काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न समिति गठन गरेकाे छ । मंगलबार साँझ बसेको गठबन्धन बैठकले चार दलबाट एक–एक नेता रहने गरी समिति बनाएकाे हाे ।
जसमा नेपाली कांग्रेसका प्रमुख सचेतम रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिष सुमन छन् ।
समितिले निर्वाचन परिणाममुखी बनाउन सबैसँग छलफल गर्ने जसपाका प्रवक्ता सुमनले जानकारी दिए । समितिकाे पहिलाे बैठक बुधबार (भाेलि) दिउँसाे २ बजे सिंहदरबार बस्ने उनले बताए ।
सत्ता गठबन्धनले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १९ जना उमेदवार उठाएकाे छ । जसमा कांग्रेसबाट १०, माओवादी ६, एकीकृत समाजवादी दुई र जसपाबाट एकजना छन् ।