काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उमेदवार चयनका लागि बोलाइएको संसदीय बोर्डको बैठक नै बस्न नसकेको बताएका छन् ।
शेखर कोइराला निकट केसीले आफूहरूलाई बैठकका लागि आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको तर सभापति अझै बैठक हलमा प्रवेश नगरेको बताए ।
आइतबार राति सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा उनले भने, "अहिलेसम्म केही भएको छैन । बोलाएको अपराह्न ४ बजे हो, अहिले रातिको ११ बजिसक्यो । सभापति बैठक हलमा प्रवेश गर्नुभएको छैन । बैठक चलेको छैन, भएको अहिलेसम्म त्यति हो ।"
उनले आफूहरू अझै बैठकको प्रतीक्षामा बसेको पनि बताए । "हामी प्रतीक्षा गर्न थाक्दैनौँ । थकाउने कोसिस हो भने त्यो निरर्थक हो," उनले भने ।
उनले पुस १४ गते पार्टीको केन्द्रीय कार्यसमितिले गरेको निर्णयअनुसार नयाँ अनुहारलाई मौका दिनुपर्ने आफूहरूको माग रहेको पनि बताए । कसैलाई बाध्यतावश समेट्नुपर्ने भए गुण र दोषका आधारमा निर्णय लिइनुपर्ने उनले बताए ।