site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोहिनी झरनाको मोहनी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

झरनाको फेदमा आदिमकालदेखि स्नानरत ढुंगालाई मैले सोधेँ, ‘आफ्नै छातीमा उभिएर जलप्रवाहले निरन्तर प्रहार गर्दा पनि कसरी निकाल्न सक्छौ यति सुमधुर लय ?’

‘जब आफ्नाहरूले निरन्तर प्रहार गर्छन् नि, तब प्रहार पनि बानी बन्छ । अनि, मिठो लाग्न थाल्छ,’ यति भनेर झरना मुसुक्क मुस्कुरायो मलाई गम्भीर बनाएर ।

अघि पनि धेरैपटक कुलेखानी, इन्द्रसरोवर घुम्न गइसके पनि कक्षा–११÷१२ का विद्यार्थी लिएर एक दिनको यात्रा गर्न सकिने सबैभन्दा उपयुक्त ठाउँ लागेर हामीले यात्राका लागि कुलेखानी नै रोज्यौँ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

२०८० पुस १३ गते शुक्रबार । यस दिनको व्यग्र प्रतीक्षा र उत्साह मैले विद्यार्थीका आँखामा पढेकी थिएँ । बिहान पौने ६ बजे विद्यालयमा पुग्दा विद्यार्थीहरू हाम्रै प्रतीक्षामा थिए । म भारी मन लिएर विद्यार्थीहरूलाई भेट्न कक्षाकोठामा पुगेँ ।

एक्लै कक्षाकोठामा प्रवेश गरेपछि उनीहरूले प्रश्नको झटारो ममाथि तेर्स्याउन थाले । अघिल्लो दिनसम्म उनीहरूलाई पढाउने हामी पाँचै शिक्षकले साथमा जाने आश्वासन दिएका थियौँ । उनीहरूलाई खुसी बनाएर पठाएका थियौँ ।

Royal Enfield Island Ad

तर, तिनैलाई ‘तिम्रा प्रिय सरहरू दीपक बोहरा र नन्दलाल श्रेष्ठ हामीसँग जानु हुन्न, हामी बाँकी तीनजना मात्रै साथमा हुन्छौँ’ भनेर बताउनुपर्ने थियो ।

जब मैले दुईजना सरहरूलाई विद्यालय प्रशासनले हामीसँग पठाउन नसक्ने बताएँ, उनीहरू अचानक आगो भए ! ‘सरहरू नजाने भए हामी पनि जाँदैनौँ...,’ तिनले होहल्ला मच्चाउन थाले ।

स्कुलले हामीलाई धोका दियो, हजुरहरूले हामीलाई धोका दिनुभयो भनेर तिनले लगाएको आरोप त्यति बेला मलाई असामान्य लागेन ।

आफ्ना प्रिय सरहरूबिना आफूहरू घुम्न नजाने बरु यात्रा नै स्थगन गर्ने कुराले मलाई निकै अप्ठ्यारोमा पार्यो ।

हाम्रो यात्राका लागि भाडामा लिएको गाडी विद्यालय प्रांगणमा उभिएको छ । दिउँसोको खानाका लागि निकै मुस्किलले कुलेखानीकै एउटा होटेलमा अर्डर गरिसकिएको छ । विद्यालय प्रशासनले मनोभावना नबुझेको र आफूहरूप्रति अनुत्तरदायी भएको गुनासो गरेर विद्यार्थीहरू अवलोकन भ्रमणमा कोही सहभागी नहुने धम्की दिइरहेका छन् ।

यसरी मनोरञ्जन, यात्रा र सिकाइका लागि हिँड्न तयार विद्यार्थीहरू एकाबिहान दुःखी छन् । निकै बेर सम्झाइबुझाइ गरेपछि बल्ल उनीहरू उदास अनुहार लगाएर बसमा चढे । बिहान ६ः३० बजे मात्र सतुंगल, काठमाडौंबाट बस हिँड्यो ।

घामको पहिलो किरण हिमालमा छरिएर हिमाली रङलाई सुनौलो बनाउँदा नबनाउँदै चन्द्रागिरिको डाँडोमा उक्लियो । चन्द्रागिरिको डाँडामा पुगेर केही समय बस रोकेपछि विद्यार्थीहरूले फेरि एकपटक सरहरूलाई फोन गरे, गुनासो गरे र बालसुलभ शैलीमा कट्टी गरे । बल्ल उनीहरूको अनुहार थोरै उज्यालो भयो ।

काठमाडौंको सीमा कटेर मकवानपुरको सीमा प्रारम्भ भएको केही समयपछि नै हामी चित्लाङ पुग्यौँ । चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय भ्रमण गर्ने योजनाअनुरूप हाम्रो बस मूलबाटो छोडेर विश्वविद्यालयतर्फ तेर्सियो ।

वि.सं. २०७९ सालमा स्थापित यस विश्वविद्यालयमा एग्रिकल्चर, फरेस्ट बायोमेटेरियल इन्जिनियरिङ, आर्टिफिसियल इन्टेलिजेन्सजस्ता विषयमा स्नातकोत्तर कार्यक्रम सुरु गर्ने योजना भए पनि दुईवटा विषयमा अत्यन्त न्यून संख्यामा विद्यार्थी भर्ना भएको जानकारी पायौँ ।

विश्वविद्यालयभित्र गएर त्यहाँभित्रका विविध गतिविधिका बारेमा बुझ्ने इच्छा थियो । तर, विश्वविद्यालय प्रशासन १० बजेअगाडि नखुल्ने जानकारी पाएपछि विश्वविद्यालयको निर्माणाधीन भौतिक संरचनाको बाहिरैबाट अवलोकन गरेर हामी फर्कियौँ ।

चित्लाङका सुन्दर बस्ती, होमस्टे तथा तरकारी खेतीलाई बसबाट नियाल्दै हामी मार्खुनजिक पुग्यौँ । एकैछिन बसलाई त्यहीँ रोकाएर हामी सबै भेडा फार्म हेर्नका लागि केही बेर उकालो लाग्यौँ ।

हिँडेको करिब १० मिनेटमै आँखैअगाडि ठोकिन आयो, एउटा विशाल चौर । रातको शीतले नुहाएर लछप्पै भिजेको चौर बिहानी घामको किरणले पुछिएको थियो । यो विशाल चौर देख्नासाथ विद्यार्थीहरू बिहानभरिको सारा उदासी भुलेर खुलेर रमाउन थाले ।

चौरमा यत्रतत्र छरिएर दौडिन, उफ्रिन र तस्बिर खिच्नमा मग्न भए । म भने भेडा फार्ममा भेडा कति र कता छन् भनेर खोज्न थालेँ ।

त्यही डाँडामा भेडाको निकै राम्रो प्रतिमूर्ति बनाइएको छ, त्यो हेर्न छुटाउनु हुँदैन भन्ने हाम्रो योजना थियो । तर, भेडा फार्ममा न त भेडा देखियो न त भेडाको प्रतिमूर्ति नै । वास्तवमा यो ठाउँबारे हामी अनभिज्ञ थियौँ । कता के छ थाहा थिएन । कसैसित सोध्ने खोज्ने समय र अवसर पनि थिएन । फेरि एकपटक सरहरूको अभाव खड्कियो ।

होटेलबाट खाना पाकिसकेको जानकारी आयो । हामी पनि भोकाइसकेकाले खानका लागि मार्खुमा रहेको होटेलतिर झर्यौँ । कुलेखानीको लोकल माछाको तात्तातो झोलसँग बिहानको खाना खाइसकेपछि हामी हाम्रो यात्राको गन्तव्यतर्फ लाग्यौँ ।

झरनामा पुग्न मार्खुबाट कि त डुंगा चढ्नुपर्थ्यो कि त पैदल हिँड्नुपर्थ्यो । सामान्य डुंगा नचल्ने र मोटरबोट हाम्रो आर्थिक पहँुचभन्दा बाहिरको विषय भएकाले अन्तिम विकल्प पैदल जाने मात्रै रह्यो ।

हामीले आआफ्ना खाजाका झोलाहरू बसमै राख्यौँ र ससाना झोला तथा पानीका बोतलहरू बोकेर हिँड्ने तयारी गर्यौं । मार्खुमा रहेको झोलुंगे पुल तरेर इन्द्रसरोवरलाई बायाँ पारेर हामी उकालो लाग्यौँ ।

विद्यार्थीेको एउटा समूह स्पीकरमा गीत घन्काउँदै अगाडि लाग्यो । हामी छिटो हिँड्न नसक्नेहरू पछाडि छोडियौँ । स्पीकरको आवाज तथा सल्लाघारीबाट विद्यार्थीेले चिच्याएको आवाज पछ्याउँदै धुलौटे बाटोमा पाइला नाप्दै अगाडि बढ्यौँ ।

अलिकति बाटो हिँडेपछि नै थाहा भयो, हामीले लगाएको बुटले अब हिँड्न सकिँदैन । “बाटो टाढा छ, चप्पल किनेर लगाएर जाऊँ म्याम,” मार्खुमै हुँदा अनिता म्यामले गरेको अनुरोधलाई मैले ‘बुट खोलेर खाली खुट्टा हिँडौँला नि’ भनेर टारेकी थिएँ ।

