
काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको बेलायतमा रहेको एक कम्पनीले खरिद गरेको छ । आजियटा समूहले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिने निर्णय यसअघि नै गरेको थियो ।
सो सेयर आचार्यको नेतृत्वमा बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको जारी विज्ञप्तिमा जनाइएको छ । आचार्य सिंगापुरमा व्यापार व्यवसाय गर्ने नेपाली नागरिक हुन् ।
आचार्यले कम्पनीको सेयर खरिदपछिको संक्षिप्त प्रतिक्रियामा भनेका छन्, “म यो सम्झौताबाट खुसी छु । दुरसञ्चार उद्योगमा रहेको मेरो अनुभवलाई लिएर एनसेलको व्यवस्थापनसँग नयाँ आविस्कार, लगानी र नेपाल जनतालाई सेवा उपलब्ध गराउने कार्यमा रहनेछु ।”
त्यसैगरी एनसेलका सीईओ जाबोर क्युमोभले भनेका छन्, “नयाँ सेयरधनीहरुसँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । एसनेलको डिजिटल अग्रणी सेवा र इन्टरनेट पहुँच प्लेटफर्मको रुपमा कायम राख्नु हाम्रो उद्देश्य हुनेछ ।”
आजियाटा ग्रुप बहार्डले बुधबार आफ्नो सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो । आजियाटा बाहिरिने भएपछि उसको सेयर आचार्यको कम्पनीले किनेको हो । आजियाटाले नेपालको परिप्रेक्ष्य चुनौतीपूर्ण देखिएको भनेर बोर्डले बाहिरिने निर्णय गरेको भनेको थियो ।
दूरसञ्चार ऐन, २०५३ बमोजिम विदेशी कम्पनी भएका कारण लाइसेन्स अवधि २५ वर्षपुगेपछि अर्थात् करिब ६ वर्षपछि एनसेलको स्वामित्व स्वतः सरकारलाई आउने थियो । तर, नेपाली कम्पनीले एनसेलको सेयर स्वामित्व पाएसँगै लाइसेन्स नवीकरण गरेर त्यसपछि पनि सञ्चालन जारी राख्न सक्नेछ ।
आजियाटाले पहिले नै बिक्रीका लागि डिल फाइनल गरी एनसेलबाट बाहिरिने घोषणा गरेको हुनसक्ने आकलन गरिएको थियो । सन् २००४ मा स्पाइस नेपालका रुपमा स्थापना भएको कम्पनीले सन् २००५ मा मेरो मोबाइलमार्फत् दूरसञ्चार सेवा सुरु गरेको थियो ।
त्यसपछि सन् २००८ मा स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर किन्न इच्छा देखाएको थियो । खरिद गरेपछि सन् २०१० को मार्च १२ मा स्पाइस नेपालको नाम फेरिएर एनसेल राखिएको थियो ।
सन् २०१० सम्म एनसेल लगभग नेपालभर फैलिइसकेको थियो । त्यतिबेला नै यसले थ्रीजी सेवा सुरु गरेको थियो । सन् २०१५ को डिसेम्बर २१ मा टेलियासोनेराले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो । त्यसपछि नेपाल भित्रिएको थियो मलेसियन कम्पनी आजियाटा ।
सन् २०१६ को अप्रिल १२ मा आजियाटाले टेलिया सोनेराबाट एनसेलको सेयर खरिद गरेको थियो । सन् २०१८ मा एनसेलले फोरजी सेवा सुरु गरेको थियो । सन् २०२० को अगस्ट ३ मा एनसेलको नाम एनसेल आजियाटा लिमिटेड राखिएको थियो ।
एनसेलमा यसअघि ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेरा क्यापिटल भेन्चरको रहेको थियो ।