
बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि भन्ने उखान बुबा धनप्रसादको जीवनमा चरितार्थ भएको थियो । तीनै छोराहरूले गाउँदेखि नजिक रहेको बजारमा आ–आफूले घर बनाई व्यापार–व्यवसाय सञ्चालन गरी घरजम गरेका थिए ।
तर, बुबा धनप्रसादलाई हेर्नेवाला कोही थिएनन् । छोराबुहारी, नातिनातिना कसैले उनलाई नहेर्ने भएपछि गाउँकै पुरानो काठेघरमा एक्लै बस्न बाध्य भएका थिए ।
धनप्रसादलाई विगतका कुरा सम्झेर छटपटी लागेर आउँथ्यो । जसलाई लेखाए, पढाए, हुर्काए ती बिहे गरेर व्यापार–व्यवसाय सम्हाल्ने भन्दै श्रीमती लिएर सहरबजार पसेका थिए ।
त्यसैले उनी घरमा एक्लै बस्न बाध्य भए । जसोतसो सके केही पकाएर खान्थे, नसके भोकै सुत्थे । वृद्धभत्ताले नै नुन, तेल, चामल, दाल खरिद गरी जीवन निर्वाह गरिरहेका थिए ।
एक दुई दिन गर्दै छोराहरूले छोडेको पनि ६ महिना बितिसकेको थयो । उनी दिनदिनै कमजोर हुँदै गएका थिए । विगतमा समाजमा एक अलग प्रतिष्ठा र पहिचान बनाउन सफल धनप्रसाद जस्तोसुकै परिस्थितिमा पनि कसैका अगाडि हात फैलाउन चाहँदैन थिए ।
दुई दिन भोकै हुँदा पनि पाउरोटी किनेर खान्थे, तर कसैलाई भोकै छु भन्दैन थिए । वास्तवमा उनी एक आदर्शवादी र निष्ठावान् व्यक्ति भएकाले कसैले दिएको खाना पनि खाँदैन थिए ।
बूढा मर्लान् कि भन्ने त्रासले गाउँलेहरू खानालाई प्रसाद भन्दै धनप्रसादलाई खुवाएर आउँथे । छोरा भएतिर जाँदा वास्ता नहुने भएकाले उनी आफूले आफैँलाई धिक्कार्नुबाहेक केही गर्न सक्दैन थिए ।
धनप्रसादको शरीरको शक्ति क्षीण भइसकेको थियो । उठबस गर्न पनि गाह्रो हुँदै गएको थियो । घरदेखि बाहिर निस्कने, हिँड्डुल गर्ने काम पनि दिनदिनै कम भइसकेको थियो ।
समय बित्दै जाँदा धनप्रसाद कोठाभित्रै सीमित भएर बस्न थाले । तथापि, कसैले उनको खोजखबर गरेका थिएनन् ।
दसैँतिहार आउन लागेकाले देश–विदेशमा कमाउन गएकाहरूमध्ये कतिपय दाजुभाइ गाउँ फर्किरहेका थिए । झन्डै सात वर्षपछि धनप्रसादका बाल्यकालका साथी पुरुषोत्तम गाउँ आइपुगे ।
गाउँका सबैसँग उनको भेट भयो । तर, अनन्य मित्र धनप्रसादसँग भेट हुन सकिरहेको थिएन । उनले धनप्रसादका बारेमा खोजी गरे । उनीहरू बाल्यकालका मित्र मात्रै होइन, हरेक दुःखसुख साथी पनि थिए । एकार्कालाई परेको बेला तन, मन, धनले सहयोग गर्थे ।
धनप्रसादको स्वास्थ्य अवस्था ठिक नभएको चाल पाएपछि पुरुषोत्तम हतारहतार मित्रलाई भेट्न उनको घरमा पुगे । उनी अर्कोतिर कोल्टो फर्केर सुतिरहेका थिए ।
‘धनप्रसाद... ए धनप्रसाद...’ भन्दै पुरुषोत्तमले मित्रलाई बोलाए । उनी सकिनसकी उठे । धेरै वर्षपछि दुई मित्रको भेट भएकाले दुवै हर्षित थिए । धनप्रसादका लागि ल्याएको कोसेली पुरुषोत्तमले उनको हातमा राखिदिए ।
दुवैबीचमा लामो भलाकुसारी भयो । सुखदुःखका बातहरू भए । बाल्यावस्थामा सँगै स्कुल पढेका, खेलेका, लडेका कुरा गर्दै समय बित्यो । साँझ पर्न लागेकाले पुरुषोत्तम भोलि आउँला भन्दै बिदा भए । बिदा हुँदा उनले धनप्रसादलाई आफूले लिएको पैसा पनि ल्याइदिने कुरा गरे ।
साँझ उनले धनप्रसादका छोराहरूलाई १० वर्षअघि आफ्नो छोरालाई विदेश पठाउँदा लिएको सापटी रकम फिर्ता गर्ने भएकाले उपस्थित हुन खबर पठाए । भोलिपल्ट तोकिएको समयमा धनप्रसादका सबै छोरा आफ्नो बाबुकोे घरमा आइपुगे ।
कुराकानी सुरु गर्दै पुरुषोत्तमले भने, “१० वर्षअघि मेरो छोरालाई विदेश पठाउँदा मैले तिम्रा बासँग पाँच लाख ऋण सापटी लिएर पठाएको थिएँ । उसले राम्रो प्रगति गर्यो । राम्रो कमायो । म आउँदा त्यो पाँच लाख साँवा र १० वर्षको ब्याजसहित जम्मा १५ लाख रुपैयाँ ल्याइदिएको छु । त्यो पैसा तिम्रा बालाई तिमीहरूकै उपस्थितिमा दिन चाहन्छु । के गर्दा ठिक होला, भन ।”
धनप्रसादका छोराहरू दंग परे । तिनले सल्लाह गरे । उनका जेठा छोराले भने, “यो सबै पैसा बुवाको हो, अब उहाँलाई यो पैसाको के काम ? हामी पाँचपाँच लाखका दरले तीनैजनाले लिन्छौ ।”
सुन्नासाथ धनप्रसाद ठूलो स्वरमा चिच्याए, “मलाई कुनै छोराले हेरचाह गरेका छैनन् । त्यसैले यो पैसा म छोराहरूलाई दिन चाहन्नँ । बरु, पैसा मेरो बैंक खातामा राखिदिनू । विस्तारै आफूलाई मनपर्ने खानेकुरा किन्छु र खान्छु । आफैँमा खर्च गर्छु ।”
यो सुन्नासाथ धनप्रसादका छोराहरू अत्तालिए र बालाई फकाउन थाले । तर, धनप्रसादले कसैको कुरा सुन्न चाहेनन् । अन्ततः तीनैजना छोराहरूले धनप्रसादलाई नियमित रूपमा पालनपोषण अनि औषधि उपचार गर्ने निधो गरे । धनप्रसादको निधन भएपछि मात्रै उनको बैंक खाताबाट पैसा निकाल्ने टुंगो लाग्यो ।
धनप्रसादका मित्र पुरुषोत्तमले उनका छोराहरूको रोहबरमा सबै पैसा बैंकमा जम्मा गरिदिए । पैसा जम्मा भएपछि तीनै छोराहरूले आलोपालो धनप्रसादको सेवा गर्न थाले । बिमारले थलिएका उनी एकदुई साताभित्रै पहिलेजस्तै तन्दुरुस्त भए । उनी हिँड्डुल गर्न थाले । उनको यो अवस्था देखेर छोराबुहारी, नातिनातिना सबै खुसी भए ।
गाउँमा दसैँको चहलपहल सुरु भयो । धनप्रसादका छोराहरूले त्यही पुरानो काठको घरलाई रङरोगन गरेर चहकिलो बनाए । घर–आँगनभरि सयपत्रीलगायत विभिन्न फूलहरू लगाए । धनप्रसादको घर अचेल परैबाट हेर्दा पनि सुन्दर देखिन थालेको छ । आनन्दको अनुभूति हुन्छ उनको घर हेर्दा ।
अर्थात्, फेरि त्यो घरमा पहिलेझैँ रौनक छायो । उनका छोराबुहारीले आलोपालो मूलघरमा आएर बासँग समय बिताउन थाले । दसैँको टीकाको दिन सबै छोराबुहारी, केटाकेटीहरू धनप्रसादसँग टीका थाप्न आए । सबैले दसैँ धुमधामसँग मनाए ।
धनप्रसादको तिहार पनि रमाइलो बित्यो । उनको घरमा फेरि रौनक छायो । परिवारका सबै सदस्यहरूले एक ठाउँ बसेर हर्षका साथ तिहारलाई बिदाइ गरे ।
समय बित्दै गयो । एकदुई महिना पनि नबाँच्ने भनिएका धनप्रसादको निधन हुँदा उनी ९० वर्ष पुगिसकेका थिए ।
उनका छोराहरूले धर्मसंस्कृति, परम्पराअनुसार अन्त्येष्टि गरे । सक्दो दानदक्षिणा दिएर क्रियाकर्म सकाए । केही दिनपछि सरसल्लाह गरेर धनप्रसादको बैंक खातामा रहेको रकम निकाल्न गए ।
तिनले बाको खाताको रकमबारे सोधखोज गरे । बैंकका कर्मचारीले खातामा ३० हजार रुपैयाँ मात्रै भएको जानकारी दिए । यो सुनेर धनप्रसादका छोराहरू छक्क परे । तिनलाई विश्वास लागेन र फेरि जाँच गरेर हेर्न भने ।
एक छोराले भने, “ब्याजसहित झन्डै ३० लाख पो हुनुपर्ने हो, राम्ररी हेर्नुस् न !” तर, बैंकका अधिकारीले दुई किस्ताको वृद्धभत्ता र पुरानो बाँकी गरेर जम्मा ३० हजार रहेको जानकारी गराए ।
यो सुनेर धनप्रसादका छोराहरूको होस हवास उड्यो । तरतरी पसिना आयो ज्यानमा । तिनले छानबिन गरे । बैंक स्टेटमेन्ट हेरे । बुझ्दै जाँदा धनप्रसादका मित्र पुरुषोत्तमले रकम जम्मा गरेको केही समयपछि नै चेक काटेर सबै पैसा झिकिसकेका रहेछन् ।
धनप्रसादका छोराहरूमा रिसको पारो माथि उक्लियो । उनीहरू तत्कालै पुरुषोत्तम काकाको घरतिर दौडिए । तिनले सोधे, “काका, तपार्इं हाम्रो बासमानको मान्छे । हाम्रै अगाडि तपाईंले बालाई दिएको पैसा खातामा जम्मा गरिदिनुभयो । पछि त हाम्रो अनुपस्थितिमा सबै पैसा झिकेर लानुभएछ, यो के गर्नुभएको ?”
पुरुषोत्तम तिनका कुरा सुनेर मुसुक्क मुस्कुराए, अनि भन्न थाले, “हेर बाबु, तिमीहरू पनि मेरा छोराजस्तै हौ । जब म विदेशबाट फर्किएँ र तिम्रा बालाई भेटेँ, त्यस बेला देखेँ, तिमीहरूले देउतासमान बालाई खानलाउन नदिएर पुरानै घरमा मर्न छाडिदिएको । त्यस दिन धनप्रसादले आफ्ना पीडा पोखे । उनको दुःख सुनेपछि तिम्रा आँखा खोल्न मैले नै धनप्रसादसँग सल्लाह गरेर नाटक रचेँ । र, मैले मेरो पैसा बैंकमा जम्मा गरिदिएँ । तिम्रो बासँग मैले कहिले पनि ऋण सापट लिएको थिइनँ । पैसा देखेपछि तिमीहरूले आफ्नो बालाई हेर्लाउ भनेरै हामीले यो सबै नाटक रचेका हौँ । पैसा जम्मा गरेको भोलिपल्टै तिम्रा बाले मलाई चेकमा सही गरेर दिए र मैले सबै पैसा निकालेँ ।”
धनप्रसादका तीनै छोरा उनका कुरा सुनेर किंकर्तव्यविमूढ भए । पुरुषोत्तम भने तिनका अनुहारमा ग्लानिका रेखाहरू देखिरहेका थिए ।
(धरान)