site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
थ्रीपिस सुट
Sarbottam CementSarbottam Cement

बिहे त उसले गरेकै हो । आइ.ए. उतै पास गरेर बी. ए. पढ्न काठमाडौं आउँदा स्वास्नीलाई घरमै छोडेर आएको हो । अन्यथा मेलापात, घाँस दाउरो, भान्सा र चुलाको काम उसकी स्वास्नीले नगरे उसका दाजु–भाउजूले उसलाई काठमाडौं पढ्न पठाउने नै थिएनन् । उसको महत्वाकाङ्क्षा पनि उतै मर्ने थियो । भला, भाइ–बुहारीलाई दलाएबापत दाइले उसलाई काठमाडौं पठाएदिए ।

काठमाडौं पढ्न आएपछि उता उसकी स्वास्नीले वर्ष दिनभित्रै छोरी पाई रे भन्ने खबर उसले दाइकै पत्रबाट थाहा पायो । ऊ काठमाडौं हिँड्दा उसकी स्वास्नी गर्भवती थिई–थिइन उसलाई थाहा भएन । अहिले त कुनै चासो पनि छैन । किनभने तीन वर्षदेखि ऊ घर गएको छैन । दुई वर्ष बी. ए. पास गर्दै बित्यो र यो तेस्रो वर्ष जागिर खोज्दै बितिरहेछ ।

उता भाइ घर नफर्केकामा दाइलाई पनि कुनै चासो छैन । किनभने सुकेर दाउरिएकी र पीरले चाउरिएकी भाइ–बुहारीले घरका सम्पूर्ण कामधाम कुशलतापूर्वक धानिरहेकी छे । सबै कुरा सुख–शान्तिपूर्वक चलिरहेछ, किनभने दाइले दुई वर्षपूर्व नै परिवार नियोजन गरिसके । अतः दाइले भाइको जागिर पाउने आश्वासनपत्र पढेर यदाकदा सानोतिनो रकम उठाउँदै गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ऊ पढ्नमा चलाख छँदै थियो, अतः प्रथम श्रेणीमा नै बी. ए. पास गर्यो । दौरा–सुरुवाल र ढाकाटोपी लगाएरै प्रथम श्रेणीमा बी. ए. पास गर्यो । गलामा टाईको सट्टा मफलर बेरेर प्रथम श्रेणीमा बी. ए. पास गर्यो ।

ऊ कक्षाभरिका पढाइमा सबैभन्दा चलाख हुनाले एउटी नवधनाढ्यवर्गकी कक्षामा सबैभन्दा गोबर छात्रासँग उसको परिचय भयो । अलिअलि मित्रता पनि भयो । छात्रा पढ्नमा जतिसुकै गोबर भए पनि लवाइखवाइमा ‘सुनचाँदी’ थिई । अतः उसले जोडतोडका साथ आफ्ना नोट्सहरू भिडाएर घिस्स्याउँदै उसलाई पनि बी. ए. पास गराइछोड््यो ।

Global Ime bank

अहिले ऊ युनिभर्सिटीमा एम्. ए.मा पढ्दै छे । ऊ भने जागिर खोज्दै छ, अन्त पनि खोज्दै छ भने आफ्नी गोबर र अत्याधुनिक मित्रलाई उसको बाउको फर्ममा नोकरी लगाइदिन अनुरोध गर्दै छ । साथै गाबरै भए पनि ‘सुनचाँदी’ झैँ मलिलो ठानेर उसले आफूलाई अविवाहित र योग्य जीवनसाथी हुन सक्ने घोषणा गरिसकेको छ ।

उता ऊ भने एम्. ए. मा थेसिसका लागि दौरा–सुरुवाल र ढाकाटोपी लगाउने एउटा केटोलाई आफ्नो ‘सुनचाँदी’ देखाउँदै छे । अतः उसलाई आफ्नो बाटोबाट पन्छाउन उसले भनी, “यस्तै लुगा लगाएर तिमी मेरो बुबाको फर्ममा काम गर्छौ ?”

“किन के भो र मेरो लुगालाई ?”

“हेर, मेरो बुबाको एक्सपोर्ट–इम्पोर्टको ठूलो फर्म छ । त्यहाँ विदेशीहरू आइ–गइराख्छन्, स्मार्ट र वेल ड्रेस्ड हुनुपर्छ । त्यो सरकारी कार्यालय होइन नि ।”

“त्यो कुन ठूलो कुरो हो र !,” उसले फुइँ लगाउँदै भन्यो, “मैले त राष्ट्रियता सम्झेर पो...”

उसले कुरा काट्दै भनी, “हेर, अब प्रजातन्त्र आयो, राष्ट्रियता गयो । के बुझ्यौ ?”

बुझ्न त उसले बी.ए. पास गर्नासाथ बुझेको हो । सरकारी जागिर नेता र मन्त्रीको सिफारिस नभई हम्मेसी नपाइने हुँदा प्राइभेट फर्महरूतिर भौँतारिँदादेखि नै बुझेको हो ।

इन्डियन कम्पनीका फर्महरूतिर जाँदा त उसले झन् राम्ररी बुझेको हो, किनभने इन्डियामा पनि त ब्रिटिसहरूले दिएर गएको प्रजातन्त्र छ नि । त्यहाँ त दौरा–सुरुवाल लगाएर नेपाली बोल्यो भने घोक्रयाएर निकालौँला झैँ गर्छन्, कुर्था पाइजामा लगाएर हिन्दी बोल्यो भने ओठ लेप्य्राउँछन्, अनि थ्रीपिस सुट लगाएर अंग्रे्रेजी बोल्यो भने सभ्यतापूर्वक ‘सिट डाउन, प्लिज’ भन्दछन् । यति कुरा उसले बुझे पनि उसको आर्थिक स्थितिले ठ्याम्मै बुझेको छैन ।

सौभाग्यवश अस्ति भर्खर सासू, ससुरा र साली आइपुगेका छन् । शिवरात्रिका लागि पशुपतिको जात्रा र सिद्राको बेपार गर्न । पशुपतिको जात्रा त शिवरात्रिमा हुने भइहाल्यो र सिद्राको बेपारस्वरूप सासू–ससुराले उसलाई स्वास्नी काठमाडौं झिकाएर राख्ने र नाति पाइदिने प्रस्ताव गर्ने भएका छन् । सोही कुरा राणाकालीन ससुराले कठोरतापूर्वक प्रस्ताव राखिहाले ।

“हेर्नुस् ज्वाइँनारान, मैले पनि चाकडी गरेरै राणाहरूका पालामा नोकरी पड्काएको हुँ । एउटैको चाकडी गर्नुपर्छ अनि मात्र काम फत्ते हुन्छ, दसतिर धाएर हुँदैन । अँ, मेरी छोरीलाई कैले झिकाउनुहुन्छ ?”

उसले ससुराकी छोरी झिकाउने कुरालाई थाती राख्दै जागिरकै सन्दर्भ चलायो, “के गर्नु बा, प्रजातन्त्रमा एउटैको चाकडी गरेर नपुग्ने । जे होस्, अहिले त म दरखास्त हाल्दाहाल्दा बिखर्ची भएको छु ।”

अनि झल्याँस्स थ्रीपिस सुटलाई सम्झेर उसले अगाडि भन्यो, “हेर्नुस् बा, जागिर नपाइने त होइन, सरकारी जागिर मात्रै नपाइने हो । प्राइभेट कम्पनीतिर जागिर पाउन सकिन्छ तर त्यहाँ सुटबुटमा ठाँटिएर जानुपर्छ । आफूसित सुट नै छैन । जागिर पाएपछि त श्रीमती ल्याइहाल्छु नि ।”

“हन, कति लाग्छ त्यो सुटलाई ?,” सासू–ससुराले एकसाथ सोधे । ऊ अलमलियो । कति भन्नु ? कहिल्यै किनेको र सिलाएको होइन । कति नै पर्ला र भनेर उसले प्याट्ट भनिहाल्यो, “खै, दुई–तीन हज्जार त पर्ला नै ।”

सासू बूढीले एक पटक पुलुक्क आफ्नो बूढातिर हेरिन् र छोरीको सुखी भविष्यको कल्पना गर्दै पटुकाको फेरको सात गाँठा फुकाएर हजार–हजारका तीनओटा नोट ‘ज्वाइँनारान’लाई टक्र्याइन् ।

अनि त ‘ज्वाइँनारान’ले शिवरात्रिको भोलिपल्टसम्म सासू–ससुरा र सालीको निकै मेजबानी गर्यो । एक दिन सालीलाई लगेर ‘सिनेमा’ पनि देखायो । यतिमै सासूले दिएको तीन हजारबाट पाँच सय हिँडिसकेछ ।

सासू–ससुरा र सालीलाई बिदा गरेको भोलिपल्टै ऊ थ्रीपिस सुटको लुगा किन्न र सिलाउन बागबजार पुग्यो । यस्तो ठाउँमा पुग्यो, जहाँ लुगा पनि त्यहीँ किन्न पाइने र सिलाइ पनि त्यहीँ हुने ।

तर थ्रीपिस सुटको लुगा र सिलाइको ज्याला सुनेर उसलाई भाउन्न होला जस्तो भयो । धेरै ठाउँमा भौँतारियो तर उसको पच्चीस सयले सस्तोभन्दा सस्तो थ्रीपिस सुट पनि नभ्याउने भयो ।

थ्रीपिस सुटमा टाई लगाउनु अनिवार्य भन्ने उसलाई थाहा थियो । अतः टाईहरू झुन्ड्याइराखेको पसलमा गएर टाईको दाम सोध्दा त ऊ मूर्छा परौँला झैँ भयो । होस आएपछि सोच्यो, ‘ए रात्तै, जाबो लगौंटीको धरोजस्तो टाईलाई पनि यतिको रुपियाँ हाल्नुपर्दो रहेछ ।’

आखिर भौँतारिने क्रममा उसले सुनधारातिर ठाउँठाउँमा भुइँमै फिँजाइएका ज्याकेट, कोट, प्यान्टहरू देख्यो । ती सबै पुराना भए पनि देख्दा राम्रै लाग्थे । उसले सोच्यो, ‘पक्कै पनि यी ठूलाबडाहरूले सस्तोमा यिनीहरूलाई बेचेका जडौरी लुगाहरू हुन् ।’

अझै सोच्यो, ‘ड्राइक्लिनिङ गराएर काइदासाथ इस्त्री गरेपछि नयाँजस्तै भइहाल्छ नि । अनि फुटपाथमा किनेको जडौरी हो कि नयाँ सिलाएको हो कसले भन्न सक्छ ?’

उसै पनि उसलाई थ्रीपिस सुट नभई भएको थिएन । यसै सुटले त नवधनाढ्य वर्गकी अत्याधुनिक मैयाँ र मैयाँको ड्याडीको एक्सपोर्ट–इम्पोर्ट फर्ममा जागिर पाउन सकिन्थ्यो । मैयाँको मगज गोबर भएर के भो त ?

उसले धमाधम कोट–प्यान्टहरू हेर्न र छान्न थाल्यो । तर सबै भिन्नभिन्न रङका थिए । थ्रीपिस सुट त एउटै लुगा र एउटै रङ डिजाइनको हुन्छ । 

ऊ फेरि अलमलमा पर्यो । उसले फुटपाथमा बसेको पसलेसित बिस्तारो सोध्यो, “तपाईंसित एउटै लुगा र रङको थ्रीपिस सुट छैन ?”

“छ, छ, हजुर । एकदम नयाँ डिजाइन, नयाँ कटिङ र नयाँ फेसनको थ्रीपिस राखेको सुट छ ।” भन्दै पसलेले आफ्नो धोक्रे झोलाभित्र पट्टयाएर राखेको सुट देखायो । साँच्ची नै सुट नौलो खालको र आकर्षक रहेछ । फित्ताले नापजोख गर्दा प्यान्टको कम्मर मिल्यो तर अलि लामो रहेछ, सो दर्जीकहाँ मिलाउन सकिहालिन्छ ।

कोट अलि खुकुलो भए तापनि मिल्ला मिल्ला जस्तै थियो । कोटभित्र लगाउने वेस्टकोट टमक्क नमिलेर अलि खुकुलै भए पनि कोटभित्र पर्ने हुँदा चल्छ । जसको जडौरी हो यो, त्यो मोरो मभन्दा अलि मोटै र अग्लो रहेछ भन्ने सोचेर ऊ हाँस्यो ।

दलाली र मोलभाउ गर्दागर्दा बल्लतल्ल पन्ध्र सयमा कुरा मिल्यो । थ्रीपिस सुट त भयो तर टाई उसले फुटपाथमा भेट्ट्याएन । अतः मन मारेर भए पनि उसले अलि सस्तो खालको टाई किन्यो । टाई लगाउने समस्या कुनै साथीबाट समाधान भइहाल्नेछ ।

केही दिन टेलरमास्टरले र केही दिन ड्राइक्लिनरले खाएपछि एक सातापश्चात् थ्रीपिस सुटमा ठाँटिएर, नवधनाढ्यवर्गकी अत्याधुनिक गोबर मैयाँसित फोनमा टाइम मिलाएर ऊ युनिभर्सिटीको क्यान्टिनमा पुग्यो ।

उसलाई देख्नासाथ ऊ मुसुक्क हाँसी । ऊ पनि प्रतिउत्तरमा मोहिनी पाराले मुसुक्क हाँस्यो । ऊ जोडतोडले हाँस्न थाली । ऊ पनि जोडतोडले हाँस्न थाल्यो । अनि, अलि झस्केर उसले आफ्नो थ्रीपिस सुटतिर हेर्दै सशंकित भावले सोध्यो ।

“किन, के भो ? किन यसरी हाँसेकी ? मलाई सुट–टाई सुहाएको छैन र ?”

“असाध्ये सुहाएको छ । यस्तो डिजाइन र स्टाइलको सुट यता हम्मेसि कसैले लगाएको देखिँदैन ।” भनेर ऊ झन्झन् हाँस्न थाली ।

“हो, एकदम नयाँ स्टाइलको सुट हो । अब त तिमी आफ्नो ड्याडीको फर्ममा मलाई लैजान्छयौ ?”

“तिमी यै सुट लगाएर मेरो ड्याडीसामु जान्छौ ?”

“किन के भो र मेरो सुटलाई ?”

“के भो भने, पाँच वर्षपहिला मेरो ड्याडी बैंकक जानुभा’थ्यो । त्यहीँ उहाँले एउटा नयाँ स्टाइलको सुट सिलाउनुभा’थ्यो । त्यै सुट अहिले तिमीले लगाएका छौ ।” यति भनेर ऊ मूर्छा परौँला झैँ गरी हाँस्न थाली ।

ऊ घोसेमुन्टो लगाएर झलझली दौरा–सुरुवाल र ढाकाटोपी सम्झिन थाल्यो । सम्झनाले रुवाउनै आँट्यो ।

(गोरखापत्र, १ चैत, २०५४ शनिबार)
(ब्राजाकीको कथाकृति ‘पारदर्शी मान्छे’ बाट)

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय