
काठमाडौं । नेपालगन्जमा नौ वर्षदेखि लगातार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्कीले जितेका छन् ।
पार्कीले डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका हुन् । पार्कीले यसअघि छैठौँ संस्करणको उपाधि पनि जितेका थिए ।
एपीएफकै किरणसिंह भण्डारी तेस्रो भए । आयोजक क्रियटिभ ह्यान्ड्सका अनुसार यस वर्षको नवौँ धारा नेपालगन्ज म्याराथनको विजेता पार्कीले नगद दुई लाख पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै, दोस्रो स्थान हासिल गरेका खड्काले एक लाख र तेस्रो स्थान हासिल गरेका भण्डारीले ५० हजार पुरस्कार प्राप्त गरेका छन् ।
हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले जितसँगै ह्याट्रिक गरेकी छन् । यस्तै, फूलमती राना द्वितीय र पुष्पा भण्डारी तृतीय भएका छन् । प्रथम स्थान हासिल गरेकी सन्तोषीले ७५ हजार रुपैयाँ प्राप्त गरेकी छिन् । दोस्रो भएकी रानाले ५० हजार र तेस्रो हुन सफल भण्डारीले २५ हजार नगद हात पारेका छन् ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी केन्द्र)बीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता भएको स्मरणमा नौ वर्षदेखि आयोजना हुँदै आएको नेपालगन्ज म्याराथनको नवौँ श्रृङ्खला शनिबार नेपालगन्जको बीपी चोकबाट सुरु भएर कोहलपुर चोक परिक्रमा गरी फर्किएको थियो ।