
काठमाडौंं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले माघ ११ गते हुने १९ पदको निर्वाचनको तालिका स्वीकृत गरेको हो ।
कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम तय भएको छ । राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको छ ।
पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । माघ ११ गते बिहान ९ः०० बजेदेखि अपरान्ह्न ३ः०० बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।