
संवेदनाको समायोग
(निबन्धसंग्रह: ज्ञानु अधिकारी)
समालोचना साथै साहित्य लेखनमा सक्रिय स्रस्टा हुन् ज्ञानु अधिकारी । उनका विविध रचना पत्रपत्रिकामा प्रकाशन हुँदै आएका छन् । प्राध्यापनसँगै साहित्यमा भिजेकी अधिकारीको केहीअघि प्रकाशित आत्मपरक निबन्धसंग्रह हो, ‘संवेदनाको समायोग’ ।
कृतिकार अधिकारी ‘प्रारम्भ अनि प्रारम्भ...’ मा लेख्छिन्: ‘अलिकति समयले सिकायो । अलिकति सम्बन्धहरूले सिकाए । केही परिवेशले सिकायो र मभित्र किसिमकिसिमका संवेदनाहरू उमारिदियो । जिन्दगीका विभिन्न मोडमा उभिँदैगर्दा जेजस्ता विचार र संवेदनाहरू मभित्र जागृत हुन पुगे, तिनै संवेदनाहरूको समायोग हो यो कृति ।’
एक दर्जनभन्दा धेरै समालोचनाका पुस्तकहरू प्रकाशित गरिसकेकी अधिकारीको यस कृतिभित्र असम्यक स्पर्श, कीर्तिपुर डायरी, भावका अनुगुञ्जन, हृदयको क्यानभासबाट, छोडेर आएका पाइलाहरू, सीमाभन्दा पर फैलँदै, शब्द र अक्षरहरू अन्तरगत ३७ वटा निबन्ध समेटिएका छन् ।
शिखा बुक्सले प्रकाशनमा ल्याएको २२०+४ पृष्ठको यस पुस्तकको मूल्य ४५०/– रुपैयाँ रहेको छ ।
०००
दृष्टि: दृष्टिकोण
(समालोचनासंग्रह: युवराज मैनाली)
साहित्यकार युवराज मैनालीको पछिल्लो पुस्तक हो– ‘दृष्टि: दृष्टिकोण’ । प्रस्तुत पुस्तक उनले लेखेका समालोचनाहरूको सँगालो हो ।
मैनालीका यसअघि कथा, निबन्ध, लघुकथासमेत गरेर आधा दर्जन कृति प्रकाशित छन् । यो उनको सातौँ कृति हो ।
कृतिकार मैनाली ‘आफ्नै कुरा’मा लेख्छन्: ‘...मेरो समालोचना यात्रा आदरणीय गुरुमा मीनाकुमारी रिसालबाट समीक्षाको टिप्पणी गर्दै ‘कक्षाभरिमा प्रथम अंक प्राप्त गरेका छौ । भविष्यमा राम्रो समीक्षक हुनेछौ, लेख्न नछोड्नु’ भन्ने प्रेरणा पाएको हुँ । ...’
प्रकाशकीयमा लेखिएको छ– ‘...पाठक र पाठकको भावनालाई ध्यान दिँदै सरल भाषामा नै यी समालोचनाहरू तयार भएका छन् । ...’
यस कृतिभित्र विनोद अश्रुमाली, क्षेत्रप्रताप अधिकारी, किशोर पहाडी, तीर्थराज अधिकारी, कृष्ण धरावासीसहितका गरेर २९ वटा कृतिका समालोचनाहरू समावेश छ ।
साझा प्रकाशनद्वारा प्रकाशित ३२०+४ पृष्ठको यस पुस्तकको मूल्य ५८०/– रुपैयाँ राखिएको छ ।
०००
शब्दबिम्बमा सत्यमोहन
(आलेखसंग्रह: सं. गोपीकृष्ण ढुंगाना)
पत्रकार एवम् लेखक गोपीकृष्ण ढुंगानाको सम्पादनमा प्रकाशित पुस्तक हो– ‘शब्दबिम्बमा सत्यमोहन’ । यस पुस्तकका सम्पादक ढुंगानाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका विषयमा अध्ययन अनुसन्धान गर्न खोज्नेहरूलाई सहयोग पुग्नेगरी उनका बारेमा लेखिएका अनेक सामग्री प्रस्तुत गरेका छन् ।
ढुंगाना सम्पादकीयमा लेख्छन्: ‘समयले बनाएको र समयलाई बनाउने सत्यमोहनलाई हामीले कति चिन्यौँ ? वा चिनेर पनि अबका दिनमा क्रमशः बिर्संदै जान्छौँ कि ? यो पनि समयले मूल्याँकन गर्ला । जीवनको अधिकांश समय उनले प्रत्येक मिनेटको शक्तिलाई पहिचान गरे । हामी नेपाली सबैले के यसरी नै समयको सदुपयोग गर्न सकेका छौँ ? सत्यमा अडिग बनेर समय चिन्दै सक्रिय हुनेहरूले नै हो आफूलाई ‘सगरमाथा’ बनाउने पनि ।’
यस पुस्तकभित्र लेख खण्डअन्तर्गत जोशीसहित भैरव रिसाल, डा. गोविन्द टण्डन, गार्गी शर्मा, डा. गीता त्रिपाठी, जयदेव भट्टराई, धीरेन्द्र प्रेमर्षि, राम भरोस कापडी भ्रमर, मोहन दुवाल र अरू सर्जकहरूका समेत गरेर ३२ वटा आलेखहरू छन् ।
कृतिभित्र सम्पादकीय खण्ड, अन्तर्वार्ता खण्ड, परिशिष्टाङ्क खण्ड, समाचार खण्ड, कविता खण्डमा अनेक सामग्रीहरू प्रस्तुत छ ।
भुँडीपुराण प्रकाशनद्वारा बजारमा ल्याइएको ४१२+४ पृष्ठको यस पुस्तकको मूल्य ५९०/– रुपैयाँ राखिएको छ ।
०००
ती सात दिन
(उपन्यास: सानु शर्मा)
साहित्यकार सानु शर्माका विभिन्न कृतिहरू प्रकाशनमा आइरहेका छन् । यसै क्रममा पछिल्लो समय बजारमा आएको कृतिकारको उपन्यास हो ‘ती सात दिन’ ।
शर्माद्वारा लेखिएको उपन्यासको ब्लर्बमा लेखिएको छ– ‘ती सात दिन’ सरल शैलीले वर्णन गरिएको गरुङ्गो विषयको कथा हो । यसमा बलात्कारजस्तो विषयलाई यसरी वर्णन गरिएको छ कि पाठकहरूलाई त्यसले पुर्याउने क्षति, परिणाम, आघात र पीडा त अनुभूत हुन्छ तर विषयले मनमा विरक्ति र वितृष्णा उब्ज्याउँदैन ।’
उपन्यासको भाग ‘एघार’मा लेखिएको छ: ‘काठमाडौंको भिडभाड देखेर ज्योति र मेरो गाडीको इच्छा हरायो । जेसनले काठमाडौंमा उपलब्ध सबैभन्दा राम्रो र महँगो बाइक किन्यो । ...’ (पृष्ठ—११५)
रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ३५२+४ पृष्ठको यस उपन्यासको मूल्य ५९५/– राखिएको छ ।