स्टिफेन हकिङले भनेका छन्, ‘म कसैलाई पनि अमुक कुरामा विश्वास गर या नगर भन्न चाहन्नँ । तथापि, एउटा सवाल त हमेसा रहिरहनेछ कि के ईश्वरको अस्तित्व छ ? यो ब्रह्माण्ड कसले बनायो भन्ने प्रश्नभन्दा ब्रह्माण्ड विषयका आधारभूत कुरामा चर्चा गरियो भने वास्तविकताको नजिक पुग्न सकिन्छ ।’
उनले अगाडि भनेका छन्, ‘ब्रह्माण्ड एउटा नियममा चल्ने स्वस्फूर्त यन्त्र हो ।’ ब्रह्माण्डभित्रका सारा प्रणालीको एउटा ऋत र नियम छ । कसैले पनि छिसिक्क नियमको उल्लंघन गर्दैन ।
अब यहाँ प्रश्न उठ्छ, कि यो ब्रह्माण्ड बुझ्न कुनै ईश्वरको जरुरत छ ? हकिङले भनेका छन्, ‘शताब्दीयौँसम्म मजस्तो विकलांग हुनुमा ईश्वरको हात हुन्छ या ईश्वर रिसाएर श्राप दिनाले यस्तो हुन्छ भनेर विश्वास गरिन्थ्यो ।’
हामी दुई प्रकारका नियमले बाँधिएका छौँ । पहिलो हो, मनुष्यले निर्माण गरेको नियम र दोस्रो हो, प्रकृतिको नियम । मनुष्यले बनाएको नियम शाश्वत हुँदैन । त्यो परिवर्तन हुनसक्छ र भएको छ । मनुष्यले निर्माण गरेका कतिपय नियमहरू मूर्खतापूर्ण, निर्दयी एवं विभेदी थिए र छन्, जो समयक्रममा बदलिए र बदलिनेछन् ।
उननले अझै अगाडि भनेका छन्, ‘जब प्रकृतिको नियम अटल छ भने त्यसमा ईश्वरको के भूमिका होला ?’ यो एक सार्वकालीन प्रश्न हो । इतिहास साक्षी छ, यस्ता प्रश्न उठाउनेमाथि निर्ममतापूर्वक कारबाही पनि भयो ।
मानिसले निर्माण गरेका नियमहरू लगातार परिवर्तन भइरहेका छन् । तर, प्रकृतिको नियम त जस्ताको त्यस्तै रह्यो । धर्मले भन्यो– प्रकृतिको नियम पनि ईश्वरले बनाएको हो, उसले चाहे तोड्न पनि सक्छ ।
ग्यालिलियोको पालादेखि विज्ञान र धर्मको दूरी बढ्न थाल्यो । ग्यालिलियोले ‘पृथ्वी सूर्यको वरिपरि घुम्छ’ भन्दै पृथ्वीलाई सौरमण्डलको केन्द्र मान्ने परम्पराको खण्डन गरे । त्यसो भनेबापत उनलाई माफी माग्न बाध्य पारियो ।
मृत्युदण्डबाट जोगिन उनले माफी त मागे, तर मसिनो स्वरमा फेरि पनि भनेका थिए– तर, पृथ्वी घुम्छ ।
हकिङ सम्पूर्ण रूपमा अपांग थिए । उनले आफ्ना सारा भनाइ एक यन्त्रको माध्यमबाट व्यक्त गर्दथे । उनी भन्दथे, ‘आफ्ना पैतालातिर होइन, अनन्त आकाशमा चम्कने तारातर्फ नियालेर हेर । कर्म गर्न कहिल्यै नछाड । कर्मले नै जीवनको अर्थ र उद्देश्य प्रमाणित हुन्छ । कर्मबिनाको जीवन नीरस, रित्तो र बेस्वादिलो हुन्छ । मनुष्य हुनुको गौरव नै सच्चाइपूर्ण जीवन जिउनुमा छ । जीवन जति नै कठिन र संघर्षमय किन नहोस्, गर्न सकिने र सफलता हासिल हुने केही न केही कुरा अवश्य छ ।’
सारा जगत्का विकलांगहरूका लागि स्टिफेन हकिङ प्रेरणाका अजस्र स्रोत हुन् ।
यदि, तपाईं ईश्वरमा विश्वास गर्नुहुन्छ भने निस्फिक्री गर्नुहोस् । यसबाट विज्ञान र वैज्ञानिकको कार्यमा कुनै फरक पर्दैन । ब्रह्माण्डलाई नै ईश्वरको रूपमा मान्न पनि सकिन्छ । विज्ञानले प्रत्येक कुराको निर्धारण तथ्य र तर्कका आधारमा गर्दछ ।
विज्ञानको आस्था, निष्ठा र पूर्वाग्रह हुँदैन । परन्तु, धर्मको निष्ठा, आस्था, भावना, मर्यादा र मान्यता हुन्छ । दुर्भाग्यवश मनुष्यले अनेकौँ ईश्वरको रचना गरेको छ । आफ्नो ईश्वर मात्र सच्चा हो र अरूले कल्पना गरेको ईश्वर फजुल हो भन्ने मान्यता छ । परधर्म मान्नेहरूप्रति घृणा, तिरस्कार र हिंसाले भरिएको छ मानव इतिहास । र, भविष्यमा पनि यसबाट मुक्त हुन अत्यन्तै कठिन देखिन्छ ।
धर्ममा संस्कार, संस्कृति, पूर्वजको सम्मान, साम्प्रदायिक गौरव, इतिहास र परम्परा हुन्छ । तपाईंलाई ईश्वरको उपासना र पूजाबाट सन्तोष प्राप्त हुन्छ ? हुन्छ भने राम्रो हो । आफ्नो परम्परा र संस्कृतिको सम्यक् र तार्किक तरिकाले पालना गर्नु असल कुरा हो ।
ईश्वर उपासनाकै माध्यमले आरोग्य, सरसफाइ, सच्चाइ, करुणा, परोपकार र कर्मशीलताको विकास हुन्छ भने राम्रो हो । ईश्वरको प्रार्थनाले आत्मगौरव र निराभिमान हुन्छ भने झनै राम्रो कुरा हो । परन्तु, कृपया होसियार हुनुहोस् ! अन्धविश्वासले उन्नतिमा लैजान सक्दैन ।
आफ्नो अपूर्णताको व्यवस्थापन गर्न ईश्वरको अर्चना नै सही मार्ग हो भन्ने लाग्छ भने राम्रो कुरा हो । जसमा ज्ञान, विवेक, परोपकार, करुणा र जीवनप्रति आस्था छ, ऊ त ईश्वर नमाने पनि ऐश्वर्यपूर्ण छ । जसलाई तत्त्वको ज्ञान छ, जो आत्मज्ञानी छ, जसले जीवन, जगत् र स्वयंलाई चिनेको छ, उसले त केही गर्न बाँकी नै छैन ।
ईश्वर आफैँमा भरिभराउ र पर्याप्त छ । तपाईंले केही दिए पनि ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये’ भन्दै ईश्वरको सम्पत्ति ईश्वरलाई नै नैवेद्यस्वरूप चढाउने मात्र हो ।
आफैँमा पूर्ण ईश्वरलाई केही कुराको अपेक्षा हुने कुरा पनि भएन । वृहदारण्यक उपनिषद् भन्दछ–
‘ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।’
ईश्वरलाई कसैको निहोरा, चाकरी, दासता, वात्स्यल्य, मधुरता, प्रेमका दुई थोपा आँसु र माधुर्यको दरकार छैन । ईश्वरको दरकार त मनुष्यलाई छ, किनकि ऊ अपूर्ण र भ्रमित छ । त्यसैले अमूर्त या मूर्त ईश्वरको उपासनाबाट जीवनको मार्ग कर्मण्यता, सहजता र सदाचारतर्फ मोडिन्छ भने अत्यन्त राम्रो कुरा हो ।
मनुष्य अपूर्ण छ । त्यही अपूर्णताबीच ऊ बाठो पनि बनिदिन्छ । आफ्नो हिसाबकिताबमा भगवान्को भक्त पनि चनाखो हुन्छ । दूधमा माखो परे दूध फाल्छ, घिउमा माखो परे माखो फाल्छ । यदि, लक्ष्मीपूजामा चढाएको सुन लक्ष्मीले नै लैजाने भए ? के गर्ने थियौँ होला हामी ?
ईश्वरका नाममा अर्पण गरे तापनि पुरोहितले लैजाने वस्त्र, अन्न र द्रव्य कस्तो र कति मात्रामा चढाउँछौँ हामी ? हाम्रो छुच्याइँ र तुच्छता चिनेरै पूजा सामग्री र दान गर्ने सामान बेच्ने पसल खुलेका होइनन् र ?
कोही इष्टदेवको नाम लिँदै भूत भगाउन दोबाटोमा बिहानै जल छर्छ । ऊ त्यसमा अभ्यस्त मात्र होइन, विश्वस्त पनि छ । उसलाई सम्झाउन कठिन छ । वञ्चक प्रवृत्तिका र अन्धविश्वास फैलाउने कुरा गरेर भुलभुलैया खडा गर्न माहिर पण्डितहरूको प्रवचनमा रमाउने मानिसको ठूलो संख्या छ यहाँ ।
ऊ भन्छ, ‘अमुक रङको वस्त्र भगवान्लाई मन पर्छ, फलानो पकवान हनुमान वा बालगोपाललाई मन पर्छ ।’
ऊ भनिदिन्छ, ‘पूर्वतिर फर्केर अक्षता फाल्नू, कल्याण हुनेछ !’ भक्त पत्याउँछ । त्यस्तो भक्त पढेलेखेको मानिस पनि हुनसक्छ । उसलाई सम्झाउनु खतरा मोल्नुसरह हुनेछ । उसले आफंँ हैरान नहुँदासम्म त्यो खुराफात गरिरहनेछ ।
अज्ञात अनिष्टको कल्पनामा डराउने मन्द बुद्धिहरूलाई शनि, मंगल, बोक्सी, भूत, प्रेत, डाकिनी, साकिनी र रिसानीको भय देखाएर अनेकौँ बाबाहरूले ठगिरहेका छन् । समाजले बुद्धिमान मानेका किन्तु स्वयं प्रज्ञाको अभाव भएका पठित मूर्खहरूलाई झनै मूर्ख बनाउन खपिस हुन्छन् बाबाहरू । समाजलाई सामूहिक मूर्खतामा डोर्याउनेहरूको ठूलो नाम र यश छ । यस्तो प्रवृत्ति झन्डै विश्वभरि छ र दुर्भाग्यवश हाम्रै देश र छिमेकमा अझै सघन रूपमा व्याप्त छ ।
जीवन के हो ? जड वस्तुबाट बनेको चेतन मस्तिष्कयुक्त शरीर । हाम्रो शरीर केवल जैविक यन्त्र हो, तर यसमा जीवन्त चेतन तत्त्व छ । यो मासु, मज्जा र हड्डीले बनेको शरीरमा चैतन्यको दीपक बल्नु अद्भुत कुरा हो ।
हाम्रो चेतना हाम्रो मस्तिष्कको देन हो । मस्तिष्क ब्रह्माण्डजस्तै हो । यसले पनि ब्रह्माण्डीय पिण्डले झैँ विद्युत् चुम्बकीय तरिकाले काम गर्छ । दिमागले सूचनालाई प्रशोधन गर्छ, योजना बनाउँछ र विवेकको प्रयोग गर्छ । भौतिक शरीर त एक जैविक संरचना मात्र हो, तर आश्चर्य, यो सोच्छ !
