
काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका लागि ‘सहयोगको एउटा ठूलो नयाँ प्याकेज’को शुभारम्भ गर्ने भएका छन् । यस आर्थिक वर्षका लागि सैन्य सहयोग २.५ अर्ब पाउन्ड (३.२ अर्ब डलर) पुर्याउन शुक्रबार किभको भ्रमण गर्ने उनको कार्यालयले जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ‘ऐतिहासिक’ सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । विज्ञप्तिमा भनिएको छ, “यो २० करोड पाउन्डको वृद्धि हो र यसले ड्रोनको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबद्धता सुनिश्चित गर्नेछ ।”
सुनकको डाउनिङ स्ट्रिट कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो टोटेमिक एग्रिमेन्ट दुई देशबीचको अविचलित सय वर्षे साझेदारीको दिशामा पहिलो कदम हुनुपर्छ ।”
यो अतिरिक्त रकम लामो दूरीका क्षेप्यास्त्र, हवाई प्रतिरक्षा, तोपखाना गोलाबारुद र सामुद्रिक सुरक्षालगायत क्षेत्रमा लक्षित हुनेछ ।
यसमध्ये कम्तीमा २० करोड पाउन्ड ‘युक्रेनका लागि निगरानी, लामो दूरीको आक्रमण र समुद्री ड्रोनसहित हजारौं सैन्य ड्रोनहरू द्रुत रूपमा खरिद र उत्पादन गर्न’ खर्च गरिनेछ ।
सुनकले रूसी हवाई आक्रमणपछि प्रतिक्रिया दिइरहेका आपतकालीन कर्मचारीलाई पनि भेट्ने कार्यक्रम छ ।
“दुई वर्षदेखि युक्रेनले क्रूर रुसी आक्रमणलाई प्रतिकार गर्न ठूलो साहसका साथ लडेको छ,” सुनकले भने, “उनीहरू अझै पनि लडिरहेका छन्, आफ्नो देशको रक्षा गर्ने र स्वतन्त्रता र लोकतन्त्रका सिद्धान्तहरूको रक्षा गर्ने आफ्नो अठोटमा अडिग छन् ।”