अब भने पछुतो भयो । बुट लगाऊँ खुट्टा दुख्छ, नलगाऊँ बाटोभरि गिट्टीढुंगा छ, झनै दुख्छ । हामी दुई कहिले जुत्ता खोल्ने त कहिले लगाउने गरेर अगाडि हिँड्यौँ । निकै बाटो हिँडिसक्यौँ, तर पनि झरना त कता हो कता, कुनै मेलोमेसो पाइएन ।

हामीलाई पछाडि पारेर गएको समूहलाई फोन गर्दा थाहा भयो, हामी त बाटो बिराएर निकै माथि पो आइसकेछौँ । अलिक पर पुगेपछि बाटो बनाउँदै गरेका मानिसहरू भेटिए । उनीहरूसित बाटो सोधेपछि थाहा भयो, हामी निकै टाढा पुगेछौँ । मार्खुबाट एक घण्टाको पैदलयात्रामा झरना पुगिन्छ भन्ने अनुमानमा हिँडेका हामी एक घण्टा बित्दासम्म बीचबाटोमै रुमल्लिइरहेका रहेछौँ ।

खासमा हामीमध्ये कसैलाई पनि झरनातिर जाने वास्तविक बाटोबारे पत्तै रहेन छ । बाटोबारे अलिअलि जानकार विद्यार्थी अघिल्लो समूहमा थिए । उनकै मार्गनिर्देशानुसार हिँडेका हामीले झैँ उनीहरूले पनि बाटो बिराएर फेरो बाटो नै पो हिँडेका रहेछन् ।

सोझो र सरल बाटो त हामीले फर्कंदा मात्रै पत्ता लगायौँ । खुट्टा दर्फर्याउने गेग्य्रान, ढुंगा बिछ्याइएको सिँढी बाटो । केही समय ओरालो झरेपछि पहिलो समूहसित भेट भयो । त्यहाँबाट पनि अलिकति ओरालो झरेर खोलाको चिसो पानीमा खुट्टा डुबाएर फेरि उकालो लाग्यौँ ।

करिब १५ मिनेटजति उकालो चढेपछि सानो डाँडोमा पुग्यौँ हामी । डाँडामा उभिएर खोलापट्टि हेर्दा आँखैअगाडि ठोकिन आयो, एउटा सुन्दर झरना । झरनाका लागि टिकट काटेर अगाडि बढ्दै गर्दा सिँढीको माथि भित्तोमा सानो साइनबोर्डमा लेखिएको थियो– मोहिनी झरना ।

झरना देख्नासाथ विद्यार्थीहरू खुसीले चिच्याए । अनि, दौडिए झरनातर्फ । हामी भने पोलेका पैतालालाई लतार्दै विस्तारै अगाडि बढिरह्यौँ । जब झरनाको नजिक पुगियो, यात्राका सारा थकान, सारा दुखाइ क्षणभरमै हराएर मन झरनाको पानीझैँ शीतल र शान्त भयो ।

अग्लो छाँगोबाट झर्झर झरेको झरनाको संगीतले वरपरको वातावरण नै गुञ्जायमान भएको थियो । झरनाबाट झरेको पानीको बाछिटाले वरपरका ढुंगाहरू पनि निथ्रुक्कै रुझेका थिए । विद्यार्थीहरू सबैले आआफ्ना झोला र जुत्ता छेउतिर राखेर कोही फोटो खिच्न थाले, कोही झरनाको फेदमा बनेको सानो पोखरीमा पसेर रमाउन थाले । अनि, पुसको ठण्डी समेत बिर्सिएर पोखरीको पानी एकार्कालाई छ्यापाछ्याप गर्न थाले ।

हामी पनि एकछिनलाई आफ्नो उमेर, अभिभावकत्व सबैसबै बिर्सिएर विद्यार्थीकै हुलमा मिसियौँ । उनीहरूझैँ झरनाको काखमा झरनाको बाछिटामा निथ्रुक्कै हुने गरी भिज्यौँ । कहिले मुटु ठिहिर्याउने पानीमा खुट्टा डुबाउँदै, कहिले एकार्कालाई पानी छ्याप्दै रमायौँ ।

यसो गरिरहँदा मलाई एउटा भनाइ सम्झना भयो, ‘यदि, जीवनमा खुसी हुनु छ भने आफूभित्रको बचपनलाई सधैँ जीवित राख्नुपर्छ ।’

झरनाको नजिकै गएर हामीले विभिन्न पोजमा तस्बिर खिचायौँ । भिडियो बनायौँ र झरनाको छङछङ आवाज सुन्दै केही समय त्यहीँ सुस्तायौँ । म त्यो प्रकृतिको छटाको दृश्यपान आँखाले मात्रै होइन, हृदयले पनि गर्न चाहन्थेँ ।

झरनाको फेदमा आदिम कालदेखि स्नानरत ढुंगामा ठोक्किएर निस्किएको मिठो संगीतलाई कानले मात्रै नभएर हृदयले अनुभूत गर्न चाहन्थेँ । त्यही झरनाको अगाडि रहेको ढुंगामा उभिएर झरनातर्फ फर्किएर दुवै हात फैलाई आँखा चिम्लिएर उभिँदा लाग्यो, म कुनै गहिरो ध्यानमा छु, समाधिको अवस्थामा छु । यो दिव्य अनुभूति, यो स्वप्निल आभालाई आफूभित्रै समेटेर म निर्विकार हुन चाहन्थेँ । आँखा चिम्लिएरै झरनालाई सम्बोधन गर्दै विस्तारै गुन्गुनाएँ– बल्झिन्छ छातीमा अभाव तिम्रै
          जे छ समेटूँ म प्रभाव तिम्रै ।

मोहिनी झरनाको मोहनीले हामीलाई तानिरहेकै थियो । मन नलागी नलागी पनि त्यहाँबाट फर्किनु नै थियो । आखिर हामी टाढाका यात्री न थियौँ । फर्कने बेलामा फेरि एकपल्ट झरनाको त्यो दिव्य र अलौकिक आभालाई हेरेँ । अनादि कालदेखि झरनाको फेदमा स्नानरत ढुंगालाई मनमनै भनेँ, ‘तिमीले अनन्त चोट सहेर पनि अर्काको जीवनमा मिठास भर्ने शिक्षा दियौ, म तिम्रो गुरुत्व कहिल्यै बिर्सने छैन ।’

फर्कंदा हामीले इन्द्रसरोवरको किनारैकिनारको सोझो र तेर्सो बाटो भेट्टायौँ । नेपालमा बनेको मानवनिर्मित सबैभन्दा ठूलो ताल इन्द्रसरोवरमा हावाको प्रवाहले गर्दा परेको लहर र साँझको सूर्यको किरणले टल्किएको पानीको छाल हेर्दाहेर्दै हामी मार्खु आइपुग्यौँ ।

सरोवरको किनारमा बसेर खाजा खाइसकेपछि विद्यार्थीहरू केही समय नाचगान गर्नमा मग्न भए । वरपरका घर तथा होटेलमा साँझको बत्ती झलमल बल्न थालिसकेपछि बल्ल हामीले फर्किने तरखर गर्यौं ।

सबैजना बसभित्र बसिसकेपछि बसले आफ्नो गति लियो । म भने झ्याल खोलेर बाहिर देखिएका ससाना घर तथा होटेलहरूमा हेर्न थालेँ । एकजना विद्यार्थीले फ्याट्ट सोधिहालिन्, “यो साँझमा के हेर्नुभएको गुरुआमा ?”

“सानीलाई खोजेको,” मैले छोटो जवाफ दिएँ । मलाई लाग्छ, आज पनि सानी हरेक साँझ नजर बिछ्याएर यतैकतै यात्रीको प्रतीक्षामा बाटो कुरेर बसेकी छ । अर्का एक विद्यार्थीले भने, “अब यात्री भरियालाई भारी बोकाएर पैदल आउँदैन गुरुआमा ! ऊ त गाडीमा गैसक्यो, सानीलाई भेट्दैन उसले ।”

म झल्याँस्स भएँ । हो त, अब सानीले यात्रीलाई कहिल्यै भेट्दिन । वास्तवमा त्यो दिन साँझ पनि यात्री नफर्किनु पर्थ्यो, फर्किहाले पनि सानीसित भेट नहुनु पर्थ्यो, भेटिहाले पनि सानीलाई ‘तिमी त बुढी भइछ्यौ’ नभन्नु पर्थ्यो ।

मेरो यही गुनासो रह्यो भिक्षुसँग । उनलाई भेट्न मिल्ने भए भन्ने थिएँ– तिमीले सानीप्रति अन्याय गर्यौ भिक्षु ! त्योभन्दा त बरु सानीलाई सिंगो जीवनयात्रीको प्रतीक्षामै बिताउन दिएको भए हुने ।

गाडीको रफ्तारसँगै घन्केको गीतको आवाजले मेरो ध्यानभंग गरिदियो । 

(कीर्तिपुर/काठमाडौं)

 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro