site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
आच्छु...छु...छु चिसो !

त्यसो त जिन्दगी नै उकालीओराली अनि संयोग र वियोग हो भनिन्छ, कहिले उकालो उक्लनुपर्छ, कहिले ओरालो ओर्लनुपर्छ । कहिले मिलन हुन्छ, कहिले बिछोड । हुने कुरा हुँदै गर्छ, यसका लागि सदैव तयार रहनुपर्छ र मात्र जीवन सहज हुन्छ ।

यति कुरा थाहा हुँदाहुँदै पनि कहिलेकाहीँ नचाहेका, नसोचेका परिस्थिति सामु आउँछन् र अलमलमा पारिदिन्छन् । यस्तोमा पनि यही नै जीवन हो ठान्नुको विकल्प हुँदैन ।

०००

Dabur Nepal
NIC Asia

यो त भयो जीवनको कुरा । अब लागौँ, कुरोको चुरोतिर ।

यही माटोमा जन्म, यही माटोमै दौडकुद । यही माटोमै सबथोक गरिँदै छ भने यही माटो र यो भूगोलबारे थाहा नहुने त कुरै भएन । तर, थाहा नभएका र अनुमान गरेभन्दा भिन्न पनि धेरै कुरा हुँदा रहेछन् र तिनले छक्क पारिदिँदा रहेछन् ।

अनुमान थिएन यति धेरै हिँड्नुपर्छ एकोहोरो ! यति धेरै चढ्नुपर्छ उकालैउकालो, ओरालो नै आउँदैन !

आँटिसकेपछि बीचबाटै मुन्टो फर्काउने कुरो भएन । अरूलाई हेर्दै चढियो आफँै आफूलाई ढाडस दिँदै, अरू कसले दिने, कसले पो लगिदिने र ?

अनि, कसको पो आस गर्नु ? जब बाटो उही हो, स्याँस्याँ र फ्याँफ्याँ गर्दै लौरोको सहारामा चढिरहेछन् उकालो, सबैको अवस्था उस्तै छ !

आखिर सबैको सकस उही न हो, आफूलाई कसरी गन्तव्यसम्म पुर्याऊँ र ढुक्कले लामो सास फेरूँ ।

०००

झिसमिसेमै हिँड्न थालिएको हो, अब त सकियो भन्यो, अहँ, सकिँदैन ! झन् पो उकालिन्छ बाटो । हिँडियो झन्डै आधा दिन । कम हो, लगातार बाह्र घण्टा हिँड्नु ? त्यो पनि उकालैउकालो ।

तर, मान्छेका लाममा, मान्छेकै अघिपछि गर्दै, कहिले उछिन्दै र कहिले पछि पर्दै हिँडियो लगातार, ठाउँठाउँमा टेकिरहेको लौरोको टेको लगाएर सुइय्य र खुइय्य गर्दै अडिँदाबाहेक ।

हिजोको बास र खानपिनचाहिँ, न सम्झूँ भो, बिर्सनु नै बेस !

०००

बिहान ४ बजे डिम्सा छाडेको, कुण्डछेउ पुग्दा चार बज्नै आँटेको थियो ।

साँझमा त्यो उचाइमा पुग्दा चिसो महसुस नहुने कुरै भएन । न्याना कपडाले छोपिएका थिए शिरदेखि पाउसम्म सबै । सिरसिरे हावा चले पनि उसको दाल गलेको थिएन, भित्रसम्म छुने हैसियत थिएन उसको । बाहिरै अलमलिएको थियो, नाकको टुप्पोमै सीमित थियो ऊ ।

फर्कनेहरूले ‘अब आइपुग्यो, ऊ त्यहीँनेर त हो’ भनेको पनि झन्डै डेढ घण्टामा पुगेका थियौँ । हामी गन्तव्य र लक्ष्य चुमेकामा हर्षविभोर थियौँ ।

आएको यही कुण्ड हेर्न त हो, साँच्चै भन्छु– म धर्म गर्न त्यहाँसम्म पुगेकै होइन । म कुण्ड हेर्न पुगेको थिएँ, त्यस सेरोफेरोको भूगोल र कुण्डको अवस्थिति नियाल्न पुगेको थिएँ, वास्तवमा ।

०००

म चारैतिर आँखा डुलाउँदै छु, अलिमाथि उभिएर । घाम र कुहिरोको लुकामारी चलिरहेकै छ, कतिखेर कुण्डलाई ढपक्कै ढाकिदिन्छ कुहिरोले र कतिखेर छाड्छ । कुण्ड स्थिर छ, कुहिरो गतिशील ।

घाम कोल्टो परिसकेको छ, तर पनि कुहिरोलाई छल्दै बेलाबखत कुण्डलाई हल्का स्पर्श गरिरहेको छ, छेउछाउतिर ।

कुहिरोले छाडेको मौका छोपेर फोटो खिच्छु, कुहिरोले ढाकेको बेलामा पनि खिच्छु । अघाउन्जेल फोटो खिच्छु म । आएकै यसैको लागि त हो यहाँसम्म !

म कुण्ड नियाल्दै कुण्डबारे पढेका र सुनेका कुरा सम्झन खोज्दै छु ।

त्यो उचाइमा त्यस्तो मनमोहक कुण्ड साँच्चिकै अद्भुत लागिरहेछ मलाई ।

प्रकृति के–के दिन्छ के–के ! के–के बनाउँछ के–के ! प्रकृतिका सिर्जना, प्रकृतिको कला साँच्चिकै गजबको छ । यही कुण्ड अलि तल, अलि सजिलो ठाउँमा भइदिएको भए पुग्न सहज त हुन्थ्यो ।

तर, यति सुन्दर, यति स्वच्छ, यति आकर्षक कहाँ पो रहन्थ्यो र मान्छेको सहज पहुँचमा भइदिएको भए ?

०००

म मानिस र प्रकृतिबीचको सम्बन्ध र पछिल्लो अवस्थातर्फ अर्थात् भनौँ, द्वन्द्वतर्फ पुग्छु ।

मानिस प्रकृतिमाथि जाइलाग्छ । पछिल्लो समय त प्रकृतिमाथि बढ्तै ज्यादती गरिरहेछ मान्छे । यसैले त बेलाबेला महामारी आउँछ, विपत्तिले पिरोल्छ मान्छेलाई । खै कुन्नि, किन आफ्नै खुट्टामा बन्चरो हान्छ मान्छे ?

मान्छे आफ्नो स्वार्थमा प्रकृतिको अन्धाधुन्ध दोहन गरिरहेछ । विज्ञानको बलमा मानिस जे गरिरहेछ, प्रकृतिलाई खलबल्याइ मात्र रहेछ । आत्मघाती तुजुक देखाइरहेछ, विज्ञानको नाममा ।

मानवीय ज्यादतीकै कारण कतिपय जीवजन्तु र वनस्पति लोप भइसकेका र कतिपय हुने अवस्थामा छन् । यसको परिणाम अझ गम्भीर एवम् पीडादायी हुने चेतावनी, समयमै सम्हालिने सन्देश प्रकृतिले दिइरहेकै छ ।

बुझ्नुपर्ने कुरो, वास्तवमा प्रकृतिबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । प्रकृतिको संरक्षण हाम्रो आफ्नै संरक्षण हो, यसमै हाम्रो भलो हुन्छ । मान्छेले कहिले पो बुझ्ने होला ? कहिले पो बुझ पचाउन छाड्ने होला ? कहिलेसम्म प्रकृतिलाई काबुमा राख्ने दुस्साहस गरिरहने होला ?

विज्ञानले जतिसुकै नयाँनयाँ उपलब्धि हासिल गरोस्, जेसुकै गरोस्, प्रकृतिमाथि विजय प्राप्त गर्न सक्दैन । प्रकृतिभित्रै रहेर मात्र गर्न सक्छ, जेजे गर्छ ।

विज्ञानले मानवजीवनलाई सहज बनाउन सक्छ, तर प्रकृतिले जे दिन्छ, त्यो दिन सक्दैन । प्राकृतिक सन्तुलन खलबल्याउने अधिकार विज्ञानलाई छैन । त्यसो गर्ने प्रयास गरेमा त्यो विपत्तिको वाहक हुन्छ ।

