काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयनप्रति विमति जनाएको छ ।
सिंहदरबारमा मंगलबार बसेको रास्वपा सचिवालय बैठकले संविधानको मर्मविपरीत दलीय भागबन्डामा राष्ट्रियसभा निर्वाचनमा दलहरूले उमेदवार उठाएको निष्कर्ष निकालेको हो ।
बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संविधानको कल्पना अनुसारको राष्ट्रियसभा हुन नसकेको र सत्ता बाँडफाँटमा केन्द्रित भएकाले पार्टीको विमति रहेको बताए ।
राष्ट्रियसभालाई दलीय भागबन्डामा केन्द्रित गर्दा लोकतन्त्र नै कमजोर हुने रास्वपाको तर्क छ ।
बैठकले पार्टी सदस्यता शुल्क निर्धारण गरेको, ऊर्जा नीति कार्यदल, सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको परियारले बताए ।
सचिवालय बैठकले पार्टीको निर्वाचन आयोगमा सदस्य थप गर्ने निर्णय पनि गरेको छ ।