site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
चोरी

वीरेको एउटा भेडा आज पनि चोरियो । ३–४ दिन पहिले पनि त्यसको सबैभन्दा मनपरेको भेडा चोरिएको थियो । चोरिएर नोक्सान भयो भन्ने त्यसलाई दुःख भएन, तर चोर घरमा घुस्यो, यो साह्रै नजाती लाग्यो, कोमाथि शङ्का गरोस् ?

त्यो गाउँमा वीरे सबैभन्दा धर्मात्मा हुनाले उसलाई त्यस गाउँका कोही नजाती चिताउँदैनथे । घरैका मानिसले चोरे भनूँ भने घरमा वीरेकी स्वास्नी, एउटी सानी ७–८ वर्षकी छोरी र एउटा भेडा चराउने गोठालोदेखि कोही थिएन । कसमाथि शङ्का गरोस् वीरे ?

त्यसले गोठालोलाई बोलाई माया गरेर सोध्यो, “हेर् गोपाले, तँ मेरो धेरै पुरानो नोकर होस्, यो लामो १५ वर्षदेखि तँ मकहाँ छस्, अझसम्म तैँले केही नजाती काम गरेको छैनस् । साँचो कुरा भन्, आज राती कसले गोठबाट भेडा चोर्यो ? किन हो कुन्नि, मलाई तँमाथि शङ्का लागिरहेछ ।”

Dabur Nepal
NIC Asia

गोपालेको चाउरी परेको निर्दोष आँखामा आँसु चम्कियो । त्यसले केही बोल्न सकेन ।

वीरेनजिकै वीरेकी स्वास्नी पनि बसिरहेकी थिइन् । रिसाएर भनिन्, “अबदेखि यस्तो गरिस् कि घोक्राइ पाउनेछस् । रोएर के हुन्छ ?”

गोपालेको लामो–लामो सेतै फुलेको कपाल हावाको मन्द झोकाले यताउति नाच्दै उफ्रिँदै थियो । त्यसमा चाउरी परेका गाला, टाउको निहुराएको हुँदा प्रस्ट समुन्द्रको तरङ्गझैँ देखिन्थ्यो ।

त्यसले बिस्तारै भन्यो, “मालिक्नी ! मैले चोरेको होइन ।”

“अझ भन्छस् ?,” झ्याउँकिरी कराइन्, “विश्वासी नोकर भनेको यै हो ?”

“अब त मेरो असी वर्ष पुग्यो, दुई–चार दिनको लागि किन चोरी गर्दथेँ ?,” गोपालेले एकपल्ट लामो सास फेर्यो ।

वीरेलाई गोपालेले भेडा चोर्यो भन्ने कुरामा एकदम विश्वास भएन । “त्यसो भए कसरी गोठको गोठै हरायो त ?”

वीरेले यो कुरालाई यत्तिकैमा थामथुम पार्यो, तर गोपालेले मालिक र मालिक्नीको नजरमा नीच भएको हुँदा, वास्तविक चोरको नै पत्ता लगाएर आफूलाई निर्दोष साबित गर्छु भन्ने सङ्कल्प गर्यो ।

राती चेवा गर्नुसिवाय अरू कुनै साधन थिएन ।

राती १२ बजेतिर घरका सबै जना सुतिसकेपछि, गोपाले हातमा नाङ्गो खुकुरी लिई भेडाको गोठभित्र पस्यो । भित्र ढोकाको आड पारेर चुपचाप उभिरह्यो ।

मालिक्नीको तीखो वाक्य त्यसको हृदयमा तीरझैँ गडिरहेको थियो । वास्तविक चोरलाई समात्न पाए कस्तो नै हुन्थ्यो भन्ने त्यसको उत्कट इच्छा थियो ।

करिब एक घण्टापछि त्यसले बाहिर मनुष्यको पगध्वनि चाल पायो । झन् राम्ररी, चालचुल नपाउने गरी गोपाले उभियो । बाँसको तगारो बिस्तार बिस्तारै कसैले खोल्यो । गोपाले सासलाई पनि रोकी निश्चल भई टाटीमा टाँसिएर उभियो ।

त्यसले कोही मानिस भेडाको बथानभित्र पसेको चाल पायो । सुतिरहेका भेडा कुल्चिएला कि भन्ने डरले त्यो मानिस हातले भेडालाई छाम्दै अगाडि एउटा कुनातिर गयो ।

पश्चिमपट्टिको एउटा सानो झ्यालबाट चन्द्रमाको प्रकाश २–३ वटा सुतिरहेका भेडामा परेको थियो । त्यो मानिस प्रकाशनेर पुगेको मात्रै थियो कि गोपालेले मालिक्नीलाई चिन्यो–झ्याउँकिरीले एउटा मोटो भेडालाई पक्री बिस्तारबिस्तारै डोरÞ्याउँदै लगिन् । भेडाचाहिँ चुप्प लागेर पछि–पछि गइरहेको थियो ।

झ्याँउकिरी बाहिर निस्किनासाथ गोपाले पनि थाहा नपाउने गरी बाहिर निस्कियो । वीरेको घरबाट आधा कोसजति पर भएको ‘पोखरे’ गाउँतिर लागिन् । ऊ पनि झ्याउँकिरीले चाल नपाउने गरी पछि–पछि लाग्यो ।

पोखरे पुग्नासाथ यताउति पल्याकपुलुक हेरेर एउटा घरभित्र भेडालाई पनि डोर्याउँदै पसिन् ।

गोपाले झ्याउँकिरी पसेको घरभित्र पस्न सकेन तर टाटीको आडबाट झ्याउँकिरी र एउटा लोग्नेमानिसले गरेको कुरा सुनिरह्यो । किन्तु केही बुझेन ।

झ्याउँकिरी फर्कनुभन्दा पहिले नै गोपाले घरतर्फ फर्किसकेको थियो । त्यस बखत सायद तीन बजेको थियो होला ।

घर फर्किएर गोपाले आफ्नो डोरीको खाटमा लड्यो । आँखामा निन्द्रा थिएन । त्यसले चोरको पत्ता लगायो, तर बदला लिन सकेन ।

अकस्मात् त्यो उठ्यो र आफ्नो मैलोधैलो कपडालाई एउटा पोकोमा गुटमुट्याई पिठ्यूँमा राखी, खुकुरी पटुकामा घुसारी लौरो टेकी, १५ वर्षदेखिन् गरेको नोकरीलाई लात मारेर अज्ञात दिशातिर हिँड्यो ।

तब कुखुरा बास्यो ।

(‘तारिणीप्रसाद कोइरालाका समग्र कथाहरू’ बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro