site stats
बाह्रखरी :: Baahrakhari
खेल
दुई ब्याटरको शतकमा भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

काठमाडौं । कप्तान उदस सरन र सचिन दासको शतकप्रेरित भारतले आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध २९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २९७ रनको योगफल खडा गर्‍यो।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतका सचिनले ११६ रन बनाए । उनले १०१ बलमा ११ चौका र तीन छक्का प्रहार गरे । ६२–३ को कठिन अवस्थामा ब्याटिङका लागि आएका सचिनले कप्तान उदयसँग २१५ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई बलियो योगफलसम्म पुर्‍याए । युवा विश्वकपमा भारतले चौथो विकेटका लागि बनाएको यो नै अहिलेसम्मकै उच्च साझेदारी हो ।

सचिनसँगै शतक बनाएका कप्तान उदयले १०० रन बनाए । उनले १०७ बलमा नौ चौका प्रहार गरे । 

यसबाहेक, आदर्श सिंहले २१, प्रियान्सु मोलियाले १९ र अर्सिन कुलकर्णीले १८ रन बनाए ।

नेपालका गुल्सन झाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए । आकाश चन्दले एक विकेट लिँदा नेपालले अर्को एक विकेट भने रनआउटबाट निकालेको थियो ।

जारी युवा विश्वकपमा अपराजित भारतले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाइसकेको छ । यता, नेपालले भने प्रतियोगितामा हालसम्म एक खेलमा मात्रै जित निकालेको छ । यसअघि सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।

समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्