
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न भने सकेनन् ।
खेलको छैटौँ मिनेटमा मोसेस त्वमको प्रहार पोस्टमा लागेर फर्किँदा पोखराले अग्रता बनाउने सुनौलो अवसर गुमायो । राइट साइडबाट फ्रयांकलिन टल्लाले निकालेको पासमा ‘फस्र्ट टच’ भली प्रहार गरे पनि सेकेन्ड बारमा लागेर फर्किएको थियो ।
३३औँ मिनेटमा कप्तान अनन्त तामाङको हेडर पोखराका गोलकिपर गुएमी प्रिसो जान्गाले पन्च गर्दै गोलको सम्भावना टारे । अनिल महर्जनको कर्नरलाई अनन्तले हेडमार्फत पोस्टको दिशा दिन खोजे पनि जान्गाले त्यो सम्भावना टारेका हुन् ।
४४औँ मिनेटमा त्वमको हेडरले पोस्टको दिशा लिन सकेन । राइट साइडबाट आयुश घलानले गरेको क्रसमा त्वमको हेडर पोसट नजिकैबाट बाहिरिएको थियो ।
आज ललितपुर र पोखरा दुवै टिम लगातार दोस्रो जितको खोजीमा छन् । यसअघि, प्रतियोगिताको पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसविरुद्ध २–० को जित निकालेको थियो । पोखराले पहिलो खेलमा एफसी चितवनलाई १–० ले हराएको थियो ।
प्रतियोगितामा एक खेलबाट समान तीन अंक जोडेको ललितपुर तालिकाको दोस्रो र पोखरा चौथो स्थानमा छन् ।