site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
संवेदनाको मिठो धुन
Sarbottam CementSarbottam Cement

‘संवेदनाको समायोग’ लिएर नेपाली साहित्य आकाशमा उदाएकी ज्ञानु अधिकारीका निबन्धमा संवेदनाको महासागर छ ।

‘संवेदनाको समायोग’भित्र गोता लगाउँदा एक प्रबुद्ध आत्माको तडप भेटिन्छ । संवेदनालाई अनुभूत गर्न सक्ने मातृत्वले भरिएको उच्च चेतना पनि छताछुल्ल बगेको छ । किशोरकालीन समयमा आमाका वेदना, भावना, समस्या, सम्झौता, चुनौती र पीडालाई महसुस गरेर आमाको छातीमा मडारिएको त्यो अव्यक्त तर हृदयविदारक तुफान देख्न सक्ने सम्यक् दृष्टि भएकी किशोरीसँग मेरो परिचय भयो अक्षरमार्फत ।

यो कृतिमा सचेतनाको ज्वाला छ । अस्तित्वको खोज छ । म को हुँ भन्ने यस युगकै विराट प्रश्नलाई उठाइएको छ । स्वाभिमान, स्वावलम्बी र स्वपहिचानको भोक जागाउने शब्दहरूको समभाव छ । अझ खुलेर भन्नुपर्दा ‘असतो मा सद्गमय’को विज्ञान छ । ‘तमसो मा ज्योतिर्गमय’को नाद छ । ‘मृत्योर्मामृतं गमय’को ऊर्जा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अधिकारीका निबन्धले छुट्टाछुट्टै खण्डमा बैग्लाबेग्लै विषयको गहनता बोकेको छ । सम्यक् र असम्यक् स्पर्शलाई महसुस गर्न सक्ने चेतनशील हृदयको अभिव्यक्ति छ । ज्ञान, विज्ञान, दर्शन, भूगोल, चेतना र शिक्षाका पाटाहरूमा निर्बन्ध भएर ज्ञानु अधिकारी छताछुल्ल पोखिएकी छन् । संवेदित मस्तिष्कबाट कलममा मसी भरिएको छ ।

कृतिकारले राष्ट्रियता, मातृत्व र वैदेशीक रोजगारीलाई पनि स्पर्श गरेकी छन् । सुन्दर भविष्यको सपना देखेर विदेशी भूमिमा पसिना बगाउन विवश अभिभावकहरूले आफ्ना मुटुका टुक्राजस्ता सन्तानलाई नेपालमा छोड्नुपरेको दृश्य विभिन्न कोणबाट हेरेकी छन् ।

Global Ime bank

फुस्रो आधुनिकता र झुटो सम्पन्नताले सिर्जना गरेको नौलो संस्कृतिप्रति गम्भीर भएर निबन्धकार सोच्न पुगेकी छन् । स्वपहिचान, स्वावलम्बन, स्वाधीनता र स्वनिर्णयको बोध गराउन निबन्धकारले बढो मिहिनत गरेकी छन् ।

स्वतन्त्रता र स्वच्छन्दताको मूल मर्मलाई प्रस्ट्याउँदै नारीवादको गलत अर्थ लगाउनेलाई व्यंग्यात्मक प्रश्न तेर्स्याएकी छन् । आफूभित्र आफू हराउनुको पीडालाई अनुभूत गर्दै आफैँले आफैँलाई माया, प्रेम, सहयोग र स्याबासी दिन बिर्सिएका मानव हृदयहरूलाई जगाउने कोसिस गरेकी छन् ।

पितृसत्तामा पिल्सिएका नारीहरूको चेतनालाई चहकिलो पार्न कृतिभित्रका निबन्धहरू साँच्चै भन्ने हो भने दीपशिखा भएर आएका छन् । सही र गलत छुट्ट्याउन नसकेर चेतनाशून्य भएर बसेका नारीहरूमा प्रकाशको झिल्को बाल्न सक्ने शब्दहरूको जुलुस निकाल्न सफल भएकी छन्, निबन्धकार ।

यो संग्र्रहमा शोषण र दमनका कुरा पनि आएका छन् । पहिचानको प्यास, अस्तित्वको खोज र स्वतन्त्रताको सुखानुभूति पढ्दै गर्दा मेरो मन छमछमी नाच्न थाल्यो ।

पहिलो खण्ड ‘असम्यक् स्पर्श’मा चेतना, चिन्ता, चुनौती र चिनारीका सपाट चित्रहरू चित्रित छन् । यस खण्डमा दुईवटा बडो महत्त्वपूर्ण प्रश्नहरूको उठान गरिएको छ । ‘के म सफल आमा बन्न सकेँ ?’ र ‘के नारीवादीहरूले पुरुषलाई ईष्र्या गर्छन् ?’

पहिलो प्रश्नमा कामकाजी महिलाहरूले दूधे सन्तानलाई समय दिन नसकेको व्यथाले हृदय छटपटियो । निबन्ध पढ्दै गर्दा बालमैत्री कार्यालय नभएको पीडा बोध भयो । यो निबन्धमा आमा र बच्चाको मनोभावले हिरिक्क पार्दै लग्यो । आत्मनिर्भर भएर नारीले बाँच्न कति संघर्ष गर्नुपरेको छ भन्ने पक्षलाई निबन्धकारले स्पष्ट देखाएकी छन् ।

कामकाजी नारीले मातृत्वजस्तो संवेदनशील पाटोमा कर्तव्यको ताल्चा लगाउन विवश भएको कारुणिक दृश्य हेरेर म पनि निकै संवेदित भएँ । मातृत्वका मर्मस्पर्शी भावनाको कारुणिक दृश्यलाई जीवन्त तरिकाले देखाउन सफल छ, निबन्ध । संवेदित आँखाबाट यी निबन्ध पढ्दा प्रत्येक पाठकका आँखामा संवेदनाका आँसु पक्कै ओर्लिन्छ ।

अर्को प्रश्नमा निबन्धकारले नारीवादलाई हाम्रो समाजले कसरी हेर्छ भन्ने कुरालाई देखाउन खोज्नुभएको छ । के हो नारीको संवेदना ? आखिर के हो नारी स्वतन्त्रता ? कुन पाटोले नारीको भावनामा प्रहार गर्दै आएको छ ? कस्ताकस्ता असम्यक् स्पर्शले नारीलाई मर्मान्तक बनाएको छ ?

कस्ताकस्ता व्यवहारले नारीलाई दोस्रो दर्जाको मान्छे हो भन्ने गलत व्याख्या गरिदिएको छ ? कस्तो सत्ताले नारी स्वतन्त्रतालाई डरलाग्दो हौवा दिएको छ ? अस्तित्व र स्वपहिचानका चुनौती के कसरी झांगिएका हुन् ? नारीवादको हाउगुजी वास्तविक भएको परिकल्पना गरेर गजबको पटाक्षेप गरिएको छ ।

महिला भएकै कारण भोग्नु रेको विभेदको डरलाग्दो यथार्थ अधिकारीका निबन्धमा देखेँ । शब्द, अक्षर र वाक्यहरूमा अधिकारीका प्राज्ञिक खुराक मज्जाले पाउन सकिन्छ । यस खण्डमा निकै स्वादिला र चोटिला निबन्धहरू राम्रोसँग आएको अनुभूत गरेकी छु ।

‘कीर्तिपुर डायरी’खण्डमा भूगोलको भाव भर्भराएर उठेको छ । निबन्धकार ‘देशभित्रको एउटा डायस्पोरा’मा कीर्तिपुरमा डेरा लिएर पढ्न बस्ने छात्रछात्राको भावनामा पस्न पुगेकी छन् । छातीमा आफ्नो गाउँघर बोकेर, आँखामा आमाको माया सजाएर देशका कुनाकाप्चाबाट आएका भाइबहिनीहरूको उकुसमुकुसलाई कति मज्जाले अनुभव गरेर लेखेको होला भन्ने लागेर निकै बेर निबन्धकारलाई सम्झिन पुगेँ ।

त्रिभुवन विश्वविद्यालयलाई निबन्धकार सरोगेट मदरसँग तुलना गर्दै संवेदित बनेकी छन् । आफ्नै सन्तानले जन्मिएपछि आफ्नी आमालाई बेवास्ता गरेर छोडेर गएको नमिठो पीडालाई सात्क्षाकार गर्दै मर्माहत भएकी छन् । आमामाथिको गैरजिम्मेवारीले आक्रान्त बनायो मलाई पनि ।

पैसा कमाउन विदेश गएका सन्तान मामासँग बसेर चिउरा र दालमोठ चपाउँदै छन् । ससाना नानीहरूको अभिभावकसँगको दूरीले निबन्धकारलाई व्याकुल बनाउँछ ।

‘भावका अनुगुञ्जन’खण्डमा प्रज्ञाले लुछुप्प भिजेका निबन्धहरू छन् । यहाँ समाविष्ट निबन्ध पढ्दै जाँदा निबन्धकारको छैटौँ इन्द्रिय जागृत भएको आभास हुँदै गयो । चैतन्य, दर्शन बोकेका निबन्धहरूले निनाद गरिरहेका गुञ्जन मेरो हृदयमा उठिरह्यो ।

‘तिम्रो प्रेममा म’ शीर्षकभित्र गोता लगाउँदा मेरो मन निकै रमायो । निबन्धकार निबन्धमा यसरी पोखिएकी छन्, “...तिमीले व्यापार व्यवसायको कुरा गरिरहँदा म विश्वमा घट्दै गएको मानवीय संवेदनाको कुरा जोड्थेँ होला । तिमी प्रतिस्पर्धाको बाटामा दौडिरहँदा म जीवनको निस्सारता र क्षणभंगुरताको कुरा गरेर अल्मल्याइदिन्थेँ होला । तिमीले आफ्नो बैंक ब्यालेन्सको हिसाब गर्दै गर्दा म कुनै किताबको अद्भुत पात्रसँग हुन्थेँ होला...।” त्यो उमेरमा पनि निबन्धकारले मान्छेलाई परख गर्न सकेको प्रसंगले म मोहित भएँ ।

निबन्धकारको क्षितिजपारिसम्म हेर्न सक्ने दृष्टिलाई नमन गरेँ । ‘सौन्दर्यबोधमा’ पनि निबन्धकारको प्रज्ञा ओतप्रोत झल्किएको छ । निबन्धकारलाई दर्शनले आलोकित पारेको स्पष्ट देखिन्छ ।

यो खण्डमा निबन्धको पृथकता भेटिन्छ । घरी बुवालाई सम्झिएर निबन्धकारका आँसु बग्छन् त घरी फरक सत्यसँग साक्षात्कार गर्न पुग्छिन् ।

‘छोडेर आएका पाइलाहरू’खण्डमा संस्मरणहरू ताजा भएर आउँदा निबन्धमा दृश्यात्मकता छरपष्ट भएका छन् । यहाँ ‘हुने बिरुबाको चिल्लो पात’ मज्जाले देखिएको छ ।

‘आँसु र पसिनाले लेखेको कथा’ निबन्धमा साँच्चै मुटु चुँडाल्ने कथा छ ।

‘सीमाभन्दा पर फैलँदै’ शीर्षकखण्डमा यात्रा निबन्ध समेटिएका छन् । टिस्टामा पुगेर टिस्टालाई हेर्ने दृष्टि निकै संमवेदित छ । समुद्रलाई भेट्दा निबन्धकारको हृदयमा बेजोडको अनुभूति जागृत हुन्छ र समुद्रलाई सम्बोधन गरेर चिठी नै कोर्न पुग्छिन् ।

अझ ‘रमाइलोको परिभाषा’ पढ्दा म पनि निकै बेर सोचमग्न भएँ । के साँच्चै हाम्रो संवेदना मरिसक्यो ? किन हामी आफ्नो मर्यादामा बस्न सक्दैनौँ ? प्राज्ञिक व्यक्तिहरूको चेतना खोइ कता हराउँदै छ ?

‘शब्द र अक्षरहरूमा’ शीर्षकखण्डले मलाई निकै छोयो । पठन भन्ने कुरा त तपस्या पो रहेछ ! पढ्नका लागि मात्र पढाइ होइन रहेछ ।

‘विमोचनको अनुष्ठान’ पढ्दा म झसंगै भएँ । यस्तो पनि हुन्छ र ? भन्ने लाग्यो ।

सात खण्डमा विभक्त निबन्धहरू इन्द्रेणीका सातै रङले सुशोभित तुल्याएको महसुस गरेँ । यो निबन्धसंग्र्रह पढ्दै जाँदा मैले निबन्ध लेख्ने तरिका पनि सिक्दै गएँ । निबन्ध लेख्न मन लाग्ने साहित्यप्रेमीलाई यो कृति अध्ययन सामग्री हुने पक्का छ ।

सरल भाषा, सुललित शब्द र सरस विम्बले पाठकलाई अन्त्यसम्म बाँधेर राख्न सफल छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement