काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी रूपान्तरण अभियान सकिए लगत्तै अर्को अभियान चलाइने बताएका छन् ।
मंगलबार माओ जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आगामी पुस १६ गते पालिकास्तरमा जनपरिचालन गरी रूपान्तरण अभियानको समापन गरिने बताए । अभियानले संगठन, नेता कार्यकर्तालाई जागरुक बनाएको र अभियान सफल भएको समीक्षा गरिएको जानकारी दिए ।
अब केन्द्रीय कमिटी बैठक बसेर तुरुन्तै अर्को अभियान चलाइने बताए । तुरुन्त अर्को एउटा अभियानमा जानैपर्छ । यो अभियान सकिएपछि केन्द्रीय कमिटी बैठकबाट अर्को अभियान विचार संलेषणको अभियान, विचारकै विषयमा बढी छलफल, जनतासँग छलफल पनि विचारकै विषयमा गर्ने गरी जाँदैछौँ,” प्रचण्डले भने ।
अभियानबाट विचारको मौलिकता, पहिचान निर्माण गर्न सकिने उनको भनाइ छ । उनले युवाहरूलाई अध्ययन, चिन्तन मनन, विचार विकासमा ध्यान दिन आग्रह गरे ।
त्यस्तै, उनले पुस लागेपछि सरकारको कामबारे आफ्नो शैली परिवर्तन गरेको सुनाए । अर्को वर्ष विकास, सेवा र सुशासनको क्षेत्रमा रेकर्ड बनाउनुपर्ने बताए ।