नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा गत साता भारतका नेपाल मामिला जानकारहरू एकै ठाउँ भेला भएका थिए ।
राष्ट्रिय सुरक्षा सल्लाहकार भएर काम गरेका प्रधानमन्त्री कार्यालयका पूर्व सचिव अवधेश माथुर, भारतका पूर्व विदेश सचिव कनवाल सिवाल, भारतीय सेनाका अवकासप्राप्त लेफ्टिनेन्ट जनरल डा. राकेश शर्मा, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेलगायतको उपस्थिति थियो ।
पछिल्ला वर्षहरूमा नेपालमा चीन र अमेरिकाले प्रभाव बढाउँदै लगेको बुझाई उनीहरूको छ । तिनको निस्कर्ष थियो, “चीन र अमेरिकाले नेपालमा आफ्नो प्रभाव बढाउँदै जाँदा भारतमाथि चिन्ता थपियो ।”
उनीहरूले यसलाई चीन र अमेरिकाको ‘हस्तक्षेप’ सम्म भनेका थिए । चीन र अमेरिकाले नेपालमा प्रभाव बढाउँदा यसको असर आफ्नो देशमा पर्ने दाबी र चिन्ता एकसाथ उनीहरूले प्रकट गरेका थिए ।
चीन र अमेरिकाले नेपालको आर्थिक, सामाजिक, राजनीतिकलगायतका क्षेत्रमा देखाएको चासो भारतमाथिको चुनौती भएको टिप्पणी उनीहरूको थियो ।
स्वतन्त्र युवा प्रजातान्त्रिक संघको पहलमा भारत भ्रमणमा गएको नेपाली पत्रकारहरूसँग स्वामी विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसनमा गत मंगलबार छलफल भएको थियो । छलफलका प्राथमिकतामा नेपाल, भारत, चीन र अमेरिका परेका थिए ।
भारतीय प्रधानमन्त्री कार्यालयका पूर्व सचिव अवधेश माथुरले नेपालमा चीनको सक्रियता पछिल्ला दिनमा ह्वात्तै बढेको र अमेरिका समेत नेपालमा सक्रिय हुन खोजिरहेको बताए । नेपालमा ‘भारत–चीनसँगको सम्बन्ध सन्तुलित गर्नुपर्ने’ मान्यता रहेको बुझाई उनको थियो । तर चीन र अमेरिकाभन्दा पनि नेपालको हित भारतसँगको सम्बन्धले मात्र हुन सक्ने तर्क उनले दिए ।
“पछिल्ला दिनमा चीन एकदमै सक्रिय भएको छ । अमेरिका पनि आफ्नो भूमिका नेपालमा बढाउनुपर्छ भन्नेमा छ,” माथुरले भने, “नेपाललाई चीन र भारतसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्छ भन्ने मान्यता छ ।”
विश्वको पहिलो र दोस्रो ठूलो जनसंख्या भएको दुई देश (चीन र भारत) हाल विश्व राजनीतिको शक्ति केन्द्र बन्न उद्यत् छन् । यसैकारण विस्तारै विश्व राजनीतिको केन्द्रविन्दू दक्षिण एसिया बन्दै गएको उनले बताए ।
भारत सरकारका पूर्व विदेश सचिव कनवाल सिवालले भारत र चीन बिचको सम्बन्धको ‘संवेदनशीलता’लाई नेपालले गहिरोसँग बुझ्नुपर्ने बताए ।
“भारत–चीन सम्बन्धको विषयमा काठमाडौं जानकार छ । सम्बन्धको यो संवेदनशीलतालाई नेपालले विचार पु¥याउनुपर्छ,” सिवाल भन्छन्, “चीनले हामीलाई धेरै चुनौती र समस्या खडा गर्न खोजेको छ । यसलाई नेपालले पनि बुझ्नुपर्छ भन्ने मान्यता हाम्रो छ ।”
मधेशमा चीन
एकपछि अर्को परियोजनामार्फत चीन नेपालको मधेश र स्थानीय सरकारसम्म पुग्न खोजेको बुझाई भारतीय नेपाल मामिला जानकारहरूको छ । भारतीय सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल डा. राकेश शर्मा चाहिँ चीन नेपालको मधेश प्रदेशमा पसेपछि थप चुनौती थपिएको बताउँछन् ।
“इतिहासले देखाइसकेको छ, भारत–चीन सम्बन्ध संवेदनशील विषय हो । चीन नेपालको मधेश झरेपछि अझ संवेदनशीलता बढ्छ, जुन कुरा स्वभाविक हो । हाम्रो चीनसँग पुरानो विवाद र समस्या छ,” शर्माको तर्क छ ।
समस्याको समाधान काठमाडौंमा
भारतीय कूटनीतिज्ञको बुझाइमा, समस्याको समाधान काठमाडौंसँगै छ । दुवै देशको सरकार, प्रशासन र कूटनीतिज्ञबाट संगिन प्रयास भए सबै समस्याको समाधान काठमाडौंले दिनसक्ने बुझाई उनीहरूको छ ।
एकपछि अर्को ठूला परियोजनाको काम चीनलाई दिँदै गए नेपाल श्रीलंकाको हालतमा पुग्ने तर्क उनीहरूको छ । पूर्व विदेश सचिव सिवालकै शब्दमा, ‘‘चीनलाई मधेश पस्न नदिन भारतले हरसम्भव प्रयास गर्दै आएको र गरिरहेको छ ।’’
उनले स्पष्ट शब्दमा भने, “म नेपालमा हुँदा चीनलाई मधेश जानबाट रोक्न सकेजति प्रयास गरियो । त्यसकारण जबसम्म नेपाल–भारत उच्चस्तरमा संवाद गरी आपसी समझदारी हुन्छ, तब सफलता प्राप्त हुन्छ ।”
नेपाल र चीनबीच सन् २०१७ मा चिनियाँ महत्वकांक्षी परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ (बीआरआई) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । बीआरआईअन्तर्गत विकास परियोजनाहरू अगाडि बढाउने विषयमा नेपाल र चीनबीच छलफल चलिरहेको छ ।
तर भारतका नेपाल मामिला जानकारहरू भने यसप्रति सकारात्मक देखिँदैनन् । नेपालको आन्तरिक राजनीति, सरकार गठन, चुनावी समीकरण निर्माण लगायत विषयमा चीनले चासो बढाउँदै लगेको बुझाई उनीहरूको छ । चीनले प्रभाव बढाउँदा त्यसको खतरा भारतमा महसूस भएको टिप्पणी उनीहरूको थियो ।
प्राथमिकता ‘युथ कनेक्टिभीटी’ मा
नेपाल र भारतबीचको सम्बन्धमा सधैँ जोडिन आउने शब्दावली हो, ‘रोटी–बेटी’ । नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध रहेकाले सम्बन्ध कहिल्यै नबिग्रने र बिगार्न नहुने तर्क गरिन्छ ।
तर, अब ‘रोटी–बेटी’ लाई आधार मानेर नेपाल–भारत सम्बन्ध मजबुत बनाउन नसकिने निचोडमा भारतीय नेपाल मामिला जानकारहरू पुगेका छन् । दुई देशका जनता–जनताबीचको सम्बन्ध असाध्यै राम्रो छ भनेर व्याख्या गरिँदै आइए पनि युवा पुस्तामा भारतप्रतिको दृष्किोण समान नभएको निस्कर्ष उनीहरूको छ ।
२०७२ असोज ३ मा नेपालको संविधानसभाले नयाँ संविधान जारी गर्दा भारतले देखाएको असन्तुष्टि र त्यसपछि भारतले लगाएको नाकाबन्दीले नेपाली युवामा भारतविरोधी भावना ह्वात्तै बढाएको उनीहरू बताउँछन् ।
पछिल्ला दिन भारतसँगको सीमा समस्या खासगरी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर नेपाली युवामा भारतप्रति असन्तुष्टि चुलिएको अवकासप्राप्त भारतीय लेफ्टिनेन्ट जनरल डा. राकेश शर्माको छ ।
उनले संयुक्त राष्ट्रसंघमा समान एक भोट भएको दुई सार्वभौम राष्ट्रबीचको सम्बन्धलाई थप उचाईंमा पुर्याउन विशेष भूमिका खेल्नु आवश्यकता रहेको बताए ।
“अब ‘रोटी–बेटी’ पुरानो भइसक्यो । पटक–पटकको नाकावन्दीले नेपालले धेरै घाटा बेहोरेको छ । कहिकाहीँ घनिष्ट सम्बन्धमा यस्ता समस्या आउँछन् । हामी यसतर्फ नजाऔं,” शर्माले भने, “अब अगाडि सोच्नुपर्ने आवश्यकता छ । कहिलेकाहीँ भाइ–भाइबीच समस्या आइहाल्छ नि ।”
शर्मा थप्छन्, “चीन रेल्वेबाट अघि बढ्न खोजेको छ । दिल्लीबाट भारतले पनि रेल लाइन दिन सक्नुपर्छ । हामीले तीन नेपालीलाई सेनाको मेजर बनायौं । चाइनाले बनाउन सक्छ त ? सक्दैन । त्यसैले यस्ता विषयमा जिम्मेवारपूर्ण ढंगले अघि बढ्न सक्नुपर्छ ।”
छलफलमा बसेका नेपालका लागि पूर्व राजदूत रञ्जित रे दुई देशको विशिष्ट सम्बन्धमा कहिलेकाहीँ समस्या आउनुलाई स्वभाविक ठान्छन् ।
उनले आर्थिक, भौतिक, सामाजिक, वित्तीय तथा सेवा क्षेत्रमा पनि नेपाल–भारत ‘कनेक्टिभिटी’ बढ्दै गएको जनाए । नेपाल विकास पथमा अघि बढिरहँदा भारतले सहयोग गर्ने भन्दै उनले ‘युथ कनेक्टिभिटी’ वर्तमान समयको आवश्यकता भएको औंल्याए ।
“नेपालमा आईटी स्टार्टअपमा युवाहरू लागेका छन् । यो राम्रो छ र यसलाई भारतसँग जोड्नुपर्छ’’, उनले भने, ‘‘हालै अरिजित सिंहले नेपाल गएर कन्र्सट गरे । मैले देखेको कला र मनोरन्जबाट पनि युवा जोड्न सकिन्छ ।’’