site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

कहिल्यै नसुध्रिने र नचेत्ने संस्थाका रुपमा सूचीकृत गर्दा हुन्छ, नेपाल वायु सेवा निगमलाई ।  यो तत्कालीन ‘शाही नेपाल वायु सेवा निगम’ हुँदा होस् या लोकतन्त्रपछि नाम परिवर्तन हुँदै ‘नेपाल वायु सेवा निगम’ सम्म पुग्दा होस् ।

यसले ‘अलवेज क्यान्सिल’ अर्थात् सधैँ ‘उडान रद्द’ दर्जा पाएको निगममा सोमबार राति पनि अन्तर्राष्ट्रिय उडानमा उही दुर्भाग्यपूर्ण नियति देखायो । अनि घटनालाई सामान्य ठानियो ।

यात्रुहरु निगमको न्यारो बडी जहाजमार्फत कतारको दोहा उडान भर्न विमानस्थल पुगे । यात्रारत २७६ यात्रुले चेक–इन गरे, अध्यागमन–सुरक्षा जाँच प्रक्रिया पार गर्दै उडान भर्न प्रतीक्षालय पुगे । निर्धारित उड्ने समय घर्किदै थियो, यात्रुलाई कुनै सूचना दिइएन । 

११ बजे उड्नुपर्ने जहाज राति १ बजेमात्रै यात्रुले ‘रद्द’को जानकारी पाए । अन्तर्राष्ट्रिय उडान भएको हुँदा दोहाबाट अन्यत्र उडान भर्नुपर्ने यात्रुले समस्या खेप्ने नै भए । यसरी उडान रद्दको घटना भने पहिलो होइन, अनेकौंपटक यस्ता ‘रद्द’ घटना भएका कारण हुन सक्छ, निगमले यसलाई ‘सामान्य’ रुपमा लिएको देखिन्छ । 

नत्र यसरी उडान रद्द हुनुको कारण, रद्द हुँदा बेहोर्नुपर्ने खर्चको दायित्व, त्यसअतिरिक्त निगमले गुमाउनुपर्ने विश्वसनीयताको हकमा कोही न कोही जिम्मेवार हुन्थे ।  ‘जहाजको अभाव छ भने या जहाज बिग्रेको छ किन टिकट काटियो ?’ स्वाभाविक प्रश्न उब्जन्छ नै । 

तत्कालका निम्ति जहाजको प्राविधिक खराबी देखाउँदै उम्किने खेल चल्छ । यो प्राविधिक मात्र नभएर व्यवस्थापनको नालायकीपन पनि हो । निगमका पदाधिकारीले गम्भीरतापूर्वक लिएको पनि पाइँदैन ।  यो हदैसम्मको लापरबाही प्रदर्शन हुँदा पनि सरकारले कसैलाई सामान्य सोधपुछसमेत गरेको देखिँदैन, कारबाही गर्नुको परै जाओस् । 

कोही, कसैले जवाफदेही बन्नै नपर्ने भएपछि निगमका अव्यवस्था, उडान रद्द, हेलचक्र्याई, भ्रष्टाचारको पर्याय निगम बनेको थियो, बनिरहेकै छ । 

राजनीतिक निगाहमा भर्ती भएका कार्यकारी अध्यक्षदेखि सञ्चालक सदस्यहरु संरक्षणकर्ताबाट संरक्षणप्राप्त भएसम्म आफ्नो कुर्सी जाँदैन भन्ने बुझेका छन् । 

त्यहीकारण तिनले यात्रुका हितमाभन्दा नियुक्तिकर्ताप्रति बफादारी देखाउनुलाई आफ्नो एकमात्र ध्याउन्न बनाएका छन् । निगम पुग्नु भनेको कमाउनु हो भन्ने मान्यता स्थापित भएको छ ।  निगममा भ्रष्टाचार–कमिशन खेलको अनगिन्ती शृङ्खला निरन्तर छ । 

यो निगमको स्थापनाकालबाटै सुरु भएको रोग हो । यो संस्था कहिल्यै पनि विवाद र प्रकरणमुक्त नहुनुमा भ्रष्टाचार र कमिसन नै एक मात्र कारण हो । २०२९ मा पहिलो जहाज खरिदसँगै प्रकरणभित्र परेको निगम पछिल्लो समय हरेक जहाज खरिदमा शंकास्पद मानिन्छ । 

पछिल्लो समय खरिद भएका वाइडबडी जहाजमा चार अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार तथ्यांक संसद्कै सार्वजनिक लेखा समितिले सार्वजनिक गरिसकेको छ ।  उसले थप छानबिन गरी भ्रष्टाचार मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठायो । 

‘ठूला प्रकरण’ र ‘ठूलाबडा’ जोडिएको सवालमा मौनता साँध्ने अख्तियारको रणनीतिभित्र वाइडबडी जहाज पनि पर्‍यो ।

जो सुकै पर्यटनमन्त्री बनुन्, तिनको एकमात्र उद्देश्य हुन्छ, ‘नयाँ जहाज खरिद गर्नु ।’ 

जहाज खरिद भएपछि ती चलुन् या नचलुन्, कसैले जिम्मेवारी लिनुपर्दैन । चीनसँग खरिद गरिएका जहाजहरु थोरै उडानपछि थन्किनुको कारण खोतल्ने हो भने धेरै तथ्यहरु उजागर हुनेछ ।  यतिखेर कौडीको भाउमा लिलामी गरी नयाँ जहाज खरिद गर्ने धूनमा पर्यटन मन्त्री लागेकै छन् । 

चीनसँग खरिद जहाज किन चलेनन् भन्ने कसैले खोजी गरिएनन्, कामै नलाग्ने जहाज खरिदमा संलग्नहरुका सवालमा कतै छानबिनसमेत गरिएन । जहाज खरिद गर्ने प्रपञ्च मिलाउनै खातिर ‘आफ्ना मानिस’ या ‘मिलाउन सक्ने मानिस’लाई निगममा पुर्‍याइने खेल पनि निरन्तर छ । 

शासकीय वृत्तले ठानेको छ कि निगम भनेको चुस्ने संस्था हो । पञ्चायतकालमा दरबार र शक्तिशाली पात्रहरुले जहाज खरिदमा राम्रै कमिसन लिन्थे ।  बहुदलसँगै बहुदलवादी नेताहरुले पञ्चायतकालीन दरबारिया क्रियाकलाप बिर्साउन उद्यत छन् । अब पनि निगममा यस्तै हेलचेक्र्याइ र गैरजिम्मेवार क्रियाकलापमा रहन दिने कि सुधार गर्ने प्रश्न खडा भएको छ । 

अन्तर्राष्ट्रिय उडानका हकमा यो हदसम्म लापरवाही काम गर्नेहरुविरुद्ध छानबिन गरी कारबाही नगर्ने हो भने निगम कहिल्यै सुध्रिने छैन ।  त्यसकारण अन्तर्राष्ट्रिय उडान रद्दलाई ‘सामान्य घटना’का रुपमा मात्र सीमित राखिनु हुँदैन, भोलिका दिनमा यस्ता क्रियाकलाप दोहोरिन नदिन कारबाही प्रक्रिया प्रारम्भ हुनुपर्छ ।

 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro