काठमाडौं । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ ।
शनिबार बसेको प्रदेश समितिको बैठकले उक्त निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै सच्याउन निर्देशन दिने निर्णय भएको प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव)ले जानकारी दिए ।
सुदूरपश्चिममा माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले शुक्रबार दलको नेता फेर्ने निर्णय गरेका थिए । दलको बहुमत ६ जना सदस्यले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयनको निर्णय गरेका थिए ।