site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युवा भर्तीमा दुई देशबीच सम्झौता चाहिँदैन ? रूसविरुद्ध नेपालले उठाउन सकेन आवाज 
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्ला दिन सार्वजनिक रुपमै रुसी सेनामा दुई सय नेपाली युवा भर्ती भएको तथ्याङ्क प्रस्तुत गरिरहेका छन् । 

यही बेला रुसी सेनामा भर्ती भएका नेपाली युवा डायमन्ड सी म्याग्देलीले रुसबाट सामाजिक सञ्जाल फेसबुकमा भावुक पोष्ट गरे ।  

“हिजो जनयुद्धमार्फत् राज्यसत्ताको आमुल परिवर्तनको लागि बन्दुक बोकेर झण्डै एक दशक रगत/पसिना बगाइयो, अंशमा केही परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन । परिणामतः आज पनि सत्ता/शक्तिको वरिपरी केही मुठ्ठीभर दलाल पुँजीपतिहरूकै जगजगी छ । परिवर्तनको लागि दशकौं योगदान गरेका हजारौं योद्धाहरु आज परिवार पाल्नकै लागि विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रूसी सेनामा भर्ती भइएको छ,” म्याग्देलीले मंगलबार फेसबुकमा लेखेका थिए । 

KFC Island Ad
NIC Asia

२०५२ देखि सुरु भएको १० वर्षे माओवादी सशस्त्र विद्रोहका बेला उनी माओवादी लडाकु थिए । 

उनले फेसबुकमा आफू माओवादी लडाकु हुँदाका फोटोहरु पनि राखेका छन् । 

Royal Enfield Island Ad

संयोग नै भन्नुपर्छ जसको नेतृत्वमा उनी माओवादी युद्धमा होमिएका थिए, अहिले पनि उक्त पार्टीको नेतृत्व उनै व्यक्ति अर्थात् पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरिरहेका छन् । 

त्यति मात्र होइन, उनै प्रचण्डले अहिले सरकारको नेतृत्व गरिरहेका छन् । 

तर म्याग्देली भने कुनैबेलाका आफ्ना सर्वोच्च कमाण्डरले देश हाँकिरहँदा पुनः बन्दुक समाउन पुगेका छन् ।  बन्दुक समाउन उनी नेपाली सेनामा होइन, रूसी सेनामा भर्ना हुन पुगेका छन् । 

रुस–युक्रेन युद्धभूमिबाट पूर्वमाओवादी लडाकू म्याग्देलीले लेखेका छन्, “पृष्ठभूमि, कथा/व्यथा भिन्नभिन्न होलान् तर बाध्यताले डोर्‍याएका हजारौं नेपाली युवाहरू अहिले रसियन सेनामा भर्ती भइ युद्धको मोर्चामा खटिइरहनु भएको छ । युद्धरत देशको (यो सामान्य सैनिक जागिर जस्तो होइन) सैन्य फौजमा कार्यरत रहँदा सकारात्मक/नकारात्मक सबै विषय अनुभूत गर्न सकिन्छ ।” 

रूस–युक्रेन युद्ध सुरु भएपछि कति नेपाली युवा रुसी सेनामा भर्ती भएका छन् भन्ने यकिन संख्या कसैसँग छैन ।

तर ठूलो संख्यामा भर्ती भएको धेरैको अनुमान छ ।  प्रधानमन्त्री प्रचण्ड स्वयमले नै दुई सय जना भर्ती भएको औपचारिक जानकारी प्राप्त गरेको बताइरहेका छन् ।  रूसी सेनामा भर्ती भएकामध्ये ६ जना नेपाली युवा युद्धका क्रममा मारिसकेका छन् । 

रूसी सेनामा भर्ती हुन पठाउने पूर्वसैनिक, जाने प्रहरी र सशस्त्रकै असई !

तीन जना नेपाली युवालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । 

रूसी सेनामा नेपाली युवाहरु भर्ती भएको तथ्य बाहिरिँदै गर्दा अहिले प्रश्न उठेको छ– के रुसले नेपाल सरकारलाई थाहा नै नदिई नेपाली नागरिकलाई आफ्नो सेनामा भर्ती गर्न पाउँछ ? युद्धमा पठाउन पाउँछ ? 
विज्ञको स्पष्ट जवाफ छ– पाइँदैन ।

परराष्ट्र मन्त्रालयका पूर्वसचिव मधुरमण आचार्यले बाह्रखरीसँग भने, “भेडा चराउन जान त श्रम स्वीकृति लिएर जानु पर्छ भने अर्कै देशको नागरिकलाई आफ्नो सेनामा भर्ती गर्दा धेरै प्रक्रिया र विधि पूरा गर्नुपर्छ ।” 

रूसले नेपाली युवालाई ठ्याक्कै कहिलेदेखि आफ्नो सेनामा भर्ना सुरू गर्‍यो भन्ने जानकारी नेपाल सरकारलाई छैन ।

यति चाहिँ भन्न सकिन्छ– सन् २०२२ फेब्रुअरी २४ का दिन रूसले युक्रेनमाथि आक्रमण गरेपछि रूसले नेपाली युवालाई आफ्नो सेनामा लिन थालेको थियो । 

रूसी सेनाबाट नेपाली फर्काऊ 

“नेपाली युवा आफैँ भर्ती हुन गएको भए पनि रूसले नेपालसँग सोध्नुपर्थ्यो– तिमीहरूको नागरिक आएका छन्, के गर्ने ?,” पूर्वराजदूत दिनेश भट्टराईले बाह्रखरीसँग भने, “तर रूसले सोधेन । नेपाल कमजोर राष्ट्र हो भनेर हेपेर नेपाल सरकारलाई थाहा नै नदिइ आफ्नो सेनामा नेपाली युवा भर्ती गरी युद्ध मैदानमा पठायो । यस्तो गर्न पाइँदैन ।” 

सार्वभौम, अखण्ड र स्वतन्त्र जुनसुकै देशको नागरिकलाई कुनै पनि अर्को देशले बिना सहमति तथा सम्झौता आफ्नो सेनामा भर्ती गर्न पाउँदैन । यो स्थापित मान्यता नै हो । 

२०७९ सालमा नै नेपाली मिडियामा रूसी सेनामा नेपाली युवाहरु भर्ती भएका समाचार प्रकाशन तथा प्रसारण भएका थिए ।  तर सरकारले यसतर्फ चासो दिएन । यस विषयमा सरकार गम्भीर भएन र मिडियामा आएका कुरा स्वीकारेन ।

त्यतिबेलै सरकार गम्भीर भइदिएको भए कुरै अर्कै हुने थियो, नेपालीले ज्यान गुमाउन पर्दैनथ्यो ।  त्यसो त गत साउनमा रूसस्थित नेपाली दूतावासले अप्रत्यक्षमा रुपमा रोजगारीका लागि नेपाली युवालाई रूस नआउन भनेको थियो । 

दूतावासले विज्ञप्ति जारी गर्दै मानव तस्करले विभिन्न प्रलोभन देखाई नेपाली नागरिकलाई रूस लगेर अलपत्र पार्ने क्रम बढेकोले ‘बुझेर मात्र’ रूस आउन भनेको थियो । 

“भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझि विभिन्न प्रलोभनमा परेर आउनुभएका विद्यार्थीहरु अनेकन समस्यामा पर्ने गर्नुभएको छ,” दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, “अतः विद्यार्थी भिसामा रूस आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्नुहुन सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकहरुलाई हार्दिक अपिल गर्दछौँ ।”

दूतावासले त्यतिबेलै विद्यार्थी भिसामा रूस गएका नेपाली युवा सेनामा भर्ती भएको अप्रत्यक्ष रुपमा बताएको थियो । यसको पुष्टि प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले गर्छ । 

रूसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ

पछिल्ला दिन प्रधानमन्त्री प्रचण्ड सार्वजनिक रुपमै भिजिट भिसा र विद्यार्थी भिसामा गएका नेपाली त्यहाँको सेनामा भर्ती भएको अभिव्यत्ति दिइरहेका छन् ।  

रूसी सेनामा नेपाली युवाहरू भर्ती भएको समाचार मिडियामा धेरै आएपछि २०८० साउन १६ गते बाध्य भएर परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भन्यो, “विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना सम्बन्धमा परम्परागत रुपमा सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराउँछौं ।” 

परम्परागत रुपमा भएका सम्झौता अन्तर्गत भारत र बेलायती सेनामा मात्र नेपालीहरू भर्ती हुँदै आएका छन् ।

सुगौली सन्धिपछि बेलायतले नेपालीलाई आफ्नो सेनामा लिन थालेको हो ।  बेलायतबाट सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारतले पनि नेपालीलाई सेनामा लिन थालेको थियो । नेपाली युवालाई सेनामा भर्ती गर्ने सम्बन्धमा नेपाल, भारत र बेलायतबीच सम्झौता भएका छन् । 

त्यसैको आधारमा बेलायत र भारतले गोर्खा रेजिमेन्ट खडा गरी नेपालीलाई भर्ना लिने गरेका छन् ।  बेलायत र भारत बाहेक अन्य देशको सेनामा नेपाली युवालाई भर्ती गर्न अनुमति नेपाल सरकारले दिएको छैन र नीति पनि लिएको छैन । 

रूसी सेनामा भर्ती हुन हिजोमात्रै दिल्ली हुँदै ५३ नेपाली गएको सूचना छ : प्रधानमन्त्री

गएको कात्तिक महिनासम्म नेपाल सरकारले रूसी सेनामा नेपाली भर्ती भएको कुरालाई औपचारिक रुपमा स्वीकारेको थिएन ।  कात्तिकमा रूसले युद्धमा मारिएका ६ जना नेपालीको शव बुझ्न भन्दै पत्र पठाएपछि बाध्य भएर नेपालले औपचारिक रूपमा नेपाली रूसी सेनामा रहेको तथ्य स्वीकार गरेको थियो ।

त्यसपछि परराष्ट्र मन्त्रालयले २०८० मंसिर १८ गते विज्ञप्ति जारी गर्दै भन्यो, “यस सम्बन्धमा नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र कुनै नेपाली  नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रूसी सरकारलाई अनुरोध गरिएको छ ।”

सोही विज्ञप्तिमा परराष्ट्रले सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रूस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने ‘नो अक्जेक्सन सर्टिफिकेट’ लिएर मात्र यात्रा गर्न भनेको छ । 

मंसिर १७ गते एकैदिन दुई लटमा भारतको नयाँ दिल्लीबाट रूसी सेनामा भर्ती हुन ५३ जना नेपाली युवा गएको सूचना प्राप्त भएपछि परराष्ट्रले विज्ञप्ति जारी गरेको थियो ।

“सरकारको अनुगमनमा कमजोरी भयो । मस्कोमा नै हाम्रो दूतावास छ । धेरै जानकारी तत्कालै लिई रोक्न सकिन्थ्यो । तर हाम्रो सरकार हल्का रुपमा प्रस्तुत भयो,” पूर्व परराष्ट्र सचिव आचार्यको धारणा छ । 

आचार्यले भनेजस्तो सरकार गम्भीर नभएकै हो । नेपाली युवालाई सेनामा भर्ती गरेको सम्बन्धमा नेपालले रूससमक्ष गम्भीररूपमा आपत्ति जनाएकै छैन ।  गत सातामात्र नेपालका लागि रूसी राजदूत अलेक्सेई नोभिकोभलाई बोलाएर परराष्ट्र मन्त्रालयले सामान्य जानकारी लिएको थियो । योभन्दा बढी केही भएको छैन ।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले रूससँग गम्भीर आपत्ति जनाउने अवसर पाएका थिए । तर उनले त्यस अवसरको सदुपयोग गरेनन् ।  केही दिनअघि मात्र रूसी सरकारी न्युज एजेन्सी तासलाई प्रधानमन्त्री प्रचण्डले अन्तर्वार्ता दिएका थिए । 

रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा ५१ जनाको मृत्यु

ताससँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा नेपाली युवा भर्ती भएका सम्बन्धमा एक शब्द पनि खर्चेका छैनन् ।  जबकि अन्तर्वार्ता अघि नै रूसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु भएको खबर उनले पाइसकेका थिए । 

गत नोभेम्बर ३० मा मात्र तासले प्रधानमन्त्री प्रचण्डसँगको अन्तर्वार्ताको आधारमा ६ वटा समाचार प्रकाशित गरेको छ । अन्तर्वार्तामा रुस–युक्रेन युद्धको प्रसंग पनि उठेको छ तर रूसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा प्रधानमन्त्री मौन बसेका छन् । 

“हामीलाई थाहा छ रुस–युक्रेन द्वन्द्व सुरु भएपछि केही देशहरूले रूससँगको सम्बन्धमा कठिनाइहरू देखेका छन्, तर हाम्रो सन्दर्भमा कुनै समस्या छैन,” ताससँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “हामी रसियामा धेरै भन्दा धेरै नेपाली विद्यार्थीहरूले शिक्षा प्राप्त गर्न सकुन् भन्ने चाहन्छौं ।” 

रूसी सेनामा नेपाली भर्ती हुन थालेको संकेत पाउने बित्तिकै सरकार  गम्भीर भइदिएको भए नेपाली युवा मृत्युको मुखमा पुग्नबाट जोगिने विज्ञको टिप्पणी छ । सरकारले थाहा नपाएझैँ गरिदिँदा श्रम स्वीकृति लिएरै रूस जाने बढे । 

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो चार महिनामा ३०४ जना नेपालीले रूस जानको लागि श्रम स्वीकृति लिएका छन् । २०८० को साउनमा ५३, भदौमा १६१, असोजमा ४७ र कात्तिक ४३ जनाले रुस जान श्रम स्वीकृति लिएका छन् । 

गत आर्थिक वर्ष २०७९–८० मा ३७० जना पुरूष र १६ जना महिना गरी ३८६ जना नेपालीले रूस जानको लागि श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्ष रूस जान जति जनाले श्रम स्वीकृति लिएका छन् चालु आर्थिक वर्षको पहिलो चार महिनामा झण्डै त्यतिनै संख्यामा नेपाली रूस जानको लागि श्रम स्वीकृति लिएको देखिन्छ । 

अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा ८२ जना नेपालीले रूस जानको लागि श्रम स्वीकृति लिएका थिए । सोही वर्ष १५६ जना नेपालीले युक्रेन जानको लागि श्रम स्वीकृति लिएका थिए । 

“हामीले रूसलाई नेपाली युवालाई सेनामा भर्ती गर्ने काम कसरी भयो भनेर रूसी राजदूत बोलाएर सोध्न सक्नुपर्छ । रूसी विदेश मन्त्रालयसँग पनि मस्कोमा रहेको नेपाली दूतावासले यो कुरा सोध्नुपर्छ । अरुको देशको नागरिकलाई आफ्नो देशको सैनिक पोशाक लगाएर युद्धभूमिमा पठाउने काम सामान्य हुन सक्दैन,” शेरबहादुर देउवा र सुशील कोइराला प्रधानमन्त्री हुँदा उनीहरुको विदेश मामिला सल्लाहकार समेत रहेका पूर्वराजदूत भट्टराईले भने । 

सेना युद्ध मैदानमा जाने भनेको आफ्नो देशको माटोको रक्षा गर्नको लागि हो । 

प्रश्न उठेको छ– नेपाली युवाले रूसको माटोको रक्षा किन गर्ने ? यसैकारण रूसले गैर नागरिकलाई सैनिक पोशाक लगाएर युक्रेनसँग लड्न पठाउन नहुने तर्क भट्टराईको छ ।  

“सम्झौता बिना कुनै पनि देशको नागरिकले अर्को देशको सैनिक पोशाक लगाएर युद्ध मैदानमा जान हुँदैन । नेपालसँग सम्झौता नगरी रूसले के आधारमा नेपालीलाई आफ्नो सेनामा भर्ती ग¥यो यसको जवाफ माग्नुपर्छ,” उनले भने । 

रोकिएन भिजिट भिसा, यूएई हुँदै कहाँ जान्छन् नेपाली ?

पूर्व परराष्ट्र सचिव आचार्य परराष्ट्र मन्त्री एनपी साउदले नै रूसी समकक्षीलाई फोन गरेर यस विषयमा असन्तुष्टि जनाउनु पर्ने बताउँछन् । नेपाल चुप लागेर बसेका कारणरूसले हेपेको बुझाई उनको छ ।

“हाम्रा नागरिकको जिम्मेवारी रुसले किन लिने ?,” उनले प्रश्न गरे । 

अन्तर्राष्ट्रिय कानूनका विज्ञ डा. नरेन्द्रराज घिमिरे पनि सम्बन्धित दुई देशबीच सम्झौता नभई एउटा देशको नागरिकलाई अर्को देशले आफ्नो सेनामा भर्ती गर्न नपाउने बताउँछन् । 

“दुई देशबीच सम्झौता नगरी एउटा देशको नागरिकलाई अर्को देशले आफ्नो सेनामा भर्ती गर्न पाउँदैन,” घिमिरेले बाह्रखरीसँग भने । 

बिनासम्झौता नेपालीलाई सेनामा भर्ती गरेकोमा रुससँग आपत्ति जनाउनुपर्ने पक्षमा उनी छन् ।  आपत्ति जनाउँदा पनि रूसले अटेर गरी नेपालीलाई सेनामा भर्ती गरिराख्यो भने कानूनी उपचार खोज्न सकिने उनी बताउँछन् । 

“सेनामा भइरहेको नेपालीको भर्तीलाई रोक्न रूसले मानेन भने नेपालले संयुक्त राष्ट्रसंघमा उजुरी हाल्न सक्छ र हाल्नुपर्छ,” अन्तर्राष्ट्रिय कानूनका विज्ञ डा. घिमिरेले भने, “हेगमा आपराधिक मुद्दामा जाने हो । नेपाल सरकारको अनुमति नलिई रुसले नेपालीलाई सेनामा भर्ती हुन आह्वान गरेरै लगेको भए त्यो अपराध हुन्थ्यो र हेगमा मुद्दामा हाल्न सकिन्थ्यो । तर नेपालीहरु आफैँ गएको देखिन्छ ।” 

नजाऊ भनेकै ठाउँमा किन होमिँदैछन् नेपाली युवा ? 

उनको बुझाईमा रुसले हामीलाई जानकारी र सहमति नलिई हाम्रा नागरिकलाई सेनामा लियो भनेर नेपालले संयुक्त राष्ट्रसंघमा निवेदन दिन सक्छ तर अन्तर्राष्ट्रिय अपराधको आधारमा हेग जान सक्दैन । 

रूसले सेनामा भर्ती भएका नेपाली युवालाई सामान्य सैन्य तालिम मात्र दिई युक्रेनसँगको युद्धको अग्रपंक्तिमा खटाउने गरेको छ ।  यो कुरा रूसी सेनामा भर्ती भएका नेपाली युवाहरूले नै बताइरहेका छन् । 

“सामान्य हतियार चलाउन जान्नेबित्तिकै नेपालीलाई युद्धको फ्रन्टलाइनमा पठाइएको छ भने यसमा अन्तर्राष्ट्रिय मानवीय कानून आकर्षित हुन्छ । आईसीआरसीमार्फत् यो प्रक्रियालाई सरकारले अगाडि बढाउन सक्छ,” अन्तर्राष्ट्रिय कानूनका विज्ञ डा. घिमिरेले भने ।

सरकारले प्रभावकारी कदम नचाल्दा नेपाली युवाहरू अझै रूसी सेनामा भर्ती हुनको लागि तछाडमछाड गरिरहेका छन् । एजेन्ट र दलालहरु लाखौं रुपैयाँ लिएर यस्ता युवालाई रूस पठाइरहेका छन् । 

“सयौं साथीहरूले रसिया भर्ती हुन आउनुपर्‍यो, के– कसरी हो ? च्यानल मिलाइ दिनुपर्‍यो भनेर म्यासेज गरिराख्नु भएकोछ, एक–एक गरेर सबैलाई जवाफ दिन सम्भव भएन तसर्थ यसै सार्वजनिक सूचनामार्फत् जानकारी– यहाँ अहिले भर्ती बन्द छ, दलालहरूको भ्रममा नपर्नुहोला,” सेनामा भर्ती हुन नेपाली युवा कति आतुर भन्ने यथार्थ म्याग्देलीको यो फेसबुक स्टाटसले देखाउँछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro