site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नेपाली उपन्यासमा विश्वेश्वरप्रसाद कोइराला
SkywellSkywell

जीवनका वक्ररेखा
(आत्मसंस्मरण:  विजय चालिसे)
लामो समय गोरखापत्र संस्थानमा आबद्ध पत्रकार विजय चालिसे एक कुशल कथाशिल्पी पनि हुन् । २० को दशकदेखि नै साहित्यमा रमाउँदै आएका विजयको आत्मसंस्मरणात्मक कृति प्रकाशित छ, ‘जीवनका वक्ररेखा’ ।

साहित्यकार चालिसेका साहित्य र आमसञ्चार–पत्रकारिता गरेर अनेक कृतिहरू प्रकाशित छन् । २०३१ सालमै उनको पहिलो उपन्यास प्रकाशित भइसकेको हो । त्यसउप्रान्त उपन्यास, कथा, संस्कृति, यात्रा, निबन्ध, बालसाहित्य गरेर दर्जनौँ पुस्तकहरू प्रकाशित छन् ।

कृतिकार चालिसेले मेरो भन्नुमा लेखेका छन्, “पूर्ववर्ती अग्रजहरूको पंक्तिमा अहिले म पनि लामबद्ध हुन आइपुगेको छु । यसमा मैले आफूलाई, आफू बाँचेको समाजलाई र ती कालखण्डका संस्कृति–राजनीति र साहित्यका साथै पत्रकारिताका विविध पाटाहरूलाई इमानदारीसाथ उधिन्ने प्रयास गरेको छु । आफूलाई देख्नु र आफ्नो बारेमा लेख्नु अत्यन्त कठिन कार्य हो ।...।”

Dabur Nepal
NIC Asia

बाजुरम पौडेलले प्रकाशकीयमा लेखेका छन्, “भनिन्छ, साँचो बोल्नु अत्यन्त कठिन कार्य हो, त्यसमा पनि जीवनमा आफ्नो विषयमा साँचो र सत्य बोल्न झनै कठिन हुन्छ । यसप्रकार साँचो र सत्य बोल्न नसक्नेले आत्मजीवनी लेख्न सक्दैन भन्ने धारणा सर्वथा चर्चामा आउने गरेको पाइन्छ ।...।”

‘जीवनका वक्ररेखा’मा चालिसेको बाल्यकाल, थातथलो, समाज, दाम्पत्य, प्रवेशिका, हिप्पी, गुप्तचर, राविसे, व्यवसायलगायत अनगिन्ती विषय प्रसंग नौ भागमा प्रस्तुत गरिएको छ ।

‘हिप्पी, गुप्तचर र राविसे’को एक अंशमा चालिसेले लेखेका छन्, “त्यही बेला सन् १९७० को अन्त्यतिर काठमाडौंको खिचापोखरीतिर हिप्पीहरूको चर्तिकला देख्न पाइन्थ्यो । कतिपय गन्जी र फाटेको जिन पाइन्ट, कतिपय हाफ पाइन्ट मात्रै लगाएर लगभग अनावृत्त भई हिँडिरहेका र बसिरहेका देखिन्थे ।...।” (पृष्ठ — १०५)

सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ३१२+४ पृष्ठको यो कृतिको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

०००

नेपाली उपन्यासमा विश्वेश्वरप्रसाद कोइराला
(समालोचनासंग्रह: बद्रीप्रसाद ढकाल)
नेपाली राजनीतिमा सगरमाथाको उचाइ नाघ्ने विश्वेश्वरप्रसाद कोइरालाले साहित्यमा त्योभन्दा अग्लो छवि कायम गरेको हरेकले स्वीकार्दै आएको विषय हो । नेपाली साहित्यवृत्तमा बीपी कोइरालाको बेलाबखत चर्चा हुँदै आएको पनि छ । अध्ययन, अनुसन्धान गर्न रुचाउनेहरूले साहित्यमा बीपीलाई बुझ्न झन् कठिन रहेको र उनीद्वारा सिर्जित साहित्यमा विद्यमान मिहिनभन्दा मिहिन विषयको समीक्षा हुनै बाँकी रहेको बताउँछन् ।

उनै आख्यानकार बीपी कोइरालाको उपन्यासहरूमाथि लेखिएको समालोचनाहरूको सँगालो हो, ‘नेपाली उपन्यासमा विश्वेश्वरप्रसाद कोइराला’ । लेखक हुन्, साहित्यकार बद्रीप्रसाद ढकाल ।

ढकालले आफ्नो भनाइमा लेखेका छन्, “उनका छवटा औपन्यासिक कृतिहरू तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदीआइन (२०३०), हिटलर र यहुदी (२०४०) र बाबु आमा र छोरा (२०४५) प्रकाशित रहेका छन् । यस पुस्तकमा आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाका छवटै उपन्यासहरूको विभिन्न कोणबाट विश्लेषण गरिएको छ ।”

पुस्तकको ब्लर्बमा डा. तुलसी भट्टराई, प्रा. डा. गोविन्दराज भट्टराई, प्रा. डा. कुमारप्रसाद कोइराला, केशव पराजुली र नवराज रिजालले कृतिको महत्ताबारे आफ्नो मन्तव्य लेखका छन् ।

विदुर गौतमले प्रकाशकीयमा लेखेका छन्, “प्रस्तुत ग्रन्थमा नेपाली उपन्यासका एक विशिष्ट व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको जीवनीदेखि व्यक्तित्व र लेखनको आरम्भकालदेखि यसका विभिन्न विकासका कालगत चरणहरूको परिचय र विवेचना प्रवृत्तिलगायत सबै पक्षको बारेमा लेखी उनका उपन्यासको विभिन्न कोणबाट विश्लेषणात्मक कार्य भएको छ ।”

पुस्तकको पहिलो भागमा बीपीको जीवनी र दोस्रो भागमा ६ वटै उपन्यासको विभिन्न कोणबाट समालोचना गरिएको छ ।

तन्नेरी प्रकाशनद्वारा बजारमा ल्याइएको २३२+४ पृष्ठको यो कृतिको मूल्य ९००/– रुपैयाँ राखिएको छ ।

०००

डाँडावारि डाँडापारि
(नियात्रासंग्रह: विष्णु एस राई)
साहित्यमा सक्रिय सर्जक हुन्, डा. विष्णु एस राई । उनी अनेक विधामा कलम चलाउँछन् । काव्य विधामा पनि रचना गर्दै आएका राईको पछिल्लो कृति हो, ‘डाँडावारि डाँडापारि’ ।

राईको पहिलो नियात्रासंग्रह ‘नौ डाँडापारि’ पनि प्रकाशित छ । त्यसमा उनले आफ्नो विदेश भ्रमणका सन्दर्भ प्रस्तुत गरेका छन् ।

लेखक राईले लेखकीयमा उल्लेख गरेका छन्, “यात्रा सुन्दर ठाउँको मात्र गर्नुपर्छ भन्ने पनि छैन र अर्को कुरो, सुन्दरता भनेको हेर्ने आँखामा निर्भर हुन्छ । त्यसैले यस पुस्तकमा भएका ठाउँहरू लोकप्रिय सुन्दरताको श्रेणीमा नपर्लान्, तर मेरा आँखाहरूले तिनीहरूमा केही न केही विशेषता पक्कै देखेको छ । मैले त्यसैलाई प्रस्तुत गरेको छु ।...।”

यो नियात्राकृतिभित्र देश–विदेश दुवैतर्फका यात्रा र स्थानको वर्णन गरिएको छ । अर्थात्, डाँडावारितिर नेपालका विभिन्न भूभाग र डाँडापारितर्फ बंगलादेश, पोल्यान्ड, अमेरिका र भारतका भ्रमण स्मृति प्रस्तुत छ ।

‘माझकिरात भोजपुरमा दस दिन’ शीर्षकको नियात्रामा उनले लेखेका छन्, “हिलेसम्म त बाटो राम्रै छ, तर त्यसपछि तालुखुइलेको टाउकोजस्तो कहीँ पिच छ कहीँ छैन, कहीँ ग्रावेल छ कहीँ त्यो पनि छैन, कहीँ ढुंगैढुंगा कहीँ हिलो । घन्द्र्याङ घुन्दु्रङ गर्दै ट्रक, बस, बलेरो र बीचबीचमा साना कारहरू । सबैभन्दा बेफिक्रीले ट्रकहरू जान्छन्, त्यसपछि बसहरू (किनभने, भित्र प्यासेन्जर भएकोले होला), त्यसपछि बलेरोहरू अलि–अलि मात्तिएझैँ ढलमल गर्दै, र अनि सबैभन्दा पछि सावधानीपूर्वक साना कारहरू गुड्छन् यस रोडमा ।” (पृष्ठ — १३९)

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित २६४+४ पृष्ठको यो पुस्तकको मूल्य ४९५/– रुपैयाँ राखिएको छ । 

०००

विचार र विश्लेषण
(समीक्षासंग्रह: प्रा. डा. उषा ठाकुर)
प्रा. डा. उषा ठाकुर साहित्यमा परिचित नाम हो । दुई कार्यकाल नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रहिसकेकी उनको प्रकाशित पछिल्लो पुस्तक हो, ‘विचार र विश्लेषण’ । यसमा उनको विचारसँगै केही संस्मरणात्मक प्रसंग समावेश छ ।

कृतिकार ठाकुरले भूमिकामा लेखेकी छन्, “साहित्यका विविध विधाबाट कृति/कृतिकारका विभिन्न साहित्यिक प्रवृत्ति, चिन्तन, दर्शन, भाव, शिल्प–शैलीका बारेमा सम्यक मूल्यांकन गर्दै समालोचनाप्रतिको निष्पक्षता, तटस्थता, इमानदारिता, निर्भीकता र सर्वांगीणतालाई बल पुर्याउँदै म आफ्नो कसीमा बसेर समीक्षात्मक कर्मतिर तर्कसम्मत विवेचना गर्ने प्रयास गरेकी छु ।...।”

कृतिको प्रकाशकीयमा बसन्त चौधरीले लेखेका छन्, “विचार र विश्लेषण त पुस्तकको नाम नै भएकाले यस सन्दर्भमा चर्चा गरिरहनु पर्दैन । यस अतिरिक्त मिमांशा, संस्मरण, विभिन्न साहित्यिक भ्रमणका क्रममा प्रकट भएका बहुमूल्य चिन्तन मननहरूले यस पुस्तकलाई थप अध्ययनको विषय बनाएको छ ।”

यो कृतिभित्र सर्जक ठाकुरका २६ रचना संकलित छ । विभिन्न सर्जक र तिनका सिर्जनाका विषयमा लेखिएको छ ।

श्री लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा प्रकाशित १९२+४ पृष्ठको यो पुस्तकको मूल्य २९५/– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu