
काठमाडौं । यस वर्षको मनसुनमा सामान्तया औसतभन्दा धेरै वर्षा हुने पूर्वानुमान छ ।
असार १७ देखि असोज १४ गतेसम्मको तीन महिनाको अवधिमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तर, यसवर्षको मनसुनमा मधेस प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने भएको छ । तराई–मधेसका केही स्थानमा अहिले पनि धेरै वर्षा हुन सकेको छैन । करिबकरिब सुक्खाको अवस्था छ ।
पूर्वी तराईको दक्षिणी भूभागमा कम वर्षा भएको मौसमविद् डेविड ढकाल बताउँछन् । “यो वर्ष अहिलेसम्म पूर्वी तराईको उत्तरी भूभागभन्दा दक्षिणी भूभागमा कम वर्षा भएको छ,” जल तथा मौसम विज्ञान विभागका मौसमविद् ढकाल भन्छन्, “हाम्रो सिस्टमहरूले पनि यही नै देखाइरहेको छ ।”
किन तराईका दक्षिणी भूभागमा कम वर्षा भइरहेको छ भन्ने अध्ययनको विषय भएको उनी बताउँछन् ।
“पूर्वी तराईको दक्षिणी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका क्षेत्रमा पनि वर्ष कम वर्षा भइरहेको छ,” उनी भन्छन्, “बिनाअध्ययन यही कारण हो भनेर भन्न सकिँदैन । यो छुट्टै अध्ययनको विषय हो ।”
विगतका वर्षहरूमा सामान्यतया यस्तो नहुने गरेको मौसमविद् ढकाल बताउँछन् ।
“अहिले पनि तत्काल अथवा केही दिन भित्रै पूर्वी तराईको दक्षिणी र मध्य तराईमा भारी वर्षा हुने देखिँदैन,” उनी भन्छन् ।
मौसमविद् विनोद पोखरेल अझै लामो समय तराईमा भारी वर्षा नहुने बताउँछन् ।
“यो मनसुनको वर्षाको प्रकृति हेर्दा अचम्ममा पार्छ । नेपालभरि वर्षा भइरहेको छ । तर तराई सुक्खा छ,” मौसमविद् पोखरेल भन्छन्, “देशकै धेरै पानी पर्ने ठाउँ पोखरा र संखुवासबामा एकदम कम वर्षा भएको छ ।”
आगामी चार हप्ता पनि पूर्वी नेपालको आधा भाग सुक्खा हुने उनको भनाइ छ । “पश्चिन नेपालमा भने धेरै वर्षा हुनेछ,” उनले भनेका छन् ।