site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१९ महिला च्याम्पियनसिप : बंगलादेशले टसको निर्णय नमान्दा बाँडियो उपाधि

काठमाडौं । घरेलु टिम बंगलादेशले रेफ्रीबाट भएको टसको निर्णय नमानेपछि साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि बाँडिएको छ ।

बिहीबार बंगलादेशको ढाकामा भएको फाइनलमा घरेलु टिम र भारतले खेलको निर्धारित समयमा १–१ को बराबरी खेलेका थिए । यसपछि खेल पेनाल्टीमा पुगे पनि टाइब्रेकरमा ११–११ को बराबरी भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्धारित समय र पेनाल्टीमा पनि खेल बराबर भएपछि खेलको मुख्य रेफ्रीमा रहेकी नेपालकी अञ्जना राईले क्वाइन टसबाट उपाधि विजेताको छिनोफानो गरेकी थिइन् । राईले टस गर्दा भारत भाग्यशाली बन्दै विजेता चुनिएको थियो । 

तर, रेफ्रीको निर्णयप्रति असन्तुष्ट बनेको बंगलादेशले नतिजा अस्वीकार गरेपछि करिब अढाई घण्टासम्म पुरस्कार वितरण हुन सकेन ।

बाह्रखरीलाई ढाकापोस्ट डटकम बंगलादेशका खेलकुद रिर्पोटर अराफत जुबाएरले बताएअनुसार खेलका म्याच कमिस्नरले पहिले नतिजाका लागि टस गर्ने निर्णय गरे पनि पछि उक्त निर्णय फिर्ता लिँदै दुवै टिमलाई संयुक्तरूपमा विजेता घोषणा गरिएको हो ।

“खेलको निर्धारित समय १–१ र सडनडेथ ११–११ को बराबरीमा समाप्त भएपछि म्याच कमिस्नरले विजेताको टुंगो लगाउन टस गर्ने निर्णय गरेका थिए । म्याच कमिस्नरकै अनुसार रेफ्रीले टस गरेका थिए,” जुवाएरले भने, “तर, नियमअनुसार सडन डेथ निरन्तर हुने भएको हुँदा बंगलादेशले विरोध गरेको थियो । पछि म्याच कमिस्नरले पनि नियमअनुसार टस नहुने थाहा पाएपछि भारतसँग माफी माग्दै दुवै टिमलाई विजेता घोषणा गरेका हुन् ।”

फेब्रुअरी २ देखि सञ्चालित यस प्रतियोगितामा कुल चार देशको सहभागिता थियो । सिंगल राउन्ड रोबिन पद्धतिमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको यस संस्करणमा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता थियो ।
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  २३:११
प्रतिक्रिया दिनुहोस्