site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अठार दिनमा दैलेख 
Sarbottam CementSarbottam Cement

मान्छेलाई जीवनमा लहनापानीले कता पुर्याउँछ कता, भन्न नमिल्दो रहेछ । सिन्धुपाल्चोकको सिपापोखरेमा हुर्केबढेर, काठमाण्डूमा पढेर इन्स्टिट्युट अफ मेडिसिनमा प्राध्यापन गर्दै गरेको मान्छे, सरकारी सेवामा प्रवेश गर्नेबित्तिकै दैलेख जिल्लाको भूमिसुधार अधिकृतमा नियुक्ति भयो । २०३२ सालको असार ३२ को नियुक्ति ।

२९ जना थियौँ त्यतिबेर एकै मन्त्रालयमा नयाँ नियुक्ति पाउने अधिकृत । दुई महिना काभ्रे, भक्तपुर र चारखालका भूमिसुधार कार्यालयहरूमा काम सिकाइ तालिम लिएपछि दसैँले छोपिहाल्यो । दसैँपछि लगत्तै आआफ्नो कार्यालय गइहाल्नू भन्ने तालुकी आदेश पाएपछि हामी पनि दसैँ मान्न आआफ्ना घरतिर लाग्यौँ ।

मेरो पदस्थापना निकै टाढा र अपरिचित दुर्गम ठाउँमा हुनाले सुरुमा आफू मात्रै जाने विचारमा थिएँ । तर, मावली हजुरबा गंगाहरि न्यौपानेले मान्नु भएन । उहाँका पिता कृष्णहरि न्यौपाने राणाकालमा डिट्ठा भएर धेरै जिल्लामा काम गर्दाको अनुभवले पनि हाकिमहरू जिल्लामा नियुक्त हुँदा परिवार साथ लग्नुपर्ने विचार गर्नुभएको रहेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

आमाले पनि त्यसैमा सही मार्नु भो । दसैँको टीका थापेलगत्तै आफ्नो घर सिपापोखरेबाट शिशु अवस्थाका दुई छोरा पुरुषोत्तम, प्रमोद र हामी पतिपत्नी काठमाण्डूतिर लाग्यौँ । दसैँको लगत्तैपछि जिल्ला गइहाल्ने निर्देशन थियो । नियुक्ति दिने मन्त्रालय, तर पोस्टिङ र खटनपटन विभागले गर्ने रहेछ ।

घरबाट काठमाण्डू फर्किएलगत्तै भूमिसुधार विभाग सिंहमहल गएँ । अरू साथी कोही बझाङ, बाजुरा, दार्चुला त कोही जुम्ला परेछन् । मेरो पदस्थापनचाहिँ दैलेखमा परेछ ।

Global Ime bank

भ्रमण आदेश लिएर प्रशासन हेर्ने निर्देशक शान्तनु पन्तको कोठामा पस्दा उनले तुरुन्तै हप्काइहाले, “किन बसेका यी रिकुटेहरू ! ‘अर्को हप्ता सुर्खेत जाने हवाईजहाज पर्खिएको’ भन्दा उनी अझै पड्किए ।

“अर्को हप्तासम्म किन पर्खिने जहाज ? यताबाट बस–रेल चढेर नेपालगन्ज जाने, अनि खजुराबाट प्लेनमा भुर्रै उडेर सुर्खेत । १० मिनेटको त उडान छ ।” मतिर लक्ष्य गरेर चुड्की बजाउँदै भने । अन्तअन्त जाने अरू साथीहरूलाई पनि त्यस्तै एकएक थोक भने ।

कर्मचारीलाई हप्काएर तह लगाउनुपर्छ भन्ने समकालीन हाकिमी धारणा बुझियो । विश्वविद्ययालयको पढाइ सकेर भर्खर जागिरमा पसेका हामी नवप्रवेशीहरूले उनको खप्की अनुशासित हुँदै बुझ पचाएर सुन्यौँ । सवाल–जवाफको लफडा बेहोरिएन ।

पहिले झडङ्ङ गरे पनि पछि त हलुका हाकिम लागे उनी । तुरुन्तै प्रशासन शाखाका अधिकृत बोलाएर निजामती किताबखाना दर्ताको फाराम भर्न लगाए । हामी जाने बाटोमा पर्ने मातहत कार्यालयहरूलाई ‘सहयोग गर्नू’ भन्ने चिठी लेख्न र आ.वा. पठाउन लगाए । लेखा अधिकृत बोलाएर तुरुन्तै चाहिँदो बाटोखर्च पेस्की दिन अह्राए ।

हामीले पनि लेखा शाखामा गएर उतिखेरै पेस्की बुझ्यौँ । अरूले कतिकति बुझे कुन्नि, मेरो भने परिवार, आफ्नो समेत दैनिक भ्रमणभत्ता हिसाब गरेर नेरु २२ सय हातलागी भयो । चार सय तलब, बाइस सय बाटाखर्च पेस्की ।

ए रात्तै, के मजा रै’छ सरकारी जागिर भन्ने पेसा ! मन प्रफुल्ल भयो । अझ बुरुक्क उफ्रनुजस्तो औडाहा पो छुट्यो गोजीभरिका हरिया नोटको तुजुकले !

तुरुन्तै इन्द्रचोक गएर एकजोर सिरक–डस्ना, गुन्टा, झोला र बच्चा अनि गृहिणीका लागि आवश्यक लुगाफाटा तयार गरियोे । डेरामा फर्किएर बेलुकै गुन्टामा तिनै सामान कसकास पनि गरियो ।

भोलिपल्ट बिहानै चियाखाजा खाएर दुई बच्चा हतेर्दै सुन्धाराबाट पश्चिम जाने साझा यातायातको बस चढियो । काठमाण्डू बसपार्कबाट गुडेदेखि नै मनमा नौलो ठाउँका नौला मानिस, नयाँ सम्भावना र परिदृश्यहरू मनभरि छचल्किँदै थिए ।

थानकोट काटेपछि हाम्रा लागि नितान्त नौलो ठाउँको यात्रा सुरु भयो । दुईचार वर्षअगाडि तयार भएको पृथ्वी राजमार्ग निकै राम्रो र फराक रहेछ । बस पनि नयाँ खालका । यता बाटो वरपरका नयाँनयाँ दृश्यावली, उता आफू जाने ठाउँ र गर्ने कामबारे उठेका मनभित्रका उत्ताल तरंगहरू बेलाबेला कुत्कुत्याउँदै जोल्ट्याङ खाँदै गर्दथे ।

तलतल शरद्कालीन सङ्लो त्रिशूलीका नीला छाल छप्लङछप्लङ आवाजमा उफ्रिँदै थचारिँदै थिए । नयाँ काम नयाँ ठाममा जाँदै गरेकाले आफूभित्र पनि मनमा छचल्किने छालहरू झन् कमालको गतिमा अघिअघि दौडिँदै थिए । भर्खर सरकारी सेवा प्रवेश गरेर देश, जनताको के–के न सेवा गरौँला भन्ने उत्साह र आकांंक्षाका लहडहरू अझ बढी बेगले दौडिरहेका थिए ।

मुग्लिनमा खाना खान आदेश दियो बसले । थकाली होटेलको खाना आफ्नो घरमा जस्तै सफा र स्वादिष्ट थियो । मर्स्याङ्दीको झोलुंगे पुलको नयाँ अनुहारले लोभ्याएर फर्कीफर्की हेर्दै गुड्यौँ । अनि, ठाउँठाउँमा चियापान गराउँदै चार बजेतिर पोखरा पुर्यायो निलो साझा बसले ।

बसबाट झर्न नपाउँदै लिन आएका पचास–पचपन्नका लाग्ने थकालीबाले गुन्टा र बच्चा बोकेर नगिचको जस्तापाते घरभित्र लगे । घरबेटी आमाले झन् बढी स्नेहासिक्त भएर तत्कालै आम्लेट चिउराको नास्ता तयार गरिन् । हाम्रा साथको ६ महिने सानो बच्चालाई लिटो पकाएर दिइन् । सिटबाट तल झारेर बस्दा डमडम्ती सुन्निएका सावित्रीका गोडा तातो नुनपानी भरेर बाटाभित्र डुबाउन लगाइन् ।

नभन्दै राति नै गोडा त सामसुम बसी पनि हाले । बसीबियाँलो एकछिन घरपरिवारका कुरा पनि गर्यौँ । छोराछोरी आआफैँ कोही व्यापार, कोही होटेल व्यवसाय चलाएर लाखापाखा लागिसकेछन् । बुढाबुढीको गृहस्थ जीवन झोजझमेला, कुण्ठा, निराशा आदिबाट सर्वथा मुक्त रहेछ ।

कुरा गर्दा दुवै दम्पती प्रसन्न देखिन्थे । बाँसका चित्रामाथि लिउन लगाएर बारेको सानो खोल्माभित्र रातको बसोबास सम्पन्न भयो । सुकिला ओढ्ने–ओछ्याउने मन लोभ्याउने खालका रहेछन् । साथमा लगेको गुन्टा खोल्नै परेन ।

भोलिपल्ट बिहानै नास्ताको लागि अनदीको चाम्रे तयार गरिछन् थकाल्नी आमाले । थकालीबाले बेलुकै सुनौली जाने बसको दुइटा टिकट ल्याए अनि उनैले बजार गएर बच्चालाई बाटोमा खुवाउन पाउडर दूध पनि ल्याए ।

भर्खरै भेट–सम्पर्क भएका अपरिचित सुदूरका एकराते पाहुना यात्रुमाथि त्यो परिवारले देखाएको सद्भाव र वात्सल्यपूर्ण व्यवहारले हामी छक्कै पर्यौँ । ठूला दुईजनाको खाना र खाजाको पैसा मात्र लिए, रात बसेको लिएनन् । सौ–पचास हातमा थमाइदिन खोज्दा झन्डै रिसाएका । बरु, पछिपछि पनि यात्रा गर्दा ‘यहीँ बस्ने गरी आउनु, बाटो नबिराउनु’ भने ।

अनि, झोलागुन्टा बसमा पुर्याएर लोड गरे । बसको कन्डकटरलाई ‘राम्रोसित हेरविचार गर्नु’ भने । सानासाना बच्चा लिएर टाढा जान लागेकोमा थकाल्नी आमा बढी चिन्तितजस्ती थिइन् । बाटोमा के कसो पर्ने हो, ‘होसैसँग जानु’ भनेर हामीलाइ सुझाव पनि दिँदै थिइन् ।

अनि, ‘फेरिफेरि पनि आउँदै गर्नु है’ भनेर श्रीमती बच्चाहरूलाई अँगालो मारिन् । छुट्टिने बेला हामी सबैका आँखा रसाए । घरबाट हिँड्ने बेला त यस्तो नियास्रो भएन, बीचबाटोमा भेटिएका अपरिचित मान्छेसँग के सारो आत्मीयता बसेको ? छक्कै परेँ म ।

सुनौली जाने हाम्रो बस चल्यो । हामी ती प्रौढ दम्पतीको स्नेहासिक्त नजरबाट टाढा भयौँ, तर मनमा तिनीहरू नै झलझली आइरहे । केही बेरमै ताल, झरना, फाँट, जंगलले घेरिएको शरद्कालीन पोखरा उपत्यकाको आभा आँखाभरि छचल्किन थाल्यो । यता हेर्दा रमाइलो, उता हेर्दा झन् रमाइलो । बस भञ्ज्याङतिर उँभो लाग्दैगर्दा माथिमाथि देखिने माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरि र नीलगिरिको आभा र विभिन्न रङका छटा हेर्दै मुग्ध बन्दै गयौँ ।

चट्टानी भीरपहरा, खोच र घुम्ती क्षेत्रमा निर्मित फराक राजमार्गमा ठूला बसहरू पनि सलल दौडिँदै गरेको देख्दा हामी छक्क पर्दै गयौँ । ससाना सुकिला गाउँबस्ती र मलिला खेतबारी, हरिया थुम्का–टाकुराले सजिएको स्याङ्जा जिल्लाको माझैमाझ दौडिएको रहेछ राजमार्ग ।

आँधीखोलाको किनारैकिनार चल्दाचल्दै वालिङ पुगियो । चालकले झट्ट बस रोकेर खाना खाने खबर गरे । त्यहाँ पनि भर्खर खुलेजस्ता दुईचार थकालीकै होटेल रहेछन्, एउटा छानेर खाना खाइयो । मुग्लिन, पोखरा, वालिङ सबैतिर होटेल चलाउने एकैखालका परिवारजस्तो लाग्यो । उस्तै हँसिला अनुहारले स्वागत गर्ने, खानाका उस्तै परिकार, उस्तै सरसफाइ र उस्तै सद्भावपूर्ण व्यवहार देख्ता थकाली भनेका कुनै जातथरका व्यवसायी नभएर सभ्य संस्कार, नम्रता, मिठो बोली र सद्व्यवहारका जीवन्त प्रतिनिधि पात्र हुन् जस्तो लाग्यो ।

गुरुजीले हतार लगाएअनुसार ढिला नगरी खाना खायौँ । चिसा हात ओभाउन नपाउँदै बस पनि चलिहाल्यो । बस चढेपछि पनि खानाका परिकार मिठास र सुग्घर सफाइको चर्चा गर्दै गयौँ ।

बाटो निकै घुम्ती, खोच र तलमाथि गरिरहने रहेछ । वालिङदेखि नै गिद्देभीरका पहरा काट्दै खोच र उकालोमा गुड्दै गल्याङ नपुगदासम्मको राजमार्ग झ्याउलाग्दो रहेछ । घुम्दैफिर्दै माथि डाँडा निस्किएपछि बल्ल लामो सास फेरियो ।

राम्दी पुलवारिपारिको घुम्ती, उकालो र पाल्पाको आरेभञ्ज्याङ अनि बर्तुनको ओरालो झरेर बुटवलतिर लागेका थियौँ । बुटवलमा चिया–चमेना गराएपछि सरासरी गुडेर सुनौली पुर्यायो बसले ।

त्यस दिन भैरहवामा बास बस्ने सुरमा थियौँ हामी । तर, बसमा भेट भएका पश्चिम जाने सहयात्रीहरूले ससाना बच्चा र महिला पनि साथ भएकाले एक्लैदुक्लै यात्रा नगर्नु भने र हामीलाई पनि उनीरूसँगै जान आग्रह गरे ।

यी पनि त कस्ता खाले मान्छे हुन् ? झस्स मनमा नराम्रो आशंकाले घेरा हाल्यो । तर, विस्तारै बुझ्दा थाहा भयो, रोजगारीका लागि कैलाली, कञ्चनपुर, दिल्ली र देहेरादुनतिर जाने गोरखा, लमजुङ र नुवाकोटतिरका बासिन्दा रहेछन् । झोला, गुन्टा र बच्चा पनि साथ लिएका सोझासिधा पहाडी मान्छे देखेर होला, उनीहरूले हामीलाई एक्लैदुक्लै नहिँड्नु भनेका । कुरो ठिकजस्तो लागेर हामी पनि तिनैकै पछाडि लाग्यौँ ।