प्रकृतिलाई प्रेम गर्ने म यिनै कुरामा अलमलिँदै थिएँ वा भनौँ, हराउँदै थिएँ । यो उचाइमा आँखासामु वनस्पतिका नाममा केही छैनन् भुईंफूलका ससाना त्यान्द्राबाहेक । अझ कुण्डलाई घेरेका धारिला चट्टानमा त कतै केही नै देखिँदैन । वनस्पतिको अस्तित्व नै देखिँदैन ।

म प्रकृतिको यो नग्न रूप देखेर चकित छु । लुकेको छैन केही, सबै खुला । वास्तवमा प्रकृति खुला किताब नै हो । खुला आकाश, खुला प्रकृति, यी पनि त सुन्दर छन् ।

अनि, यी छन् र त यो कुण्डको अस्तित्व जोगिएको छ । ढुंगाको भर माटो, माटाको भर ढुंगा भनेकै यही त हो । कुण्ड नभए यहाँ को पो आउँथ्यो र ? अनि, यी पहरा र चट्टान नभइदिएका भए यो कुण्डको अस्तित्व नै कहाँ रहन्थ्यो र ?

०००

म प्रकृतिसँगै हराइरहेको थिएँ, यता चालक भाइ भूमिराज त कपडा खोलेर तम्तयार पो भइसकेछन् !

लाऊँलाऊँ खाऊँखाऊँको उमेरका छन् उनी । हँसिला, रसिला, सभ्य र शिष्ट पनि छन् । यो पहिलो यात्रा हो उनीसँगको ।

यात्रा कठिन भए पनि साथ छाडेका छैनन्, दुःखसुखका कुरा गरेका छन् । यिनलाई नजिकबाट चिन्ने अवसर मिलेको छ, उनी पनि चिन्दै छन् हामीलाई सायद ।

‘कुण्डमा डुब्नुपर्छ, मज्जाले नुहाउने है सर,’ बाटोमै भन्दै थिए ।

तर, म भने उनको प्रस्तावमा सहमत भइरहेको थिइनँ । सकभर टार्ने, पन्छने प्रयास र विषयान्तर गर्दै यहाँसम्म आइपुगेको थिएँ ।

सुमित्रा भने उनैलाई सघाउँदै, साथ दिँदै भन्दै थिइन्, ‘हो, नुहाउनुपर्छ । म त नुहाउँछु ।’

तर, म भने उकालो उक्लँदाको र तेर्सो लागिसकेपछिको उनको अवस्था हेर्दा निकै कमजोर र थकित देखिरहेको थिएँ । र, कसरी बिनाकुनै दुर्घटना फिर्ता ओरालो झारौँ भन्नेमा चिन्तित थिएँ ।

अहँ, मलाई पटक्क मन थिएन । साँच्चिकै लागेकै थिएन मन । भूमिराज भनिरहेकै थिए, म भने सकारात्मक भएकै थिइनँ कुण्डछेउ पुगिसक्दा पनि । अघिल्लो वर्ष दुई–दुईपटक मुक्तिनाथ पुग्दा एक सय आठ धाराको जल सेचन गरेरै मात्र चित्त बुझाएको मैले यहाँ पुगेर डुबुल्की मार्ने सोचेकै थिइनँ ।

मनमनै भनिरहेथेँ– यत्रो हिँडेर बल्लतल्ल आइपुगेको, थाकेर लखतरान परेको ज्यान यो चिसोमा कहाँ चोबल्नु ? चिसोबाट जोगिन लगाएका पत्रपत्र लुगा काढेर कहाँ नांगिनु काम नपाएर !

०००

सदाचारी हुनुपर्छ, मन पवित्र हुनुपर्छ । जानेर कसैको अपमान वा कसैलाई घृणा गर्नु, हेलाहोचो गर्नु हुँदैन । कसैको कुभलो चिताउनु हुँदैन । त्यही नै धर्म हो ।

चलेको परम्परा यसै त्याग्न त कहाँ सकिन्छ र ? तर, पूजापाठ गरेर धर्म हुँदैन भन्छु म । मलाई लाग्छ, सबैलाई आफूजस्तै ठान्नु र सबैसँग मानवीय एवं सम्मानजनक व्यवहार गर्नु नै धर्म हो । दुःखीलाई सहयोग गर्नु नै वास्तविक पूजा हो ।

कुण्ड होस् वा नदी, तिनमा डुबुल्की मारेर धर्म कमाइन्छ भन्ने पनि मान्दिनँ म । बरु, यस्तो लाग्छ, सबैले नुहाउने, डुबुल्की मार्ने ठाउँमा सरसफाइको अभाव हुन्छ र त्यसले रोगव्याधि आउन सक्छ ।

यताको कुरा त झन् फरक । उचाइमा पुग्दा अनेक किसिमका जोखिम हुन्छन्, हामी तलतलै हुर्केबढेका, उचाइसँग अभ्यस्त नभएकाहरूका हकमा । चिसोको, श्वासप्रश्वासको, लेक लाग्ने, वाकवाकी लाग्ने र टाउको दुख्नेजस्ता समस्या हुनसक्छ ।

तत्काल नसोचेको हुने, अप्रिय घटना घट्ने सम्भावना पनि हुन्छ । त्यस्ता घटना बेलाबखत थाहा पाइएकै हो । त्यसैले पनि मैले त्यहाँ पुग्दा ४,३८० मिटरको उचाइमा अवस्थित कुण्डमा डुबुल्की मार्ने कुरा सोचेकै थिइनँ । त्यसलाई सामान्य ठानेकै थिइनँ ।

तर, कहिलेकाहीँ आफूले सोचेकै मात्र हुँदो रहेनछ । अरूले चाहेजस्तो पनि गरिदिनुपर्ने र यात्रामा सहयात्रीसँग लय मिलाइदिनुपर्ने पनि हुँदो रहेछ ।

०००

हेर्दाहेर्दै तलैदेखि डुबुल्की मार्ने सोच्दै गएका भूमिराजले उता डुबुल्की मारे रहरैलाग्दो गरी । लखतरान परेर बल्लतल्ल त्यो उचाइमा पुगेकी सुमित्राले पनि मजाले डुबुल्की मारिन् ।

चिसो शरीर पुछ्दै भूमिराज भन्न थाले, ‘यहाँ आएपछि ननुहाइ नफर्कनुस्, सर ।’

यता कुण्डबाट काँप्दै निस्केकी सुमित्राको पनि डुबुल्की मारिदिए हुन्थ्यो भन्ने नै चाहना थियो । मलाई हौस्याउँदै भन्न थालिन्, ‘आहा, कति आनन्द !’

अन्ततः म उनीहरूको आग्रह, इच्छासामु नतमस्तक भएँ । आफ्नो अडानबाट पछि हटेर सहयात्री र अर्धांगिनीको इच्छा पूर्ण गरिदिन अघि सरेँ वा भनौँ, उनीहरूले डुबुल्की मारेको देखेपछि म पनि हौसिएँ । र, कपडा खोलेर कुण्डमा पसेँ ।

०००

आच्छु...छु...छु कति चिसो पानी !

कल्पना गरेभन्दा धेरै चिसो थियो पानी । तर, रुझेपछि भिज्न डराउने कुरो भएन । यसैले डुबुल्की मार्न थालेँ ।

तीनपटक डुबुल्की मारिसकेपछि बाहिर निस्केर पुछपाछ गरेँ । कपडा लगाएपछि त ज्यान ताती त हाल्यो ।

पर त्रिशूलधारा छ भन्ने थाहा पाएका थियौँ । ध्वजापताका लहराइरहेको र मानिसहरू ओहरदोहर गरिरहेका पनि देखिरहेथ्यौँ ।

सुमित्रालाई सोधेँ, ‘के गर्ने, जाने किन जाने त्यहाँ ? सकिन्छ जान ?’

‘किन नसक्नु, अब त थकाइसकाइ हरायो ! जाने । त्यहाँबाट निस्केको जल यो कुण्डमा आउने हो । मुख्य ठाउँ त त्यो पो हो, शिवजीले त्रिशूल रोपेको । त्यहीँको जल पिएपछि त भगवान्लाई कालकूट विषको प्रभाव हराएको,’ सुमित्रा हौसिइन् ।

अनि थपिन्, ‘त्यही भएर त गोसाइँकुण्ड पवित्र मानिएको ।’

कुण्डमा स्नान गरेपछिको चंगा शरीर लिएर हामी फुर्तीसाथ त्यतै लाग्यौँ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro