काठमाडौं । इजरायल र हमासबीचको युद्धविरामको आज अन्तिम दिन हो । यद्यपि, युद्धविरामलाई लम्ब्याउन विभिन्न वार्ताहरू भइरहेका छन् ।
युद्धविराममा गाजामा राहत सामग्री गइरहेको छ । इजरायली आक्रमणबाट क्षतविक्षत बनेको गाजामा अहिले दिनहुँ राहत सामग्री गइरहेको छ । गएको शुक्रबारदेखि अहिलेसम्म कम्ती ७५० ट्रक राहत सामाग्री गाजामा गएको अल्जजिराले जनाएको छ । गाजामा दुई महिनाका लागि आधारभूत आवश्यकता पूरा गर्न दैनिक २०० ट्रक राहत सामग्री आवश्यक पर्ने जनाइएको छ ।
बीबीसीका अनुसार निरन्तरको इजरायली आक्रमणबाट घरबारविहीन भएका प्यालेस्टेनी नागरिक अहिले कठिन दैनिकीबाट गुज्रिरहेका छन् । युद्धविराममा राहत सामग्री आइरहेपनि उनीहरूले सहज तरिकाले प्राप्त गर्न सकेका छैनन् ।
बीबीसीका अनुसार मध्य गाजामा पर्ने देर अल–बलाहमा खाना पकाउने ग्यासका लागि सयौँको लाइन लागेको छ । कतिपयले आफूहरू तीन दिनदेखि लाइनमा रहेको बताएका छन् । उनीहरूले आफूहरू राति सडकमै सुत्ने गरेको बताएका छन् ।
आफूले ल्याएको खाली सिलिन्डरमा बसिरहेका उनीहरूले आक्रोश पोखिरहेका छन् ।
"सबै अरब र मुस्लिमहरू कहाँ गए ? सबै मानव अधिकार रक्षकहरू कहाँ गए ? तिमीहरूले प्यालेस्टाइनी जनतालाई पीडामा छाडेका छौ, भोकमरीमा छाडेका छौ । प्यालेस्टाइन ध्वस्त भइरहेको छ," ग्यासको लाइनमा बसेकी एक मध्यम वर्षीय महिला आक्रोश पोख्छिन् ।
उनको अनुहार पीडा र आक्रोश देखिन्छ । अगाडि थप्छिन्,"हामी सबेरैदेखि एउटा ग्यास सिलिन्डर भर्न लाइनमा छौँ । मैले बिहानको प्रार्थना लाइनमा उभिरै गरेँ ।"
उनी इजरायलको सिमानाबाट दुई किलोमिटरमात्र टाढा रहेको बेइत हानोनबाट विस्थापित भएकी हुन् । उनी अहिले संयुक्त राष्ट्रसंघको एक विद्यालयमा आफ्नो परिवारसँग बस्दै आएकी छन् ।
"म इजरालयले गरेको विध्वंसबारे वर्णन गर्न सक्दिनँ । उनीहरूले घरभित्रै पूरै परिवारलाई मारेका छन् । गाजा पूर्णरूपमा ध्वस्त भइसक्यो । हामीमाथि दया गर्नुहोस्," उनले भनिन् ।
इजरयाली आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या १५ हजार नाघेको छ । त्यसमध्ये ६ हजार १५० बालबालिका रहेको अल्जजिराले जनाएको छ ।
गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यस क्रममा १२ सय जना मारिएका थिए भने कम्तीमा पाँचहजार ६०० जना घाइते भएका थिए ।
जवाफी कारबाही गरेको इजरायली सेनाको आक्रमणबाट गाजामा ३६ हजार जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरूमध्ये ७० प्रतिशत बालबालिका र महिला रहेको अल्जजिराको दाबी छ ।
वेस्ट ब्याङ्कमा कम्तीमा २४२ जना मारिएका छन् । दुई हजार ७५० जना घाइते भएका छन् ।