हाम्रो सत्य हाम्रो दृष्टिकोणमा निर्भर छ । जतिवटा जैविक संरचना, त्यति नै सोच । सोचाइ फरक हुन्छ, किनकि प्रत्येक व्यक्तिलाई सोच्न सघाउने फिजिक्स फरक छ । ज्ञानेन्द्रियको देख्ने, सुँघ्ने, चाख्ने, छुने र सुन्ने सीमा छ ।
हामी जे देख्छौँ र सुन्छौँ त्यही नै सत्य मान्छौँ । मनुष्यले आफूले पाउने स्वादको आधारमा त्यसको संख्या निर्धारण गर्यो । हामी गुलियो, अमिलो, तितो र टर्रो आदि स्वादको कुरा गर्छौँ, किनकि हामीलाई त्यत्ति मात्र थाहा छ ।
हामीले आफूले देख्ने रङका आधारमा नाम र संख्या तोकेका छौँ । हामीले देख्ने र पशुले देख्ने दृश्य र आयाममा फरक छ । उनीहरूले सायद भिन्न स्वरूपमा देख्छन् र स्वाद लिन्छन्, तर हामीले झैँ व्यक्त गर्न सक्दैनन् ।
कसैको मुटु बलियो हुन्छ । रक्तनलीहरू सुविधाजनक हुन्छन् । कसैको बज्रसमान ज्यान हुन्छ । जे खाए पनि पच्छ । कसैले कनीकनी अड्कलेर खानुपर्छ । प्रारब्ध नै कमजोर हुनेले अरूको रिस गरेर भाग्य सप्रने होइन । आफ्नो परिस्थितिलाई स्वीकार गरेर परहेज गर्नुपर्यो ।
शरीर नै कमजोर लिएर आएपछि सहनुपर्यो । एउटा ढोका बन्द भयो त भयो, अरू हजार ढोका स्वागतमा तत्पर छन् भन्ने कुरा मनन गर्नुपर्यो । कमजोरीलाई शक्तिमा बदल्न परिश्रमका साथै योगाभ्यास, ध्यान र उपासना जेमा विश्वास छ, गर्नुपर्यो ।
सांख्य दर्शनले जीवनका आधिदैविक, आधिभौतिक र आध्यात्मिक गरी तीन किसिमका दुःखको परिकल्पना गरेको छ । जन्मँदा नै कमजोर स्वास्थ्य प्राप्त हुनु आधिदैविक दुःख हो । कमजोर मस्तिष्क, भग्न या अधुरा इन्द्रिय, कमजोर मुटु र कमजोर पाचनप्रणाली लिएर जन्मनु पनि आधिदैविक दुःख हो ।
कहिले अतिवृष्टि त कहिले अनावृष्टि भइदिन्छ । कहिले पाकेको बाली असिनाले सखाप पारिदिन्छ । कहिले चट्याङ परेर नोक्सान गरिदिन्छ । कहिले भूकम्प जान्छ । कहिले महामारी र विपत्तिका कारण विवश र लाचार हुनुपर्छ ।
दरिद्र परिवार या दासत्वमा जन्मनेले अरूले भन्दा ज्यादा परिश्रम गर्नुपर्छ । दलन र अपमान भोग्नुपर्छ । निरन्तर संघर्षमा बित्छ जीवन । प्रतिभा प्रस्फुटनको मौका पाउन गाह्रो हुन्छ । गलत भूगोल, गलत राजनीति र गलत शासक भएको देशमा जन्म हुनु पनि आधिदैविक दुःख हो । धार्मिक कट्टरतावाद र चरम जातीय या लैंगिक विभेद हुने देशमा जन्म हुनु पनि दुःख हो ।
सबै कुरा राम्रोसँग चलिरहेको छ । समाज, कुटुम्ब र परिवार सबै ठिकठाक र सन्तोषजनक छन् । परन्तु, अनायास दुर्घटनामा परियो । कुनै पशु या गुन्डाको आक्रमणमा परियो । अचानक शरीरमा असाध्य रोग लाग्यो । यस्ता घटनाबाट हुने दुःख आधिभौतिक दुःख हो । शरीरले भोग्नुपर्ने तमाम दुःख र दर्दहरू आधिभौतिक दुःख हुन् ।
अरूको उन्नति देख्दा मनै खिन्न हुन्छ । चित्त सधैँ उद्विग्न र अशान्त रहन्छ । प्रतिभा भएर पनि मौका नमिल्दा हृदय द्रवीभूत भएर रुन्छ । विभेद र वञ्चनामा पर्नाले मानसिक दिग्दारी र पीडा हुन्छ । अन्तःकरणको कुनै कन्दरामा लुकेर सताइरहने आन्तरिक दर्द हो, आध्यात्मिक दुःख ।
ईष्या, द्वेष, लोभ, मोह र क्लेशले चयनसँग बस्नै दिँदैन । सँगै काम गर्ने युवती सुन्दर छे, तर आफू भने कुरूप परियो । छिमेकीका छोराछोरी कति सज्जन, आफ्ना भने कति दुर्जन !
सँगसँगै काम गर्ने मित्रले महँगो गाडी किन्यो । त्यत्रो पैसा कहाँबाट ल्यायो ? पारिवारिक कलह, व्यापारमा घाटा, असफल प्रेम र विफल यौनसम्बन्धले दिने पीडा पनि आध्यात्मिक दुःख हुन् ।
मुक्तिको उपाय एउटै छ । त्यो हो, अपेक्षालाई काबुमा राख्नु र आफ्नो जीवनलाई अरूसँग तुलना गर्न छाडिदिनु । अचेतनले हँसमुख हुनभन्दा ‘डिप्रेस’ हुनमा सजिलो मान्छ । आध्यात्मिक दुःखले सबैलाई पिरोल्छ । परन्तु, आलसी, विलासी र भोगीलाई बढी नै सताउँछ ।
भनिन्छ– जहाँ विज्ञान असफल हुन्छ, त्यहीँ नै ईश्वरको प्रारम्भ हुन्छ । जब विज्ञानले लाचार भएर भनिदिन्छ, ‘नो बडी नोज’, त्यहीँ ईश्वरको आरम्भ हुन्छ । जब कोही चरम पीडा र दर्दमा आहत भएर ‘हे जगदीश्वर’ भन्दै चीत्कारमय पुकारा गर्दछ, त्यहीँ ईश्वरको सुरुआत हुन्छ ।
हामीलाई जे थाहा छ, त्यो विज्ञान हो र जे थाहा छैन, त्यही नै ईश्वर । कुनै कुरा अज्ञात हुँदासम्म त्यो ईश्वर हुन्छ, ज्ञात भएपश्चात् त्यो हदसम्म ईश्वरको समाप्ति हुन्छ ।
केही दशकअघिसम्म बिफरको महामारीलाई ‘माई आउनु’ भनिन्थ्यो । देवी शीतलाको कोपका कारण बिफर आउने विश्वासमा उनको निकै अर्चना र मनिता हुन्थ्यो । अहिले पनि शीतला देवीका मन्दिर त छन्, तर मानिसका लागि उनी भयावह छैनन् ! शीतला माता भयावह रहिनन्, किनकि विज्ञानले बिफरलाई अस्तित्वहीन बनाइदियो ! तथापि, मनुष्यले नजानेका कुराको सीमा छैन, त्यसैले ईश्वरको पनि सीमा छैन ।
रेने देकार्तले उसै बखत भनेका थिए, ‘म छु, किनकि म सोच्छु ।’ मान्छेको मुख्य उपलब्धि नै सोच्ने शक्ति हो र समृद्धि एवं दुःखको कारण पनि त्यही शक्ति नै हो । सोच्ने शक्तिले मनुष्यलाई स्वाभिमानी बनाउँछ । स्वाभिमानी मान्छेले कसैले हेला गरेर दिएको कुरो खाँदैन । तर, कुकुरलाई रगत आउन्जेल हानेर एउटा टुक्रो मासु देखाउनुहोस्, लुरुक्क आउँछ । कुनै मानिस यदि त्यस्तै एक गाँसका लागि लुरुक्क हुने स्वभावको छ भने त्यो उसको ‘स्वान प्रवृत्ति’ हो ।
एउटा संयोगले यस दुनियाँमा मनुष्य जुनी पाइएको हो । बडो विडम्बनाको कुरा छ कि संसारको कतिपय भागमा कठोर शासनसत्ता र संस्कृतिका कारण दमन, दलन, वञ्चना र विभेदको भुमरीमा पिल्सिन विवश छन् मानिसहरू । कतै सापेक्ष रूपमा सचेत हुँदाहुँदै पनि तमाम महिलाहरू शोषण र उत्पीडनमा परेका छन् । कतै हतभागी मानिसहरू शासन र सत्ताको क्रूरताका कारण पशुवत् जीवन जिउन बाध्य छन् र त्यसैलाई भाग्य सम्झेर सत्ताको गुणगान गर्न लाचार छन् ।
सन्तान, दरसन्तान हुँदै लगातार एउटा मात्र पाठ पढाउँदै गएपछि त्यही नै मनुष्यको मस्तिष्कमा संस्कार बन्दो रहेछ । मनुष्य जे प्राप्त छ, त्यसैलाई सौभाग्य ठानेर खुसी हुन थाल्दो रहेछ । सुरुको विवशता अभ्यासको माध्यमले पछि गएर संस्कृतिमा परिणत हुँदो रहेछ ।
मनुष्य विचारशील प्राणी हो, परन्तु धर्म, राजनीति र संस्कारले उसको स्वतन्त्रतापूर्वक विचार गर्ने अधिकार खोसेर विचारधाराको दास बनाएको छ । दार्शनिक नित्से बनिबनाउ आस्था या विचारधारालाई ‘सत्य थाहा पाउने जिज्ञासाको समाप्ति’ मान्दछन् ।
उनको विचारमा यस दुनियाँमा दुई किसिमका मानिस छन् । एकथरी मानिस, जो जान्न चाहन्छन् र अर्काथरी, जो सच्चाई जान्न चाहन्छन् । हमेसा धार्मिक कट्टरताका कुरा गर्ने र समुदायमा आपसी घृणा फैलाउने मानिस जस्तो अधार्मिक अर्को कोही हुँदैन ।
कहिलेकाहीँ भक्त र बाबाको सम्बन्ध प्रहरी र पक्राउमा परी हिरासतमा थुनिएको बन्दीबीचको जस्तै हुन्छ । भक्तलाई बाबाले तथानाम हप्काइरहेको हुन्छ । बबुरो भक्त एउटा दोषीझैँ चुपचाप शिर झुकाइरहेको हुन्छ । ऊ उकुसमुकुसमा त हुन्छ, तर भाग्न समेत सक्दैन । बाबा अविरल भक्तको भीरुताको फाइदा उठाइरहन्छ ।
मानवलाई भौतिक उन्नतिले अत्यन्तै धेरै सुविधा र सुबिस्ता दिएको छ । तर, त्यसले स्थायी शान्ति र मनको चयन दिन सकेन । भौतिक प्रगतिले निरन्तर अरू प्रगति मागिरहन्छ । भौतिक समृद्धिको कुनै सीमा पनि छैन । उही किसिमको भौतिक सुख–सुविधामा मानिसलाई पट्यार लाग्न थाल्छ । हैरानी हुन्छ र सारा वैभव र सुविधाहरूबाट वाक्क लाग्न थाल्छ ।
अनि त कोही नदीतिर, कोही हिमालतिर, कोही कन्दरातिर र कोही नग्न भएर प्रकृतिस्थ हुने असफल चेष्टातिर प्रवृत्त हुन थाल्छन् । कोही दानपुण्यतिर, कोही जुवातिर, कोही लागुऔषधतिर र विडम्बना, कोही आत्महत्यातिर दगुर्न थाल्छन् ।
यी विभिन्न दुःखदायी चेष्टाले भन्दा मनुष्यलाई ईश्वरीय आराधना, योग र सत्सङले अपेक्षाकृत लामो समयसम्म सन्तुष्ट पार्न सकेको देखिएको छ । उद्विग्न र व्याकुल मनलाई धर्मको अनुसरणले केही न केही शान्ति अवश्य दिन्छ ।
आह्वान– विवेकी बनौँ । सच्चाइमा जिऔँ । करुणाशील र परोपकारी बनौँ । परिश्रमी बनौँ र श्रमको सम्मान गरौँ । आफ्नो बुद्धिलाई सम्यक् र समुचित कुरामा प्रयोग गरौँ । अन्धविश्वासमा नफसौँ । छुवाछूत र जातीय विभेदजस्ता अमानवीय प्रवृत्तिलाई प्रश्रय नदिऔँ !
‘वाणी नै मोहनी वाणी नै फसाद’ भन्ने उक्तिलाई ध्यानमा राखौँ । सुपाच्य र स्वस्थकर भोजन गरौँ । योगाभ्यास गरौँ । सिकायत होइन, समाधान खोजौँ । अनावश्यक र अतार्किक बहसमा सामय खेर नफालौँ । सम्पत्ति, शिक्षा र सुन्दरताको अभिमान नगरौँ । राम्ररी सुनौँ र आवश्यक परे मात्र बोलौँ ।
याद राखौँ, इमानदारी नै अनिद्राको औषधि हो ! आफ्नो दीपक आफैँ बनौँ । जीवनलाई सम्मान गराैँ । अप्प दीपो भव !