बस छोडेपछि हामी दशैजना एकघोडे टाँगा चढेर आनन्दनगरतिर लाग्यौँ । एकैछिनपछि त धुलोले छोपेर एकले अर्कोलाई नचिनिने भइएछ । मुख सुकेर प्याकप्याक्ती । बाटो उराठलाग्दो थियो देहातको । धुलाम्मे अवस्थामा तिर्खाले भोकले सताएको बेला बल्लतल्ल आनन्दनगर रेल स्टेसन पुगियो ।

चापाकलको पानी पेटभरि पिएपछि बल्ल सास पलायो । बच्चाहरूलाई हातहातमा बिस्कुटको पुरिया र मिट्ठा थमाएर फुल्यायौँ । सानो प्लेटफर्ममा चार घण्टा लामो प्रतीक्षापछि एघार बजेतिर हुइँहुइँ गर्दै कर्कश ध्वनिले कान खायो । देख्तै धुस्रेफुस्रे अनुहारको पछिपछि थोत्रा डिब्बा लतार्दै गुडेको हामी प्रतीक्षारत रेल बल्ल आइपुगेछ । चलचित्रबाहेक पहिलोपल्ट प्रत्यक्ष रेल देखेका थियौँ हामी दम्पतीले ।

सहयात्री साथीको साथ लागेर समयमै टिकट लिएँ । अनि, तोकेको ठिक समयमै रेलको यात्रा पनि सुरु भयो । छकछक गर्दै हुइँहुइँ कराउँदै गर्ने रेलको थोत्रो डिब्बामा बसेर अन्धकार रातमा नौलो ठाउँको यात्रा गर्दै गयौँ । झ्यालबाट बाहिर हेर्दा इन्जिनको भट्टीबाट हावामा छरिएको पत्थर कोइलाको धुलो आँखामा परेर चौपट ।

भारतका सहरहरूमा बारम्बार यात्रा गरिरहेका हाम्रा सहयात्री साथीहरूले पहिलाका रेलयात्रामा आफू लुटिएका, ठगिएका र बेखर्ची, नांगझारसुद्द बनेका थरीथरीका कथाव्यथा सुनाए ।

“अहिले पो इन्दिरा गान्धीले इमर्जेन्सी लगाएर सर्वत्र शान्ति छ, नत्र यस्तो आनन्दी यात्रा कहाँ हुनु ?,” सबै एकमुख लागेर भन्दै थिए ।

‘टिकट बाबु आएपछि टिकट देखाइहाल्नुपर्छ, नत्र तुरुन्तै लगेर लोग्ने मान्छेजतिको नसच्छेदन गरिदिन्छ रे ! अनि, महिलाहरूलाई चैँ चारपाटा मुडेर एक रात थुनेर पठाइदिन्छ रे !’ भन्दै हाँस्दै थिए अधबैँसेहरू । कतै टिकट हरायो कि भनेर हतारहतार खल्ती छाम्दो रहेछु ।

टिकट साथमै रहेछ । कस्तो धुकचुकी हो मनको ? हुन पनि त्यतिबेर इन्डियाको इन्दिरा गान्धी प्रशासनले विनाटिकट रेलयात्रा गर्ने पुरुषजतिलाई जबर्जस्ती नसच्छेदन गर्ने अभियान चलाएकोमा निकै चर्चा र आलोचना सहनुपरेको थियो । ऊभन्दा ऊ बढी बुज्रुक भएर हामी नौला मानिसलाई सुनाउँदै थिए ती सहयात्रीहरू ।

ठाउँठाउँमा स्टप आउँदा ठूलठूला आँप, लिच्ची, कटहरका रुख र चापाकलहरू हेर्दै टिकट देखाउँदै गुन्टा र बच्चाहरूको हेरचाह गर्दै गयौँ । अनिदो हुँदा झगडा गर्लान् भन्ने पीर थियो बच्चाले, तर रेल चलेदेखि नै मस्तसँग निदाए । छोटी लाइनको ढिलो यात्रा बलरामपुर नाँघेर मिर्मिरे उज्यालो हँुदा गोण्डा पुग्यौँ ।

रेल्वे स्टेसनको वरैदेखि रेलका खाली पटरीहरूमा काठका ठुटा छरीबरी देखेर छक्क परेका थियाँै । तर, नगिच पुगेपछि थाहा भयो, पेट सफा गर्न लहर लागेका नरनारीको भीड रहेछ । जति नहेरौँ भन्दा पनि आँखा त्यतै गएर हामी दम्पतीका लागि लाजमर्नु अवस्था आइलाग्यो ।

ठूलोचैँ बाबुले कोट्ट्याइ कोट्ट्याइ त्यतै देखाउन थाल्यो । यहाँको चलन यस्तै छ भनेर त्यो अबोध शिशुलाई सम्झाउने प्रयास गर्यौँ । रेल रोकिएपछि लामो सास फेरेका थियौँ ।

निकै ठूलो स्टेसन रहेछ गोण्डा । त्यहाँबाट आआफ्ना रेललाइन छानेर कोही साथी कता कोही साथी कता लागे ।

स्टेसनबाहिर होटेलतिर पुरीकचौरी र तातो चिया खएर भोजनको बिट मार्यौँ । दालभात, लिटो खाइराखेका बच्चालाई हाजीपुरे केरा, सुन्तलाले उपचार गर्दै यताउती घुम्दै बितायौँ । स्टेसनबाहिर हेर्दा घुमौँजस्तो बजार रहेन छ । जताततै फोहोरैफोहोर, मान्छेमान्छेको पेलमपेल, भीडभाड, हल्ला र छाडा गाई र घोडाको लिदीको दुर्गन्ध मात्रै देख्यौँ ।

आआप्mनै धुनमा कोही कता कोही कता दौडिरहेका थरीथरी अनुहारका मान्छे । त्यतिबेर इएम फोस्र्टरको अंग्रेजी उपन्यास ‘प्यासेज टु इन्डिया’का पात्र, चरित्र र घटना सम्झिँदै थिएँ म ।

‘पहाडी बाबा, कुछ दान तो करो’ भन्दै एउटा मोटोघाटो धम्मरधुस जोगीजस्तो मान्छे हामीसँग पछि लागेर केही माग्दै थियो । कताबाट हो कुन्नि, तुरुन्तै पुलिस आएर हप्काइहाल्यो । ‘साला ठग, काम नही करता !’ भन्दै पुलिसले हकारेपछि उत्तिबेरै त्यो मान्छे कताकता नाम्सियो ।

हामीलाई पनि त्यो पुलिस दाइले आवारा तालले यताउता नहिँड्ने, स्टेसनको विश्रामकक्षमा बसिराख्ने अनि खुरुक्क टिकट काटेर आफ्नो रेल आएपछि बाटा लाग्ने सुझाव दियो । ‘तब न इमर्जेन्सी,’ हामीसँगै बसेका नेपाली प्रौढ मान्छे भन्दै थिए ।

पुलिस दाइले भनेअनुसार नै हामी पनि टिकट लिएर विश्रामकक्षमा धैर्यपूर्वक रेल पर्खिन थाल्यौँ । रुपैडिहातिर जाने हाम्रो रेल एक बजे मात्र छुट्यो । बहराइच, नानपारा हुँदै चल्ने छोटी लाइनको रेल चार बजेतिर रुपैडिया स्टेसनमा रोकियो ।

कहिल्यै नगएको ठाउँ, उत्रिएपछि अलमल्ल पर्यौँ, एकछिन । पहाडिया देहाती यात्री सरोबरी देखिने त्यो भीडमा नेपाली यात्रीकै पछि लाग्दै रिक्सा चढेर भन्सार पार गरियो । नेपाली भन्सारले गुन्टा खोलेर झन्झट लगाउन भने बाँकी राखेन ।

नेपालगन्ज बजारको पुछारमा पर्ने हुलाकअगाडिको चौतारोमा झोला, गुन्टा बिसाएर टामाटुमी बस्यौँ । अब कता होला बास बस्ने ? रातभरिको अनिदो र दिनको भोकले थकित–गलित श्रीमती अलमल्ल थिइन् । रेलको थकाइ, भोक र गर्मीले सातो लिएका बच्चाहरू ओइलाएको अनुहारमा लोलाइरहेका थिए । म पनि कहिल्यै न भोगेको रेलको थकाइ र गर्मीले आलसतालस थिएँ ।

नजिकै दोकानमा गएर सोधेको, टुटेफुटकोे नेपाली बोल्ने त्यो पसलेले नेपालगन्जमा कतै पनि बास बस्ने होटेल, लज भएको कुरा थाहा नभएको बतायो । सरकारी गेस्टहाउस त होला भनेर खोज्दै गएको सहायक अञ्चलाधीशको आदेशमा चल्ने एउटै मात्र गेस्टहाउस भएको बताए अस्पतालका पाले भाइले ।

दिन घर्किइसकेको थियो । कहाँ जाऊँ, कसो गराँै भयो । यहीबीच शिक्षा कार्यालयका सुब्बा पूर्वपरिचित साथी इन्द्रप्रसाद दाहालको सम्झना भयो र खोज्दै जाँदा ती भेट त भए, तर लज खोजिदिने या उनैको डेरामा बास दिने कुरातर्फ वास्तै गरेनन्, अचम्म लाग्यो ! अर्को कुनै चिनजानका मानिस त्यहाँ भएको पत्तो थिएन । अलमल्ल बस्यौँ चौतारीमा, निकै बेर ।

टाँगावालालाई सोधेको, ‘धम्बोजी चोकतिर लज, होटेल मिल्छ’ भन्यो । रिक्सा बोलाएर हिँड्ने सुर गर्दै थियौँ, परैदेखि हात हल्लाउँदै गोविन्द चापागाईं टुप्लुक्क आइपुगे । पूर्वपरिचित साथी भएकाले देउता मिलेजस्तै लाग्यो । उनीसँग छोटो भलाकुसारी भयो ।

बास बस्ने कुरै नगरी उनैले हामीलाई हत्तपत्त आफ्नै डेरामा लैजाने प्रस्ताव गरे । देउता मिलेजस्तै मन ढुक्क भयो । एकएक पुरिया बिस्कुट चपाएर उनैसँग गफ गर्दै बस्यौँ केही बेर ।

क्षेत्रीय हुलाकमा सुब्बा भएर गोविन्द चापागाईं नेपालगन्ज गएको थाहा थिएन । उनी पूर्व ५ नं दिंगलावासी, म पूर्व १ नं सिपा निवासी, महाविद्यालय पढ्दा पनि हामी अलग कक्षामा थियौँ । बसाइ पनि अलग्गै डेरामा थियो । बिहान–बेलुका पनि उति हेलमेल थिएन ।

तर, यतिबेरको अप्रत्याशित भेटमा उनले देखाएको आत्मीयता मेरा लागि राहतको कोसेली बन्न पुग्यो । उनले खोजिदिए होटेल, लज कतै बसौँ भन्ने अझै मेरो मनसाय थियो । उनले त्यताको कुरै पर्न दिएनन् । साथमा बच्चा देखेपछि कोक्रो खोजी गर्न थाले ।

कोक्रो नभेटेपछि बोरा किने । पाउडर दूध, तरकारीहरू किनेर झोलाभरि ल्याए । रिक्सा खोजेर सुर्खेत रोडको भित्रपट्टि पर्ने पक्कीघरको डेरामा हामीलाई लिएर गए । धेरै समयपछि भेट भएका साथीले कतिसारो प्रेम गरे मलाई ! अलमल्ल परिरहेको थिएँ । कतै सानोतिनो होटेल, लज खोजी दिएर बसाएको भए झन्झटै साफ हुन्यो ।

तर, आतिथ्य, मित्रप्रेम र सहचर्यको संस्कार पुर्खौली खान्दानीको अविच्छिन्न लहरो रहेछ– मनमनै सोच्तै थिएँ म– नत्र एक्लै बसेको फुक्काफाल अविवाहित मानिसले अनेकथरी झन्झट बेहोर्नुपर्ने, बच्चासहितका पाहुना डेरामै लगेर पाल्ने झमेला किन बिसाए ?

बेलुकी खानपिनको समान तयार गरे । तरकारी केलाउन सावित्रीले पनि सघाएकी थिइन् । डोरी लगाएर दलिनमा बोरा झुन्ड्याएर बच्चालाई हल्लाउने कोक्राको व्यवस्था मिलाए । पाउडर दूध तयार गरेर बच्चाहरूलाई खान दिए । मट्टीतेलको अभाव रै’छ र बेलुकी चुलोमा पत्थर कोइला बालेर खाना बनाए ।

एउटै ठूलो कोठामा बच्चा फुल्याउँदै लामखुट्टे धूप बालेर हामीले गफमा केही समय बितायौँ । डोरीवाल खटियामा रेलयात्राको अनिदो समेत बिसाएर निदाइएछ पो, मज्जैले ।

भोलिपल्ट सबेरै हामी दुवै भाइ प्लेन टिकटको खोजीमा एयरपोर्टतिर लाग्यौँ । तर, त्यस वर्षको अन्धाधुन्ध वर्षेबाढी र माथिबाट आउने खहरेका गेगर पसेर एयरपोर्टको रन्वे क्षेत्र पूरै तहसनहस भएछ । हिलो गेगर र माटो सफा गर्ने कुल्ली र डोजरले भर्खर काम थालेका रहेछन् । महिनौँ लाग्न सक्ने देखिन्थ्यो पूरै तयारीको काम ।

हाम्रा महामहिम डाइरेक्टरले कुरै नबुझी हामीलाई लखेटेको भान भयो । तत्काल नबन्ने एयरपोर्टको कुरो छोडेर त्यसै बेलादेखि हामी दुवै भाइ सुर्खेत जाने भरियाको खोजीमा लाग्यौँ । खजुरा, फुल्टेक्रा, धम्बोजी, सुर्खेतरोड जहाँकहीँ डुल्दा पनि भरिया मिलेनन् । भर्खर दसैँ गएकोले पनि त्यसो भएको रहेछ ।

दिउँसो पनि गोविन्द हाजिर मात्र गरेर अफिसबाट निस्किए । अनि, दुवै भाइले गफ गर्दै भरियाकै खोजीमा समय बितायौँ । तर, भरिया पाइएन । भोलिपल्ट त्यसै गर्यौँ । पर्सिपल्ट पनि त्यसै गर्यौँ, तर भरिया मिलेनन् ।

आजित परेर चौथो दिन दुवै भाइ कस्सिएर लागेका थियौँ । धम्बोजी चोकमा पूर्वी सुर्खेततिर घर भएका तीनवटा भरिया बल्लबल्ल मिले । दुइटा बच्चाको लागि, एउटा गुन्टाको लागि । देउता मिलेजस्तै लाग्यो । ज्यालाको मोलमोलाइमा उति लागिएन । अनि, मध्य दिउँसो बच्चा र गुन्टा बोकाएर बाटा लाग्यौँ ।

गोविन्दले टाँगा चढाएर बजार पार गराए । खजुरा बजारको पल्लोछेउ पुग्दा टाँगाको बाटो सकियो । उनी फर्किए । हामी पनि पैदल मार्चपास गर्न थाल्यौँ । उनीसँग छुट्टिँदा पनि कतै बिरानु जंगलमा एक्लै छुटेजस्तो नरमाइलो र अत्यास लागिरह्यो । औताएर के गर्छौ बबुरा, लालाबाला लिएर उकाली–ओराली गर्दै अझै ४० कोस बाटो पार गर्नु छ तिमीले भन्दै थियो आफ्नै मनले ।

मधेसको समथर बाटो, वरपरका पोखरी, नाला र खेतमा जमेको पानीमा टल्किएको घामको प्रत्यावर्तनले आगो सल्काउँछ जस्तै भयो । कतैबाट हावा नचलेको, कतै बादलको फिर्को नदेखिने भावर प्रदेशको मध्याह्नको पैदलयात्रा हाम्रा लागि अत्यन्तै कष्टकर बन्यो ।

असोजको तेस्रो हप्ता लाग्दा पनि अझै गर्मी नघटेको देख्ता कालापानी भनिने पुरानो उपाधि बाँके जिल्ला सुहाउँदो लागिरहेको थियो । तरतरी पसिना झारेर फ्याँफ्याँ गर्दै बाटो कटनी गर्दै गयौँ । कतै सानोतिनो स्याल भेटिए पनि थुपुक्क बसिहाल्थ्यौँ । चापाकल देखेपिच्छे बच्चाहरू त्यतै इसारा गर्दथे । दिनभर हिँडेर बल्लतल्ल झम्के साँझमा चिसापानी पुग्यौँ ।

बाढीपहिरोले बास उठाएपछि पूर्वी सुर्खेतको दूरदराजको गाउँबाट चिसापानी झरेका नयाँ बासिन्दाको होटेलमा बास पर्यो । भरिया भाइहरू हामीलाई त्यहीँ छोडेर बिहान आउँछौँ भन्दै अर्कै भट्टीतिर लागे । एकतले घरको पालीजस्तो खोल्मा त्यो रातको हाम्रो वासस्थान बन्यो ।

घरका गोसाइँ बाहिर कताकता थिए कुन्नि, होटेल चलाउने उनकी जोईले सकभर बच्चा र आमाको स्याहारसुसार गरेर राखिन् । निकै पुखली अनि वाचाल रहिछन् त्यो होटेलकी साहुनी । हामी पुगेको केही बेरपछि नै आत्मीयजस्तो बनिन् । अरूलाई प्रभाव पार्न कुरा बढाइचढाइ गर्न पनि मजा मान्दी रहिछन् ।

भर्खर पहाडतिरबाट आएजस्ती सावित्रीलाई प्रभाव पार्न उनले अनेकथरी गफ निकालिन् । कुरा चल्दै जाँदा जंगली जनावरले त्यो ठाउँमा बेलाकुबेला आएर थर्काउने कुरा गरिन् । एकपटक त उनको ओछ्यानमै आएर बाघ सुतिरहेको अनि उनले ‘जा बाबु, आफ्नै घर जा !’ भनेपछि बाघ पनि जुरुक्क उठेर सुरुक्क बाटा लागेको कुरा पनि पत्यारिलो ढंगले बताइन् ।

अनि, त्यतातिर वरिपरि वन, बुट्यान र पानीपोखरी हुँदो हिँडिरहने धामन, गोमन, करेट, बिच्छी, खजुरलगायत विषालु सर्प–बिच्छीले डस्ने सम्भावनाको डर पनि उत्तिकै टड्कारो देखाइन् । सुत्केरी मान्छेको त दूधको गन्ध पाउनेबित्तिकै धामन सर्प कताकताबाट बच्चाछेउ आएर लुटपुटिने गर्छ भन्ने अर्को डरको प्रक्षेपण गरिन् ।

पूर्व सिपाको आफ्नो घरतिर कहिल्यै सर्प–बिच्छी नदेखेका मान्छे, सुन्दै थर्कमान भयौँ हामी । माउको दूध खाने बच्चो साथमा भएकाले अर्धसुत्केरी सावित्री त सातो गएझैँ निलोकालो भइन् ।

बेलुकी झाडापिसाब गर्न पनि टर्च बालेर निस्किनु भनिथिन् साहुनीले । चर्पी पाइखाना नभएको त्यस फरिके घरमा बच्चाहरू माझमा सुताएर डराइडराइ गुजारा गरियो । दिसापिसाबले जति नै च्यापे पनि बाहिर निस्कन भने दुर्दुहाइ ।

बच्चाले पिसाब फेर्न खोजे ‘आफ्नै गुन्टाको ओछ्यान भिजाइदिने र भोलि बाटोमा धोइसुकाइ गरौँला’ भन्दै थिइन् सावित्री । हामी निदाउनै लाग्दा लर्बरिएको बोलीले फोहोर गालीका शब्दहरू तथानाम भट्ट्याउँदै आएका त्यसै घरका गोसाइँसँग जोईको निकै ठाकठुक पर्यो । हुँदाहुँदै तँ तँ म म खाले चर्को झगडाले होहल्लाको अवस्था आयो ।

फोहोर शब्द प्रयोग गरेर दुवैले लाजभाँडका आरोप–प्रत्यारोप लगाउँदै मुख छाडेको सुन्दा साँच्चै मारपिट चल्नेजस्तो लाग्यो । दुवै दम्पतीका बाउआमा चकार्दै भएका निर्लज्ज लबजको वाणीवर्षाले उत्तिकै नतमस्तक पनि भयौँ । चर्को बोली नथामिएपछि उठेर बस्यौँ ।

सावित्री त उनीहरूबीच मारपिट भएर लास पर्ने डरले थरहरी थिइन् र अन्तै बस्न जाऊँ भन्दै थिइन् । तर, त्यो अज्ञात ठाउँको अन्नमुष्टि रातमा दुईदुइटा बच्चा र त्यत्राविधि सामान लिएर कताचैँ जानु र ? एकछिन निःशब्द घोरिएर चिन्तामै समय बितायौँ ।

अलि बेरपछि नै अप्रत्याशित रूपमा सामसुम भएर सेलायो त्यो आवाज अनि झैझगडाको सट्टा उताबाट अर्कै आवाज पो आउन थाल्यो । लगत्तै पछि पालैपालो स्वर तानेर जुवारी खेलेझैँ गर्दै घुरेको सुन्न थालियो । उनीहरूको दैनिक जीवन नै यस्तै होला भन्ठानेर छक्कै पर्यौँ हामी । तर, उताको गतिविधिले निद्रा बिथोलिएर बेहाल बनायो ।    

भोलिपल्ट बिहानै आफूले चियापान गर्दै बच्चाहरूलाई लिटो खुवाएर बाटा लाग्यौँ । नजिकै सुर्खेत जाने राजमार्ग बनाउँदै गरेका हाकिमहरू बस्ने निवास र कार्यालयको भवन रहेछ । बाक्लो जंगल, झाडीले ढाकेको गर्मी ठाउँ, खोचैखोच परेको मूलबाटो । नयाँ रोड बनाउँदा जथाभावी काटकुट पार्दै भत्काउँदै गरेका चुरे पहाडका डिल, थुम्का र भिराला कान्लाहरूमाथि चार हातखुट्टा टेक्दै हिँड्ने काम पञ्चमीका पाइला गनाइ नै भयो !

कतै गहिरा खौला कतै उडिल्ला डिल, कतै अजंगका रुखले छेकेका बाटा र भिराला गोरेटाहरू पार गर्दै बल्ल एघार बजे बबईको झोलुंगे पुल तरेर स्थानीय बजारमा पुगियो । मेवाको तरकारी, मुसुरोको दालको भान्सा तयार गरिन् होटेलवाला साहुनीले । दिउँसै झिँगा, भुसुना, लामखुट्टेले आक्रमण गर्ने त्यो सानो छाप्रे होटेलमा मुसुरोको कालो दालमा तरवर्र ती सबै किराका तर परेका देखिए ।

बच्चाहरूका लागि दूधदही खोज्दा कतै पाइएन । साहुनीलाई अनुरोध गरेर दाल नखाने प्रस्ताव राख्तै गुन्द्रुक मागेर आफंँले पकायौँ । अनि, दिगमिग लाग्दालाग्दै पनि अरू विकल्प नदेखेर त्यही खाना खान कर लाग्यो ।

खोजी गर्दा कतै नपाइएपछि बच्चाहरूलाई पनि आफूसँगै रहेको थोरै पाउडर दूध र गुन्द्रुकको सुप मज्जैले पियाएर बाटा लाग्यौँ । फेदीबजारबाट जंगलको बीचैबीच रहेछ उकालो । साल, क्यामुनु, जामुनु र साजको पटेर झाडीभित्र पसारो परेको लम्बेतान बाटो जनशून्य एकलास र डरलाग्दो प्रतीत भयो । मध्यदिनको बेला भएर होला, चराचुरुंगी, लोखर्के भानेमुङ्ग्रा, छेपाराहरू पनि मौन थिए ।

माथिसम्म एकैनास बाक्लो जंगलभित्र लुकेको ठाडो उकालो मन आत्तिने खालको लाग्यो । सिँढी, खुड्किला पनि कमै भएको, बर्खेभलले खोलेर डन्डुर बनेको त्यो ढुंग्यान बाटोमा सुस्तसुस्त पाइला चाल्दै तुम्लेटको पानी पिउँदै उकालो चढ्दै गयौँ । उकालाको बीचजस्तोमा पुगेपछि डोकामा बसेको सानोचाहिँ बच्चाले रुँदैकराउँदै भरियाको कपाल लुछ्न र कानका जर्बुटा समातेर चिथोर्न थाल्यो । ऊ रोएको देखेपछि ठूलोचाहिँ पनि लोली मिलाएर रुन थाल्यो । केही पल यसै रफ्तारमा बित्दै गए ।

केही गर्दा पनि नमानेपछि सावित्रीले नै सानोचैँलाई फेरि पिठ्युँमा बोकिन् । ठाडो उकालो र गर्मी ठाउँको सालघारीमा बच्चा बोकेर हिँड्न आमाचाहिँलाई धौधौ भइरहेथ्यो । मैले समात्न खोज्दा पनि पटक्कै मानेन । पहाडमा हुर्किंदै गरेको ऊ र काठमाण्डू डेरामा बस्ने मेरोबीचमा त्यति हिमचिम थिएन, यो सुदूरप्रदेशमा आइपुग्दा पनि कायम हुन सकेन । फलस्वरूप उसकी आमाले नै उसलाई बोकेर उकालो काट्नुपर्ने विडम्बना आइलाग्यो ।

अलि बेरपछि त तुम्लेटको पानी सबै सकिएछ । मुख सुकेर च्यापच्यापी भयो । रगत चुहिएलाजस्तो रातो अनुहार पारेका बच्चाहरू पानी तिर्खाले प्याकप्याकी परेका थिए । एक ठाउँमा सानो चौतारो आइपुगेर बस्यौँ । सबैजना फ्याँफ्याँ परेका थियौँ ।

“तपाइँहरूलाई तिर्खा लाग्दैन ?,” मैले भरिया भाइलाई सोधेँ ।

“हामीलाई त बानी परेको छ साप् ! तलै अघौजी पानी पिएर हिँडेपछि उकालो नकाटेसम्म भोकतिर्खा केहीले छुँदैन,” हाँस्दै भन्दै थिए ।

“हामीलाई तिर्खा लाग्यो, कतै पानी पाइँदैन ?”

मैले सोध्दा धेरै पर खोल्सो देखाए । ‘हामी त्यहाँ पुग्न सक्दैनौँ’ भन्दा तुम्लेट बोकेर तीनै भाइ हिँडिहाले । हामीलाई ‘त्यहीँ बसिराख्नु, जंगलभित्र मान्छे, जनावर दुवैको डर हुन्छ, कतै नजानु’ पनि भनेका थिए ।

हामी लोखर्के, भानेमुङ्ग्रा, छेपाराले सर्याकसुरुक गर्दा पनि ठाडा कान लगाएर बस्यौँ । झन्डै आधा घण्टाको प्रतीक्षापछि तुम्लेट र आआफ्ना टोपीमा पानी बोकेर आएछन् ।

‘भादगाउँले टोपीमा नाम्लो लगाउँदा टाउकोको सुरक्षा हुने र यसरी पानी पनि ल्याउन मिल्ने’ भन्दै हाँसो गर्दै थिए ती भाइ । तुम्लेटको पानी बच्चाहरूले नै सिध्याउलान् जस्तो गरे । फेरि जाओ भन्न पनि अप्ठ्यारो लाग्यो । थोरै बाँकी पानी दम्पतीले बाँडेर खायौँ । टोपीमा ल्याएको पानी उनीहरूले नै सके ।

यसो उँभोतिर हेर्दा आधीजति ठाडो उकालो अझै बाँकी नै रहेछ । यो ठाउँ छोडेपछि मास्तिर पानी नपाइएला भन्ने शंका लाग्दै थियो । सोधखोज गर्दा पक्कै पाइन्न भन्ने जवाफ आउँछ भन्ने बुझेर मौन बस्यौँ । सालघारीमा हावा चलेको थिएन, तर पनि लामो बसाइले पसिना ओभाएर चंगा भइएछ ।

काखमा बसेपछि दुधे बच्चा निदायो पनि । गर्मीले रगत चुहिएलाजस्तो रातो अनुहार पारेका थिए दुवैले । निदाएको बच्चालाई डोकामा राखेर हिँड्यौँ, त्यहाँबाट पनि । एकछिन निदाएको बच्चा बिउँझिएपछि फेरि पनि रुने, भाँडिने, कपाल लुछ्ने गर्न थाल्यो । एकछिन अलि हल्का बनेर हिँडेकी श्रीमतीलाई फेरि बच्चाको भारी थपियो ।

यता मैले समाउँदा पनि नमान्ने, उता भरिया पनि रित्तै बस्ने अनि आमाचाहिँलाई दिनु दुःख दिएर गर्नु बिठ्याइँ गर्यो ६ महिने त्यो कान्छोले । तैपनि, विस्तारविस्तार उकालो चढ्दै गयौँ र घाम पहेँलिँदा हर्रे भन्ज्याङ पुगेर विश्राम गरियो ।

बेलुकी एउटा होटेलमा बास बसियो । तराईको गर्मीले झन्डै हप्ता दिन पाकेको मान्छे हर्रेको शीतल हावाले नयाँ ज्यान फेरिएजस्तो अनुभव भयो । भोलिपल्ट बिहानै हर्रेबाट भेरी उपत्यकातर्फ ओरालो लाग्याँै । अघिल्लो दिन उकालो चढेको डाँडाको अर्को पाटो ओरालो झर्दै तल खोचमा रहेको खोला किनारको छिञ्चु बजारमा पुग्दै चार घण्टा बितेछ ।

चिचिन्डा, फर्सी, घिरौँला लदाबदी फल्ने त्यो ठाउँमा आएर बल्ल मनपर्दो पहाडी तरकारी चाख्न पायौँ । भरिया साथीहरूले खुबै हँसाए । पूर्वबाट आएका कुल्ली भाइहरूो पनि भीड रहेछ । निर्माणाधीन सुर्खेत–कोहलपुर राजमार्गमा काम गर्न पूर्व सिन्धुपाल्चोक, रामेछापबाट आएका मजदुरहरू निकै टाठा र पुखला लागे ।

उनीहरूले आफ्नै गाउँघरको अभ्यस्त लबजमा गरेका कुरा र गाएका गीत सुनेपछि हामीलाई निकै आडभरोसा भयो । उनीहरूले पनि चाख मानेर हाम्रा विषयमा सोधखोज गरे । हाम्रो हिँडाइ ढिलो भए पनि उनीहरूमध्येका एकजनाले ‘तपाईंहरूलाई सँगै लिएर जाउँला’ भने ।

बाह्रबिसेतिरका अर्का भाइले आमाको काखमा बसेको सानो बच्चालाई निकै फकाइफुल्याइ अभिनय गरेर हँसाए । मिट्ठा किनेर पनि दिए । सायद त्यसको पैँचो तिर्ने हिसाबले एकछिन उनीसँगै हाँसखेल गर्न मान्यो । कतिबेर काँधमा लिएर दौडाउने, कतिबेर उफार्ने–थचार्ने खेला खेलाएर मज्जैले हँसाए ती भाइले ।

गर्मीले बसिनसक्नु रहेछ भेरीको गडतीर पनि । कतै बाक्ला सालघारी, लुकेका गौँडा गल्छेँडा, कतै कुलेसा र कतै बगर खहरे नाँघ्दै जानुपर्ने । कतै फाट्टफुट्ट बस्तीहरू, राम्रा खेतबारी र मोटाघाटा खाइलाग्दा गाईवस्तु पालेर मजैसँग घरजम गरेका बासिन्दा पनि भेटिए । कतै झाडी फाँडिँदै, कतै आगो लगाएर ठूलठूला रुख ठाडै डढाउँदै गरेका काला ठुटा देखिए ।

राङघाट पुगेर झोलुंगे तर्दा म अलि अगाडि थिएँ । पछि लागेका भरियाले बिसौनीमा डोको बिसाउन खोज्दा ठूलो बाबु उछिट्टिएर भुइँमा भ्वाक्कै लडिहाल्यो । हत्तपत्त अर्को ठिटाले छोपेर समात्यो, नत्र इन्चभर परिमाणले भेरीको निलो दहमा छम्लङ्ङ हाम फाल्न बेर थिएन । यदि, त्यो दुर्घटना भइहालेको भए दुईवर्षे त्यो अबोध, असहाय शिशुलाई ज्यानको बाजी राखेर कसले मद्दत, उद्धार गर्थ्यो होला ?

त्यो अकल्पनीय घटनाको आभासले पनि निकै विस्मित बनायो हामीलाई । केहीजानी पुलको मुखको चौडिल्लाबाट तल भेरी नदीको निलो दहमा उछिट्टिएको भए हामीले उसलाई कसरी भेट्थ्यौँ होला ? कुरा कल्पिँदै सिरिङ्ङ भयो आङ । मन थरथर कामिरह्यो । हातगोडा लगलग कामेर श्रीमती त झन्डै बेहोस भएकी ।

त्यसपछि उही कुरो मनमा खेलेर भावर प्रदेशको समथर टारमा हिँडेको पत्तै पाइएन । झन्डै मात्र भएको दुर्घटनाले पनि मन कताकता उडेर विचलित बनिरह्यो । चाहिँदा नचाहिँदा काल्पनिक सन्तापका ज्वारभाटाहरूले दिमाग गिजोली रहे । अलिकति मात्र तलवितल परेको भए के गर्थ्यौँ होला हामी दम्पती ? मनमा खुल्दुली मच्चिँदै रह्यो । बाटोमा कसैसँग केही कुरा गर्न पनि मन लागेन ।

झम्केसाँझ पर्दा चिङगाड खोला निस्किएछौँ । कसैगरी त्यस दिन सुर्खेत नपुगिने भएपछि खोला किनारको घट्टमा गएर कतै बास माग्ने मेरो सुर थियो । तर, परदेशीका लागि त्यो आसपासका गाउँमा घरगोठ कतै पनि बास दिन वर्जित रहेछ । रातारात भए पनि सुर्खेत पुगौँ भन्दा तिनै कुल्ली भाइहरूले मानेनन् । उल्टै ‘यहीँ बास तयार गर्छौँ’ भने ।

हामी खेतको आलीमा टुसुक्क बसेका मात्र थियौँ, अलि बेरमै भाइहरूले नजिकको वनबाट खाँवा, डाँडाभाँटा र सेउला समेत काटेर ल्याए । बाँसको चोया झिकेर दरादरा दुइटा छाप्रा निर्माण गरे । एउटा छाप्रोमा फरिको लगाएर हाम्रा लागि बास तयार पारिदिए । नगिचैको कुन्युबाट पराल ल्याएर भुइँमाथि ओछ्याए । गुन्टा खोलेर ओछ्यान तयार गरिदिए । कहाँ बस्ने के गर्ने भन्ने लागिरहेको बेला ती भाइहरूको जाँगर, पौरख र अक्कलले बिलकुलै नयाँ वासस्थान तयार भयो ।

दाइँको बेला आफ्नै खेतमा बनेको खलेकटेरीजस्तै त्यो स्याउले घरको बास हामीलाई त्यतिबेर दरबारको खोपी नै थियो । नयाँ अनुभव सँगाल्दै अर्कै संसारमा पुगेका थियौँ । सहयात्री भाइहरूले ओडालेको ढिँडो, गुन्द्रुक भटमासको रससँग चोप्दै खाँदै गर्यौँ मज्जैले । कहिल्यै नबिर्सने गरी जिब्रोमा टाँस्सिएछ स्वाद !

बच्चाहरूका लागि घटेरा दाइसँग अनुनय गरेर थोरै चामल ल्याए भाइहरूले । त्यसैको लिटो, जाउलो दुवै परिकार बनाएर काम चलाइयो । भोकाएका, थकित बच्चाहरूले खुसी भएर दुखजिलो खाना स्वीकार गरे । बाटोमा के कसो पर्छ भनेर दुईचार माना चामल, लिटोको पिठो, आलु राख्नुपर्ने रहेछ । त्यो नगर्दा बच्चाहरूलाई भोकभोकै राखेर आफ्नै चित्त बुझाउन गाह्रो पर्यो ।

भोलिपल्ट बिहानै हामीलाई बिदा गरेर कुल्ली भाइहरू आआप्mना शिविरतिर लागे । उनीहरूको काम गर्ने साइट त्यतै आसपास रहेछ । बाटो हिँड्दै झुप्राखोला तरेपछि हाम्रै पछि आउँदै गरेका लाटीकोइलीका गौतम थरका युवक भेटिए । कुनै अड्डामा खरिदारको पदमा जागिरे रहेछन् । उनले लामालामा गफ झिकेर सुर्खेतको नालीबेली विस्तार लगाए ।

भूमिसुधार अधिकारीको नियुक्ति लिएर आएको भन्दा हामीप्रति पनि निकै सम्मान प्रकट गरे । बीचमा चिया पसल र होटेलहरू नभएकोले भोकभोकै परेका थियौँ, तैपनि उनका गफले भोक–तिर्खाको अनुभव हुन दिएन ।

एघार बजेतिर सुर्खेत बजारनगिच पुगेपछि गौतम भाइ आफ्नै गाँउतिर लागे । हामी खाना खाने ठाउँ खोज्दै राधिका होटेल पुग्यौँ । हामीले खाना खाइ नसक्दै सुर्खेत भूिमसुधार कार्यालयका पियन साधुराम खोज्दै आए । त्यसै दिन बिहान सुर्खेतका भूमिसुधार अधिकारी केशवराज राजभण्डारी प्लेनबाट काठमाण्डू उडिसकेछन् ।

झल्याँस्स भयौँ हामी तिहार लागिसकेछ भन्ठानेर । सायद विभागबाट आ.वा. आइसकेर होला, हामीलाई तिहारभरिको लागि बसोबास गर्ने पाहुनाकोठा र चियानास्ता, सातुसमलको समेत व्यवस्था गरेर आफ्नै भान्छेलाई छोडेका रहेछन् केशव सरले । उनको उदारता र अतिथिप्रियता देखेर अभिभूत भयौँ ।

‘होटेलमै बस्छौँ’ भन्दा भान्छे भाइले मानेनन्, ‘हजुरहरूलाई छोडे सरले गाली गर्नुहुन्छ’ भन्दै लित्ती कसेर बसे ।

‘के खोज्छस्...’ भन्ने उखान सम्झिँदै उनकै पछि लागेर भूमिसुधार अधिकारीको पाहुनाघरमा जम्न पुग्यौँ । अचम्मै इमानदार रै’छन्, भान्से भाइ पनि । ‘हामी आफैँ खाना बनाउँला, चाडबाडको बेला भएकोले तिमी घर जाऊ’ भन्दा पनि मानेनन् ।

सामल, खाजा, सब्जी आफैँ किन्न खोज्दा पनि दिएनन् । आलु, प्याज दाल, चामल, तेलघिउदेखि सेलपुरीका लागि घिउतेल, पिठोसुद्द छोडेर गएछन् केशव सरले । हामी पुगेदेखि नै बजार सुनसान भयो । बाटो हिँड्ने मान्छे पनि देखिन छोडे ।

सुर्खेतको बसाइ हाम्रा लागि त्यति पट्यारिलो थिएन, बरु नयाँनौलो ठाउँ देख्ने, डुल्ने अवसर बन्यो । भान्से भाइ पुखला, टठिला युवक रहेछन् । बिहानी खाना खाएपछि दैनिकजसो कहिले कता, कहिले कता घुमाउन लगिरहन्थे ।

एक दिन काँक्रेविहार डुलाउन लगे । १२औँ शताब्दीमा जुम्ली खस राजाले निर्माण गरेको मध्ययुगीन अल्को स्तूपमा रहेको भगवान् बुद्धको मूर्ति र त्यसै परिसरमा सरस्वती र गणेशका पुराना मूर्ति देख्ता मध्ययुगीन नेपालमा हिन्दु, बौद्ध सम्प्रदायबीचमा रहेको आपसी समन्वय र सहभावको नमुना लाग्यो ।

नगिचैको बुलबुल तालले प्राकृतिक रहस्य र विलक्षणताको बोध गरायो । जस्तोसुकै मौसममा पनि फोकाफोका बनेर पानी उम्लिरहने प्राकृतिक स्रोतको त्यो ताल हेरिरहूँ लाग्ने रहेछ । थरीथरी गुलाब, कमल, इन्द्रकमल, लालुपाते, चमेली, बेगम्बेली आदि फूलहरूले सुभाषित तालवरपरको बहुरंगी बगैँचामा जति डुले पनि नअघाइने रहेछ ।

नगिचैको आर्मी ब्यारकले संरक्षण गरेको बगैँचा वनभोज र पर्यटक तथा ग्रामीण नरनारीका लागि पनि स्वच्छ, स्वस्थकर विश्रामस्थल देखियो । हामी ढिलोसम्म डुलेर फर्कियौँ । भान्से भाइ भाइटीकाको दिन दुई घण्टाको लागि टीका लगाउन मात्र घर गए, त्यही पनि हाम्रा लागि भान्सा तयार गरेर ।

टीकाको भोलिपल्ट बेलुकी बल्ल दैलेखबाट घोडा लिएर सयस गगनबहादुर भण्डारी र सहायक टेकबहादुर चालिसे आइपुगे । आवामा कुरा भएअनुसार भरिया पनि उतैबाट ल्याएछन् । आफ्नै अफिसका सहायकहरू लिन आएपछि बल्ल आफ्नो कार्यक्षेत्रमा पुगिएजस्तो लाग्यो ।

बिहानी खानाको मेसो सकेर हामी दैलेखतिर उँभो लाग्यौँ । यहाँ पनि सानोचाहिँ बाबु भरियासँग नमानेर आमाले नै बोक्नुपर्यो । सुर्खेतबाट हिँडेदेखि नै उकालैउकालो रहेछ बाटो । पहारिलो लादेको उकालो पाखामा चर्को घामको रापताप सहँदै सीतापाइलाको अर्को उकालो चढ्दै गयौँ ।

दिनभर हिँडेर बल्लबल्ल गाइबान्नामा पुगेर बाजेको होटेलमा बास बस्यौँ । उता अछाम, कालीकोट अनि महाबु लेकदेखि कट्टीसम्म जताततै उछ्याइलो देखिने दैलेख जिल्ला लेकबेसीको प्राकृतिक सम्पदा अनि विविधता र सौन्दर्यले भरिपूर्ण रहेछ । सदरमुकाम नपुग्दै टाढैबाट देख्ता पनि त्यतै घरजम बसाएर बसाइ सरौँजस्तो लाग्ने देखियो ।

बेलुकी गाइबान्नाको बाजेको होटेलमा बास बस्न पुगियो । त्यहाँ हामीजस्तै पाहुना आएका छडुङका चक्रबहादुर शाहीले दैलेखको धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधता अनि फलफूल, बालीनाली पशुव्यवसायको रहरलाग्दो चित्र प्रस्तुत गरे । निकै फरासिला रहेछन् ती प्रधान बुढा । उनको दैलेख वर्णनमा एकरसले वशीभूत भएछौँ हामी ।

अर्को दिन बिहानै उठेर ओरालो लाग्यौँ । रातानाङ्ला सातसल्लीको ओरालो झर्दाझर्दै हिँड्नै नसक्ने भइन् श्रीमती । निकै बल गर्दा पनि डुंगेश्वरको होटेलमा खाना खाएर चुप्रासम्म बास बस्न पुगेका थियौँ । अर्को दिन बिहानभरि साँडुको उकालोले खाइहाल्यो ।

दिनको एघार बजे मात्र दैलेख सदरमुकाम भित्रिएका थियौँ । जिल्लाका प्रतिष्ठित व्यक्ति भक्तबहादुर थापाको घरमा भूमिसुधार अधिकृतको निवास रहेछ । यसरी काठमाण्डूबाट हिँडेको अठार दिनमा आफू नियुक्त भएको जिल्ला भूमिसुधार कार्यालय पुगेको सम्झना अहिले पनि झलझली मनमा आइरहन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय