काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८)मा भाग लिएर आइतबार बेलुका उनी स्वदेश फर्किएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए ।
शनिबार सो सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै उक्त अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । उनले हिमाल जोगाउन र विश्वका मानवजातिको रक्षाका निम्ति जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका थिए ।
सम्मेलनमा उनले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता समेत गरेका थिए । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते दुबईतर्फ प्रस्थान गरेका थिए ।