काठमाडौं । नेकपा (एमाले)ले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने छन् ।
बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुने छ ।
यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरू तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए ।
एमालेको सातौँ केन्द्रीय कमिटी बैठक फागुन ८ देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ । बैठक मंगलबार बिहान ११ बजे बस्ने तय भएको छ । रासस