन गर्न सकिने’ उल्लेख गरी राजीनामा फिर्ता गराए ।

निधिले अदृश्य शक्तिकेन्द्र, दरबारनजिकका प्रजातन्त्रविरोधीको खेल भएको हुन सक्ने शंकासहित छानबिन हुनुपर्ने धारणा राखेका थिए ।

उता, कांग्रेसभित्र कोइरालाविरोधी वृत्तको फरक टिप्पणी थियो, ‘सेना–गृह प्रशासनले कुर्सी मिलाएको हुँदा सरकारबाटै षड्यन्त्र भएको हुनसक्छ । प्रधानमन्त्री स्वयम् रक्षामन्त्री हुँदा कुर्सीकाण्डमा सभामुखलाई दोष पन्छाउनु राम्रो होइन ।’

खासमा ढुंगाना स्वयम्मा भने राजीनामा दिने चाहनामा थिएनन् । यद्यपि, कोइरालाले ‘राजीनामा देऊ’ मात्र भनेको भए उनी दिने योजनामा थिए । कोइराला ‘निःशब्द’ रहेपछि ढुंगानाले त्यसलाई ‘नदेऊ’कै अर्थमा अर्थ्याए । त्यसपछि उनी राजीनामा दिने बाटोतिर लागेनन् । अझ महामन्त्री निधिले राजीनामा फिर्ता गरेपछि उनलाई सजिलो हुने नै भयो ।

काण्डका दोषी खोज्दै

कुर्सीकाण्डमा संसद् सचिवालयका महासचिव जीवनलाल सत्यालको जागिर पनि संकटमा पर्ने भयो । ‘घटना’को आठ दिनपछि सर्वदलीय बैठक बस्यो । जहाँ संसद्का महासचिव सत्यालले भने, ‘विशिष्ठ व्यक्तिहरूलाई बस्न कुर्सी राख्ने कुरा केन्द्रीय सेवा विभागका प्रमुख, रक्षासचिव र प्रधानसेनापतिले निर्णय गरेका हुन् । स्थानाभाव देखाउँदै कुर्सी हटाएको र सभामुखलाई जानकारी दिन भ्याइएन । यसमा मलाई षड्यन्त्र भएजस्तो लाग्दैन ।”

कुर्सी प्रकरणको डेढ सातापछि कोइराला विराटनगर पुगे । प्रधानमन्त्री गृहजिल्ला पुगेपछि संवाददाता झुम्मिने भए । सँगै तातो विषयमा प्रश्न ओइरिने नै भयो । जतिसुकै प्रश्न आए पनि कोइरालाको जवाफ रह्यो, ‘म यो विषयमा केही बताउन चाहन्नँ । प्रजातन्त्र खतरामा छ या छैन भन्ने कुरामा नो कमेन्ट ।’

सँगै विमानस्थलमा स्वागतार्थ आइपुगेका कार्यकर्तामाथि पनि कोइराला खनिन बाँकी छाडेनन्, ‘म नितान्त आराम गर्न आएको हुँ । तपाईंहरू किन यसरी भेला हुनुभयो ? केको तामझाम हो यो ?’

कांग्रेसका शीर्ष नेताहरू कोइरालासँग असन्तुष्ट थिए । तिनले एमालेसँग मिल्दै नयाँ सरकार बनाउँदै छन् भन्ने हल्ला बाक्लिएको थियो ।

सभामुखका कतिपय निर्णयमा कांग्रेसी सांसदले ‘आश्चर्यजनक’ ठान्ने ‘रहस्यमय’ भएको टिप्पणी गर्ने प्रचलन तेस्रो अधिवेशनबाटै प्रारम्भ भइसकेको थियो । जसमा सभामुख ढुंगानालाई प्रधानमन्त्रीको उमेदवार बनाइने बजार हल्लाले उचाइ लिइरहेको थियो, त्यो समय ।

अझ दरबार र कम्युनिस्टले योजनाबद्ध खेल रचिरहेका हल्ला पनि बाक्लै थियो । त्यो घटनासँग जोड्दै कांग्रेसीवृत्तमा टिप्पणी बाक्लियो, ‘तुलसी गिरीको नयाँ अवतार देखा पर्दै छन्, प्रजातन्त्रमाथि खतराको बादल मडारिँदै छ...।’

प्रजातन्त्र पुनःस्थापनापछिको जननिर्वाचित संसद्को दोस्रो बैठक, २०४८ असार ९ मा ढुंगाना सभामुखमा निर्वाचित भएका थिए । सदनमा कोइरालाले ढुंगानालाई सभामुख चुनियोस् भनी प्रस्ताव राखेका थिए ।

त्यसरी प्रस्ताव राख्दा कोइरालाले ढुंगानाका पक्षमा पाँच वाक्य मात्रै बोलेका थिए । कोइरालाका शब्द थिए, ‘दमन ढुंगानाका सम्बन्धमा मैले धेरै भन्नुपर्ने छैन । सबै सदस्यहरूलाई ढुंगानाजीका बारेमा सम्पूर्ण कुरा थाहा छ । भरिएको गाग्रोलाई भरेर खेर फाल्न, म धेरै कुरा गरेर खेर फाल्न चाहन्नँ । मेरो आग्रह छ, उहाँलाई नै सर्वसम्मतिबाट मनोनीत गर्नुहुनेछ भन्ने आग्रह गर्दै बिदा लिन्छु ।’ (प्रतिनिधिसभा, प्रथम अधिवेशन, कार्यबाहीको सम्पूर्ण विवरण, ९ असार २०४८, (बैठक–२), पृष्ठ : ४ ।)

कोइरालाको प्रस्तावमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री तारानाथ रानाभाटले समर्थन गरेपछि ढुंगाना निर्विरोध निर्वाचित भएका थिए । जब ढुंगाना सभामुख भए, तब उनको एउटा वाक्य बहुचर्चित थियो, ‘सरकार सत्तापक्षको, सदन प्रतिपक्षको, अनि सत्ता बहुमतको, सदन अल्पमतको ।’

तर, सत्तापक्षीय सांसदका आँखामा ती शब्द ‘विवादास्पद’ ठानिएको थियो ।

प्रजातान्त्रिक सरकारले ल्याएका कुनै पनि प्रस्ताव या विधेयक अल्पमतमा रहनेले सधैँ अल्झाएर राख्ने र त्यसलाई सभामुखले पनि साथ दिँदै जाने हो भने व्यवस्था गम्भीर खतरामा पर्न सक्ने आशंका त्यस बेलाका कांग्रेसीहरू गरिरहन्थे ।

ढुंगानाले सदनमा विपक्षलाई सरकारको आलोचना गर्न प्रशस्तै ठाउँ उपलब्ध गराइरहने हुँदा कांग्रेसीहरूमा यस्तो आशंका बढेको थियो । त्यसरी विपक्षीलाई ठाउँ दिएपछि उनी कांग्रेसभित्र ‘विवादित सभामुख’मा दर्ज भइसकेका थिए ।

त्यो दृश्यसँगै कांग्रेसभित्र कोइराला समूह ढुंगानाविरुद्ध खनिएकै थियो । कांग्रेसी सांसदहरू कुनै न कुनै निहुँमा उनलाई हटाउन चाहन्थे, त्यसनिम्ति कुर्सीकाण्ड कडा मसला बन्ने भएको थियो ।

उतिखेर कोइरालाका अतिभक्त विजयकुमार गच्छदारले त सार्वजनिक तहमै भनेका थिए, ‘यी सभामुख हामी कांग्रेसलाई मुसा खेलाएझैँ खेलाउँछन् ।’

कस्तो विडम्बना थियो भने, सदनमा कांग्रेसी सांसदहरू विनातयारी प्रवेश गर्थे । एमालेका सांसदहरूचाहिँ रणनीतिक तयारीसाथ । उनीहरू पार्टीमा सघन छलफल र प्रशिक्षणपछि बोल्न आएको स्पष्ट देखिन्थ्यो । ढुंगानालाई लाग्थ्यो, उनीहरू निकै ‘ट्रेन्ड’ छन् ।

सदनमा त्यही कारण तिनले ‘अत्यधिक मौका’ पाउने नै भए । अनि, उनलाई लाग्थ्यो, ‘सत्तापक्षसँग त सत्ता हुन्छ नै, प्रतिपक्षले सदनमै बोल्न नपाउने हो भने तिनले कहाँ के गर्ने ?’ उता, तयारीविनाका कांग्रेस सांसदहरू विषय–विधेयकबारे छेउटुप्पो समाउन सक्दैन थिए ।

ढुंगाना कांग्रेस सांसदहरू पनि त्यसरी तयारीसाथ आऊन् भन्ने ठान्थे, त्यही कारण तिनलाई ‘टोक्थे’ । सभामुखले त्यसरी ‘टोकेको’ मन नपरेपछि रिसाउने नै भए । तिनले सभामुखको ‘टोकाइ’लाई ‘अपमान’का रूपमा लिए ।

उता, चियापान प्रकरणसँगै चाडबाड सुरु भयो । सांसद पनि जिल्ला फर्कने क्रमसँगै विस्तारै कुर्सीकाण्ड ओझेलमा पर्दै गयो ।

संसद्का महासचिव जीवनलाल सत्यालले पनि समयमै कुर्सी व्यवस्थापनबारे सभामुखलाई जानकारी गराउन नसक्नु आफ्नो कमजोरी भएको स्वीकार गरे । जसले घटनामा अलिकति भए पनि चिसो पानी थपिएजस्तो भयो ।

तैपनि, प्रकरणमा कोही न कोही ‘बलि’ चढ्ने छन् भन्ने आकलन थियो । तर, महान् चाड दसैँको आगमनको रौनकमा मुलुक प्रवेश गर्‍यो । संसदीय पात्रहरू कसैले पनि ‘बलि’ चढ्नु परेन । अनि, दसैँमा बलि चढ्नेमा खसी–बोका भए । विस्तारै त्यो कुर्सीकाण्ड बिर्सिइयो पनि ।

ट्वाइलेट प्रयोगको किस्सा

त्यही चियापानको दिन अर्काे ‘किस्सा’ संसद् सचिवालयका अधिकारीहरूलाई मिल्यो । त्यो किस्सा पत्रकारले भेउसम्म पाएनन् । पत्रकारले भेउ नपाएपछि समाचार बन्ने कुरा पनि भएन । तर, संसद् सचिवालयका तत्कालीन अधिकारीका निम्ति गफगाफको विषयचाहिँ बनिरहन्थ्यो ।

किस्सा थियो, राजारानीको ‘ट्वाइलेट’ गणेशमान सिंहले प्रयोग गर्नु । चियापानका बेला संसद् परिसरमै अस्थायी शौचालय बनाइएको थियो, राजारानीका निम्ति । दरबारबाट सवारी छुट्यो भनेपछि प्रधानमन्त्री, सभामुख, अध्यक्षसहित संसद् सचिवालयका अधिकारीहरू फूलका गुच्छासहित स्वागतमा उभिए ।

त्यही बेला राजारानीका लागि भनेर बनाइएको ट्वाइलेट सर्वाेच्च नेता गणेशमान सिंहले प्रयोग गरेछन् । त्यो दृश्य देखेका सुरक्षाकर्मीले स्वागतमा उभिएका संसद् सचिवालयका अधिकारीहरूसँग आपत्ति व्यक्त गर्न पुगे । दरबारका सुरक्षाकर्मीले भने, ‘श्री ५ बाट अब त्यो ट्वाइलेट प्रयोग गरिबक्सन्न ।’

स्वागतमा उभिएका सचिवालयका अधिकारीहरू अन्योलमा परे, ‘अब के गर्ने त ?’

दरबारबाट सवारी छुटिसकेको हुँदा नयाँ ट्वाइलेट बनाउन सम्भव थिएन । र, स्वागतलाइनबाट बाहिरिन पनि असम्भव । सचिवालयकै एक उच्च अधिकारीले सुरक्षाकर्मीसँग भने, ‘एक बाल्टिन पानी लगेर खन्याइदिन लगाउनू ।’

त्यसपछि सुरक्षाकर्मी केही नबोली फर्किए । स्वागतलाइनमा उभिएका अधिकारीहरू मौन रहे ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement