site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मुक्ति    

कर्ण लम्पसार परेर ओछ्यानमा पल्टिरहेका थिए । उनको हाड र छाला भएको शरीर देख्दा उनी कुनै दिन खाइलाग्दा युवक प्रसिद्ध धावक भनेर पत्याउन गाहारो पर्थ्यो । केही समयअघिसम्म कर्ण नेपालका प्रसिद्ध धावक, पुरस्कार विजेता थिए ।

अग्ला, बलिया, गोरो, फरासिला कर्ण कट्वालले जीवनसँग लपक्क टाँसिएर रसिला दिनहरू बिताएका थिए । स्वास्थ्य, पैसा, साथीभाइ प्रसिद्धि सबै थिए उनका ।

त्यसमा थपिएकी थिइन् सुशिक्षित, सुन्दर जीवनसंगिनी । प्रेमविवाहपछि पनि उनीहरूको प्रेम सेलाएन, त्यसले जरा गाड्दै बलियो भएर प्रेमसम्बन्धलाई थेगेको थियो ।

Dabur Nepal
NIC Asia

कसैलाई त सुखैसुख हुन्छ– एकथरी भन्थे । आफ्नोआफ्नो भाग्य ! भाग्यवादी भन्थे । तर, सधैँ सुखैसुख कसैलाई पनि फाप्दैन भन्ने कुरो भावीलाई मात्र थाहा थियो ।

कर्णको जीवन बिथोल्न त्यो अलाप एक्कासि देखापर्यो । एक्कासि के भन्ने त्यो ता उनको लगातारको चुरोट फुकाइसँग सुटुक्क पसिसकेको थियो, उनको फोक्सो खान । तर, कर्णले त्यसको सुइँकोसम्म पाएनन् । उनी जीवन भोग गर्न, त्यसको तृप्ति अनुभव गर्न यति व्यस्त थिए कि त्यो चोट उनको फोक्सोमा सुटुक्क पसेको थाहा नै भएन ।

हुने हुनामी हुन्छ भनेर कान्ताको मनमा भने ढ्यांग्रो बजिसकेको थियो । उनले सिगरेट न खानोस् भनेर कर्णलाई बिन्ती गरिन्, घुर्की लगाइन्, तर उनको केही चलेन । कर्णले लागेको अम्मल छोड्न मानेनन् ।

चुरोट अम्मल मात्र नभएर प्रतिष्ठाको प्रतीक भइसकेको समाजमा उनले एकोहोरो सिगरेटको धुवाँ उड़ाउनु कुनै नयाँ कुरो थिएन । कान्ताको अचेतनभित्र बसेको डरले भने भविष्यमा हुने बज्रपातको संकेत दिइसकेको थियो ।

नारी हृदयको त्यो करुणा, त्यो प्रेम कर्णले बुझ्न सकेनन् । कर्णको ‘जीवन बग्ने खोलाजस्तै मुक्त हुनुपर्छ, गतिशील । अनेकथरीका बन्देज र घेराभित्र साँगुरिएको जीवनलाई भारी बोकेजस्तो बोकी हिँड्नुभन्दा मुक्त आनन्द जीवन बाँच्नुपर्छ’ भन्ने सिद्धान्तसँग सहमत हुन न सके पनि कान्ताले सिगरेटको विरोध गर्न छोडी सकेकी थिइन् । कर्णको सुखकै निम्ति ।

एक दिन त्यो मुक्त आनन्दित जीवन गति टक्क रोकियो । कर्णको घाँटी दुख्यो, साधारण औषधि उपचारपछि बिसेक भयो । महीना दिनपछि त्यो फेरि दुख्न थाल्यो, साधारण औषधि उपचारले काम गरेन र उनले घाँटी रोगको विशेषज्ञलाई देखाए ।

डाक्टरले ‘बायोप्सी’ (रोग लागेको अंगको सानो टुक्रा झिकेर जाँच गर्ने तरिका) गर्ने सल्लाह दिए । बायोप्सीपछि रोगको निदान भयो, ‘क्यान्सर’ । कान्ताबाहेक अरू सबै छक्क परे ।

३०–३२ वर्षमा नै क्यान्सर रोग । कान्तालाई भने आफ्नो टाउकोमाथि झुन्डिरहेको ढुंगा बल्ल टाउको फुटाउने गरी खसेजस्तो लाग्यो । उनको नौ नारी गलेर आयो, तैपनि उनले कर्णलाई भारतको भेलोरस्थित प्रसिद्ध अस्पतालमा लगिन् ।

जाँचहरू भए । ‘बायोप्सी’ फेरि गरियो । रोग निदान उही ‘क्यान्सर’ घातक अवस्थामा पुगिसकेको ।

उनी फेरि बिरामीलाई लिएर घर फर्किन् । जन्मेपछि मर्नु निश्चित छ, यो भनाइ नयाँ होइन, तैपनि यो सत्यलाई टार्न मानिस चिरकालदेखि प्रयत्नशील छ । टार्न न सके केही समयको निम्ति लम्बाउन चाहन्छ ।

वैज्ञानिकहरू मृत्युञ्जयी हुन अनुसन्धान गरिरहेका छन् । मान्छे अमर भयो भने सुखी हुनसक्छ भन्ने कुरा अन्वेषकको होइन, उसलाई त आविष्कारसँग मात्र मतलब छ ।

अणु शक्ति आविष्कार गर्नेले अणु बमको भयंकरतालाई कल्पना गरेका थिए ? मृत्यु आइलागेपछि प्रत्येक व्यक्ति त्योसँग जुध्न खोज्छ खोज्छ । अरू केही दिन जीवनलाई लम्बाउन चाहन्छ, युवा हुन् वा बूढ़ा !! मान्छे ब्रह्मज्ञानी त होइन ।

हरेस खाए पनि कान्ताले कर्णको स्याहारसुसार गरिरहिन् । घाँटीमा प्वाल पारेर त्यहाँ लाबरको नली जोडिएको थियो, त्यहीँबाट फलको रस आदि रोगीको शरीरभित्र पुर्याइन्थ्यो । उनी मुखबाट केही निल्न सक्तैन थिए । शरीर ओछ्यानमा टाँसिइसकेको थियो, उनका आँखा मात्र झन् ठूला देखिन्थे ।

एक दिन कर्णले कान्तालाई लरबराएको स्वरमा भने, “कान्ता, म बाँच्दिनँ भनेर जान्दा जान्दै पनि किन बचाउने चेष्टा गरिरहन्छयौ ? लाबरको नलीबाट चुसेको रसले यो शरीर थेग्न सक्तैन । यो दुःख अरू न लम्ब्याऊ, मलाई बरु मुक्ति देऊ ।”

उनले आफ्नू बोली स्वाभाविक पार्ने कोसिस गर्दै भनिन्, “यसरी हरेस खाएर हुन्छ ? सास रहुन्ज्याल आस हुन्छ । मैले कसरी मुक्ति दिने ?”

कर्णले आफ्ना आँखाबाट बरर्र आँसु खसाउँदै भने, “बिन्ती कान्ता, मलाई सुत्ने चक्की बेसी मात्रामा ख्वाइदेऊ । म यस्तो जीवन बाँच्न चाहन्नँ, यो नर्कको यातनाबाट मुक्ति चाहन्छु ।”

कर्णको आँसु देखेर उनले मनमनै भनिन्, ‘यस्तो दिन देख्नुअघि म मरेकी भए हुन्थ्यो ।’ जीवनको कस्तै साह्रो गाह्रोलाई पनि हाँसेर उडाउने धावक कर्ण आज ओछ्यानमा टाँसिएर आँसु झारिरहेका थिए ।

उनको सम्झनाले प्रसिद्ध धावक कर्णलाई कुदेको देख्यो, जीवनका भोगहरूमा चुर्लुम्म डुबेको देख्यो, आपस्तमा प्रेम गरेका दिनहरू सम्झँदै उनले खुइय्य गर्दै सुस्केरा हालिन्– अब ता सम्झना मात्र रहने भए बाचुन्ज्याल सपना त सकिए ।

कान्ताले अब एउटा निर्णय न गरी भएन, उनले निर्णय गरिन् ।

उनले बिहानै पण्डितलाई बोलाउन पठाइन् र कर्णको हातबाट गाईदान गरिदिइन् । कर्णले गाईदान गर्दा पनि उनकै मुहार हेरिरहे, विश्वासका साथ । पण्डितलाई बिदा गरिसकेर कान्ता पूजाकोठामा गइन् र धेरै बेर प्रार्थना गरिरहिन् ।

पूजाकोठाबाट उनी फेरि बिरामीको कोठामा गइन् । कर्णको अनुहार क्यान्सरको दुखाइले विवर्ण भइसकेको थियो, तापनि उनले सकी नसकी कान्ताको अनुहारमा हेरे ।

कान्ता ओछ्यानको एक छेउमा बसिन् र पतिका दुवै हात आफ्नो हातमा लिएर भनिन्, “म तपाईंलाई यो यातनाबाट मुक्त गरिदिन्छु । मैले यसको निम्ति पछुताउ गर्न पर्छ वा पर्दैन त्यो ता पछि भोग्ने कुरा हो, तर तपाईंको कष्ट म अरू हेर्न सक्तिनँ । कसैले थाहा पाए भने म अपराधिनी पनि भनिने छु, तर तपाईंको दृष्टिमा म उही कान्ता रहिरहन पाए मलाई पुग्छ । हाम्रो पुनर्जन्म भयो भने म तपाईंकै पत्नी हुन पाऊँ ।”

कान्ताले आफूलाई समाल्न सकिनन्, त्यो नरकंकाल शरीरको छातीमा टाउको अड्याएर उनले हिक्का छोडिन् । कर्णले उनको टाउको सुमसुम्याउनसम्म सकेनन्, तर उनका आँखाबाट पानी झरे ।

केही बेरपछि कान्ता उठिन् र कर्णको निधारमा म्वाइँ खाइदिइन् आमाले छोरालाई म्वाइँ खाएजस्तो । त्यसपछि डब्बाबाट एक मुठी ‘कमपोस’ (सुत्ने औषधि)का चक्की झिकेर मसिनो पिँधिन् । त्यो धुलो फलको रसमा मिसाएर लाबर–नलीमा हालिन् ।

रस विस्तारै कर्णको शरीरमा पस्न थाल्यो, उनले एकोहोरो कान्तालाई हेरिरहे । उनको अनुहार केही शान्त हुँदै गयो, कान्ताका आँखाबाट आँसु झरिरहे – उनले ओठ टोकिरहिन् ।

(२०४४ सालमा प्रकाशित थापाको कथाकृति ‘प्रलय प्रतीक्षा’बाट)
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro