काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सहमतिको प्रारम्भिक खाका तयार भएको छ ।
हिजो (शनिबार) राति अबेरसम्म बसेर प्रारम्भिक खाका तयार पारिएको एक नेताले बताए । जसअनुसार कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिट पाउने गरी सहमतिको प्रस्ताव गरिएको छ ।
एकीकृत समाजवादीले भने सिट चित्त नबुझेको भन्दै हिजो बैठक छोडेर हिँडेका थिए । यता, सत्ता गठबन्धनमा साना दलहरूले सिट मागे पनि उनीहरूले नपाउने निश्चित जस्तै भएको छ ।
सोमबार मनोनयन दर्ता गराउनुपर्ने भएकाले बेलुकासम्म सहमति गरिने माओवादी महासचिव देव गुरुङले बताए ।
“हिजै टुंग्याउने प्रयास गरेका थियौँ । आज बैठक बस्छौँ । बेलुकीसम्म टुंगिएला,” उनले भने ।
राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुँदै छ । राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।