site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
अलौकिकताको आभास दिने कृति 

एक दिन गुरु प्रा. डा. गोविन्दराज भट्टराईले बहिनी शशीलाई साथ लिएर कीर्तिपुर आउन भन्नुभयो । शशीलाई लिएर ट्याङ्लाचोक पुग्दा त्यहाँ सिक्किमबाट राजेन सिवाकोटी आउनुभएको रहेछ । त्यहाँ उहाँसहित डा. भट्टराई, प्रा. डा. अञ्जना भट्टराई, प्रा. डा. कुमारप्रसाद कोइरालासहित हामी थुप्रैको जमघट थियो । सबै साहित्यमा रुचि राख्नेहरू थिए ।

अर्थात्, माहोल साहित्यिक थियो । साहित्यका विभिन्न पाटाहरूको वर्णन र व्याख्याले परिवेश साहित्यमय बनेको थियो । हिउँदको मौसम भएर होला, घाम प्यारा थिए । सबैले प्यारो घामको माया ग्रहण गरिरहेका थिए ।

सूर्य पश्चिम दिशा ढल्किँदै गर्दा एक महिला सहभागी थपिनुभयो, डा. व्यञ्जना शर्मा । डा. शर्मा डा. अञ्जनाकी बहिनी हुनुहुँदो रहेछ ।

Dabur Nepal
NIC Asia

त्यस दिन हामीले आआफ्ना कवितावाचन गर्यौँ र छुट्टिने बेला आआफ्ना कृति साटासाट गर्यौँ । यसै क्रममा हात लाग्यो डा. व्यञ्जनाको कृति, ‘घाम अस्ताएको होइन’ ।

केही समय बितेपछि मात्रै मैले ‘घाम अस्ताएको होइन’ पढ्न सुरु गरेँ । कृति पल्टाउँदा लाग्यो, यो एक मनोविमर्श हो रहेछ । लेखक अस्ट्रेलियामा विद्यावारिधि गर्न गएको अवस्था, त्यसैबीचमा लेखककी आमा कीर्तिशेष हुन गएका कारण उत्पन्न दुःखद मनको अभिव्यक्ति रहेछ पुस्तकको अन्तरवस्तु ।

एकातिर प्यारी माता कीर्तिशेष भएको, अर्काेतिर सुदूरटाढा सात समुद्रपारिको कर्तव्य छोडेर आउन नसक्ने परिस्थिति । माताको महाप्रस्थानको खबरले विचलित बनेको मन, मातृवात्सल्यले मात्र होइन, समग्र मानवमूल्यले कसेर ल्याउँदा आमा शब्दले मनमा परेको गाँठो वा सकसबाट मुक्ति खोजेको अन्तरमन वा चेतको अभिव्यक्ति नै ‘घाम अस्ताएको होइन’ भन्ने बोध हुन्छ ।

एकप्रकारले गद्य शोकग्रन्थ हो यो भन्ने लाग्छ, मलाई । घामलाई विम्ब वा प्रतीक बनाएर आफ्नी माताको देहावसानपछिको आत्मासितको मनोगत सामीप्य वा मिलनको माध्यमबाट आमाको भौतिक अनुपस्थितिका कारण उत्पन्न कहरलाई झेल्ने कोसिस यहाँ पढ्न पाइन्छ ।

जब मानिस बाध्यताको फन्दामा जकडिन्छ, स्वाभाविक रूपमा उसमा एउटा वैकल्पिक प्रयत्न जागृत हुन्छ । पूर्वीय दर्शनमा एउटा विकल्प आत्मिक चेतको माध्यमबाट आत्मादेखि परमात्मासम्मको मार्ग, मिलन र परम कर्तव्य निर्वाहको वा भनौँ मुक्ति प्राप्त गर्ने भनिन्छ । भौतिकजगत्मा यो परीक्षण हुन नसकेको भएता पनि आत्मिक रूपमा स्थान जोडिएको ठानिन्छ ।

डा. व्यञ्जनाले पनि आफ्नी आमाको अन्त्येष्टि कार्यमा आफू भौतिक रूपमा उपस्थित भएर निभाउनुपर्ने कर्तव्य निभाउन नसक्दा आत्मा र परमात्माबीचको मनोगत ‘वायरलेस’मार्फत कुरा गरेर प्यारी आमासितको अभौतिक सामीप्य जाहेर गरेको भेटिन्छ ।

यो आत्मसंलापभित्र ३१ शीर्षकमा भिन्नाभिन्नै परिवेश, भाषा, धर्म–संस्कृति र भूगोलभित्रका दिवंगत पितृहरूप्रति सन्ततिले निभाएका भूमिका, अझ नामी औषधिमा राखेर जीवितझैँको अवस्थामा आराधना गर्ने गरिएका विभिन्न सन्दर्भ समाविष्ट छ ।

ती सबै शीर्षकका विषयमा चर्चा नगरेर यहाँ केवल पुस्तकले बोल्न खोजेको सारमा मात्र केन्द्रित रहेको छु ।

ब्रह्माण्ड एक भौतिक उपस्थिति हो । ब्रह्माण्डभित्र पृथ्वी एउटा सानो ग्रहका रूपमा क्रियाशील छ । यसै पृथ्वीको प्रतिकूल वातावरण झेल्न नसकेर डायनासोरको अन्त्य हुन पुग्यो ।

त्यसपछि अनुकूल वातावरण पाएर विभिन्न संघर्षको चरण पार गर्दै प्राणीजगत्को विकास हुन पुग्यो । यही प्राणीमध्ये सबैभन्दा उच्च चेत भएको प्राणीका रूपमा मानवको विकास हुन पुगेको विज्ञानले प्रमाणित गरेको छ ।

अरू प्राणीको मस्तिष्कभन्दा भिन्न मानव मस्तिष्कले सोच्ने, सिर्जना गर्ने र विवेक प्रयोगका कारण संसारमा अरू प्राणीभन्दा मानव अगाडि आउन सकेको छ र विश्व प्रकृति एवम् प्राणीजगत्माथि आफ्नो आँट र कौशलले शासन गरिरहेको छ ।

यहाँ एउटा कुरा स्मरणीय के छ भने प्रकृतिबाट सिर्जित सबै तत्त्व जसरी बन्छन्, त्यसरी नै नष्ट हुन्छन् । पुराना कुरा नष्ट भएपछि नयाँले ठाउँ लिन्छ, यो सार्वभौमझैँ हुन्छ । डायनासोरको पराजयपछि अन्य प्राणीझैँ मानवको पनि विकास भयो । आगामी हुन सक्ने अरू प्रलयहरूबाट अरू नै प्राणीको वा यस्तै केहीको अस्तित्व प्रकट वा स्थापित हुन सक्नेछ भन्न सकिन्छ ।

यसरी भौतिक वस्तुको सिर्जना र नष्ट हुने सार्वभौम नियमभित्र पनि (मानिस जन्मनु र मर्नुका बीचमा) मानिसले आफ्नो चेतना, सिर्जना र विवेक प्रयोगको कारण अरू प्राणीभन्दा आफूलाई भिन्न वा मूल्यवान् बनाउन प्रयत्न गर्यो । अरू प्राणीलाई झैँ मानवलाई केवल जन्मनु र मर्नुको भौतिक सीमामा सीमित नगरेर अतिभौतिकवादी सोचबाट मुक्त गरेर मानवजीवनको महत्त्व भौतिक मात्र होइन, यो चेतनशील, चिन्तनशील, विवेकशील भएको कारण व्यक्तिमा, परिवारमा, समाजमा, देशमा मानिसको योगदानको मूल्य स्थापित गर्न मानवलाई अमरत्व प्रदान गर्ने गरिएको छ ।

यसैले हाम्रा अग्रज, पितृहरू यस भौतिक संसारबाट निवृत्त भए पनि अरू प्राणीभन्दा पृथक् अस्तित्व वा भनौँ ओज एवम् गरिमा बचाउन हामी सफल भएका छौँ ।

त्यसैले मानिसले आफ्ना स्वजनहरूको देहावसानपछि तिनलाई बिर्सिंदैनन्, बिर्सिन मिल्दैन । उनीहरूलाई मनको गरिमायुक्त स्थानमा राखिरहन चाहन्छ मानिस । यसो गर्न यस लोकबाट परलोक वा परमधाम गमनको कल्पना गरेर मानिस सजीव रहेको आत्म–स्वीकृति वा मान्यता स्थापित गर्न चाहन्छ ।

यही मर्म आजको युगमा पनि अध्यात्मिक मूल्य बनेर बसेको छ । यसकै सहारामा मानिस आफ्ना स्वजन, मातापिता, गुरु वा आदर्श पात्रलाई भौतिक रूपमा गुमाउन बाध्य भए पनि आत्मिक रूपमा निजको अस्तित्व अंगीकार गरिरहन्छ । यही स्वीकारोक्ति नै डा. व्यञ्जना शर्माको ‘घाम अस्ताएको होइन’ भन्ने आत्मसंलाप शोक पुस्तक हो ।

यस शोकसंलापमार्फत आफ्नी आमाको देहावसानले पारेको पीडा र कर्तव्य निर्वाहमा आफू उपस्थित हुन नसकेको परिवेशबीच मनोगत चेतनामार्गबाट प्यारी आमासितको भेट, लगाव जोड्न पुगेको बोध हुन्छ ।

मैले अघिल्लो वर्ष नै डा. अञ्जना वस्ती भट्टराईद्वारा लिखित ‘स्मृतिलोकको यात्रा’ प्राप्त गर्दा पुस्तकमा उहाँले जीवन भोगाइका क्रममा देखेभेटेका, छामेका पात्रहरू समेतको स्मृतिमा आफ्नो सम्झना साकार गराएर पोख्नुभएको छ । २० शीर्षक रहेको यस पुस्तकमा ‘आँशु’मा उहाँले आफ्नी पूजनीय माताको देहावसानको परिवेशको चर्चा गर्नुभएको छ ।

मानिस आफ्ना कर्तव्यहरूमा बन्धित हुन्छ । कर्तव्यपथका सामाजिक, पारिवारिक भूमिका निर्वाह गर्दै जाँदा आफूले सन्ततिलाई जन्म दिने, हुर्काउने, बढाउने, विवाह दान गरिदिनेलगायत मात्रले दायित्व सकिँदैन ।

के खायो, कस्तो खायो, कस्तो लायो, दुखाई, बिमार के कस्तो छ को सोधीखोजीले सम्बन्धका जुइनाहरू जोडिएका हुन्छन् । त्यो ओरालो बगेको हुन्छ । उकालोतर्फ फर्कंदा आफूलाई निर्माण गर्ने, आफ्ना लागि सोच्ने, आफ्नो सिंगोे भविष्यप्रति चिन्तित रहने अग्रज पुस्ता आमाबाबु भेटिन्छन् । ती मक्काउन लागेका ढोडझँै सुक्दै गरेका हुन्छन् ।

व्यवहार, नामले हामीलाई सदा तिनको सामीप्यमा रहन, बस्न दिँदैन । एक दिन सबैले धरतीको भोग सिद्याउनपर्छ । यो अवश्यम्भावी छ । यसै सिलसिलामा डा. अञ्जनाकी आमा लड्न पुग्नुभएको, औषधोपचारका निमित्त धरान, विराटनगर लगिएको, डाक्टरले बिरामीलाई घरै फर्काइदिएको परिवेशबीच कसरी आमालाई जीवितै भेट्न सकिन्छ भन्ने आतेसले दौडाउँदै गर्दा प्रिय आमालाई जीवित भेट्न नपाएको विलाप यस लेखमा पढ्न पाइन्छ ।

यिनै माताकी कान्छी छोरी डा. व्यञ्जना विद्यावारिधिका निमित्त त्यस क्षण अस्ट्रेलियामा भएकाले उपस्थित हुन नसकेको कारण मन–मस्तिष्कमा परेको चोट मेटाउने चेष्टासाथ उनै आमाको दिवंगत आत्मासित मनोगत वार्तालाप गरेर आफूलाई एकाकार गराउने प्रयत्न गर्नुहुन्छ ।

यो एक अध्यात्मिक मार्गमा मनोगत विचरण वा यात्रा गर्ने कुरा हो भन्ने लाग्छ मलाई । जहाँ भौतिक योगदान वा उपस्थिति सम्भव नहुँदाको विकल्प अध्यात्मचेतको मार्गबाट पितृसितको सामीप्य खोज्ने नवीन चेतयुक्त, शिल्पयुक्त सिर्जना हो, ‘घाम अस्ताएको होइन’ ।

जसरी दिन र रातको एउटा भ्रम अर्थात् सूर्यको उपस्थिति र केही समयको विलुपतामा उज्यालो र अँध्यारो बोध हुन्छ, जीवन र आत्मा पनि त्यस्तै हुन् । भौतिक बँचाइ भनेको जीवन हो, आत्मा भनेको अमरअजर तत्त्व हो । मानिसको शरीर छोडेर पनि आत्मा आफ्नै ठाउँमा रहन्छ । आत्मा मर्दैन, एउटा डाँडाले छलेको मात्र हो ।

उतापट्टिको बृहत् चैतन्य फाँटमा आत्मा जीवित नै रहेको हुन्छ । हो, त्यही अमर आत्मा भेटिने वा भेट्ने आकांक्षाको संलाप हो डा. शर्माको ‘घाम अस्ताएको होइन’ ।

दुवै डाक्टर दिदीबहिनीहरूको विषय एउटै, सार एउटै, प्रक्रिया आआफ्ना छन्, सिर्जनामा । एकजनाले आफ्नो भौतिक उपस्थिति दर्ज गरेर एउटा शीर्षकमा आमालाई यस धरतीबाट भौतिक बिदाइ गर्दाका उकुसकुमुस अभिव्यक्त गर्नुभएको छ भने अर्की बहिनीले उक्त प्रक्रियामा सामेल हुन नपाएर रोएको मनलाई फुल्याउन दिवंगत आत्मासित बारम्बार विभिन्न सन्दर्भ जोडेर आमाको नाममा लेखिएका पत्रहरूमार्फत मनलाई शान्ति दिन खोज्नुभएको देखिन्छ ।

कृति सिर्जनामा उच्चस्तरीय भाषा प्रयोग पाइन्छ । घटना विवरणले मानिसलाई रुवाउँदछ । फेरि संयमताको मार्ग समातेर सन्तति अगाडि बढ्नुपर्छ भन्ने सन्देशयुक्त सिर्जनाका भावछटाले अरूहरू टुहुरा सन्तति समेतको मनलाई सम्झाउन यो पुस्तक सबल भएको बोध हुन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro