
काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपालका आकाश त्रिपाठीले पहिले ब्याटिङ गरिरहेको न्युजिल्यान्डको शतकीय साझेदारी तोडेका छन् ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले ४१.५ ओभरमा कप्तान ओस्कार ज्याक्सनलाई चौथो विकेटका रूपमा गुमायो । आकाशले ७५ रनमा खेलिरहेका ओस्कारलाई बोल्ड गरे । आकाशको यो विकेटसँगै न्युजिल्यान्डका कप्तान ज्याक्सन र स्नेहिथ रेड्डीबीचको शतकीय साझेदारी तोडिएको छ । यी दुईले ६७–३ बाट चौथो विकेटका लागि १५७ रनको साझेदारी गर्दै न्युजिल्यान्डको इनिङ्स उकासेका थिए ।
यसपछि ४३औँ ओभरमा गुल्सन झाले टिमका निम्ति पाँचौँ र छैटौँ विकेट लिँदा नेपाल खेलमा फर्किएको छ । गुल्सनले ४३औँ ओभरको दोस्रो बलमा लाक्लान स्टाकपोल र तेस्रो बलमा ज्याक कुमिन्सलाई पभेलियनको दिशा देखाएका हुन् ।
खेलको ४३ ओभर सकिँदा न्युजिल्यान्डले ६ विकेट गुमाएर २३० रन बनाएको छ । गुल्सनले दुई, सुवास भण्डारी, दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले समान एक विकेट लिएका छन् ।