राष्ट्रिय सभाको निर्वाचनले केही राजनीतिकर्मीमा घीनै लाग्ने पद मोह फेरि जगाएको छ । विशेषगरी अगिल्लो प्रतिनिधि सभाको चुनावमा उमेदवार भएर हारेकाहरू नै अहिले राष्ट्रिय सभामा पनि उमेदवार हुन तम्सँदा यस्तो देखिएको हो ।
यसभन्दा पहिले नेकपा (एमाले) र नेकपा (मओवादी केन्द्र)का प्रतिनिधि सभामा पराजित उमेदवारहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ अनेक तिगडम गरेर सोही पदावधिमै राष्ट्रिय सभाका सदस्य भए । यसपटक विशेषगरी नेपाली कांग्रेसका नेताहरूले राष्ट्रिय सभामा जान मरिहत्ते गरेका छन् ।
नेपाली कांग्रेसका केही प्रतिनिधि सभाको २०७९ को चुनावमा उमेदवार भएर हारेका र केही समानुपातिक सूचीमा रहेका नेताहरू राष्ट्रिय सभाको आसन्न निर्वाचनमा उमेदवार हुन खोज्दैछन् । कांग्रेसमा मौलाएको गुटवाजी हेर्दा तिनले उमेदवारी पाउने सम्भवना बढी नै छ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बहुसङ्ख्यक सदस्यले अहिलेसम्म अवसर नपाएका नयाँ व्यक्तिहरूलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका छन् । तर, ती वक्ताहरूलाई पनि थाहा नै होला कांग्रेसमा अहिले जनधारणा वा कार्यकर्ताको राय होइन सभापतिको चाहना निर्णायक हुन्छ ।
त्यसो त संविधान र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा रहेका प्रावधानका मनसाय पनि प्रतिनिधि सभामा उमेदवार भएको वा समानुपातिक सूचीमा नाम परेको व्यक्तिले सोही अवधिमा निर्वाचनमा भाग लिनुहुँदैन भन्ने नै देखिन्छ । तर, संविधानको अक्षरै उल्लङ्घन गर्न न नहिचकिचाउनेहरूले भावना वा मनसाय मिच्न किन हच्कन्थे र?
प्रमुख राजनीतिक दलका नेताले यसरी संविधानको मर्म मिच्दा शासन प्रणालीप्रति नै जनमानसमा वितृष्णा उत्पन्न हुन्छ भने सम्बन्धित दलप्रति युवा पङक्तिमा विकर्षण उत्पन्न हुन्छ । तर, नेपालका प्रमुख राजनीतिक दल विशेषगरी नेपाली कांग्रेसका शीर्ष नेता पार्टी सिध्याएरमात्रै छाड्न कृतसङ्कल्प देखिन्छन् ।
कुनै पार्टीको भविष्य समाप्त हुनु चिन्ताको विषय त हो तर त्यसको बढी सरोकार भने सम्बन्धित दलका नेता कार्यकर्तालाई नै बढी हुनुपर्छ । जनसाधारणको चासोको विषय भने लोकतान्त्रिक पद्धतिसँग प्रत्यक्ष जोडिएको स्वच्छ राजनीतिक अभ्यास तथा संविधान र कानुनको मर्मको पालना नै हो ।
उत्तम कोटीका राजनेता पदका पछाडि कहिल्यै लाग्दैनन् । सामान्य राजनीतिक नेताहरूमा पद पाउँदा र छाड्नुपर्दा पनि खासै अन्तर देखिँदैन । अधम कोटीका राजनीतिकर्मीहरूको जीवनको ध्येय नै पदमा पुग्नु र टिक्नु रहेको हुन्छ ।
दुर्भाग्य, नेपालमा अहिले यही पदका लोभी ‘अधम’ हरूकै बाहुल्य र प्रभुत्व छ । कारण तिनको सार्वजनिक अस्तित्व नै पदमा सीमित जो भएको हुन्छ । सम्भवतः आसन्न राष्ट्रिय सभाको निर्वाचन यसैको एउटा उपक्रम हुनेछ ।