वनस्पतिसँग सोधेँ– ‘के चाहन्छौ ?’
वनस्पतिले भने– ‘न्याय ।’
‘त्यो भनेको के हो ?’
वनस्पतिले भने– ‘अरूको अधिकार हनन नगरीकन धरतीमा हामीले पाउने न्यायोचित भाग ।’
मैले भनेँ– ‘अलि प्रस्ट भन न ।’
वनस्पतिले भने– ‘पञ्चतत्त्वमा हाम्रो मोहीयानी हक । बँधुवामजदुर हक ।’
मैले सोधेँ– ‘त्यो भनेको के ?’
वनस्पतिले भने– ‘हाम्रो भागको पृथ्वी, जल, वायु, आगो र आकाशको न्यायोचित उपयोग गर्ने अधिकार ।’
मैले सोधेँ– ‘अनि तिमी हामीलाई के दिन्छौ ?’
वनस्पतिले भने– ‘तिमीले सास फेर्ने वायु । तिमीले खाने भोजन । तिमीले पिउने पेय । तिम्रो व्याधि निको पार्ने औषधि । तिमीले बस्ने घर । तिमीले लाउने लुगा । तिमीले रसास्वादन गर्ने सौन्दर्य । तिमीलाई बाँच्न चाहिने सबै कुराहरू । तिमीलाई बाँच्नका लागि नभै नहुने पञ्चतत्त्वका हामी अभिन्न अंग हौँ । हामी तिम्रा लागि आफ्नो जीवन उत्सर्ग गर्छौँ ।’
पशुसँग सोधेँ– ‘के चाहन्छौ ?’
पशुले भने– ‘न्याय ।’
मैले सोधेँ– ‘त्यो भनेको के हो ?’
पशुले भने– ‘धरतीमा हाम्रो हक ।’
मैले भनेँ– ‘अलि प्रस्ट भन न ।’
पशुले भने– ‘पञ्चतत्त्वमा हाम्रो मोहियानी हक, बँधुवामजदुर हक ।’
मैले सोधेँ– ‘त्यो भनेको के ?’
पशुले भने– ‘हाम्रो भागको पृथ्वी, जल, वायु, आगो र आकाशको न्यायोचित उपयोग गर्ने अधिकार ।’
मैले सोधेँ– ‘त्यो भनेको के ?’
पशुले भने– ‘पेट भर्न घाँस र तिर्खा मेट्न पानी ।’
मैले सोधेँ– ‘त्यसको साटो तिमी हामीलाई के दिन्छौ ?’
पशुले भने– ‘बाँचुन्जेल हामी तिम्रा दासानुदास भएर, तिम्रा जेल, नेल, कोर्रा र यातना सहेर, तिम्रा शोषण, उत्पीडन, सनक र लहडका सिकार हुन्छौँ । मरेपछि हाम्रो सिनाले तिम्रो जिब्राको तिर्सना मेट्छौँ र तिमीलाई तृप्त पार्छौँ ।’
मान्छेसँग सोधेँ– ‘के चाहन्छौ ?’
मान्छेले भने– ‘न्याय ।’
मैले सोधेँ– ‘त्यो भनेको के ?’
मान्छेले भने, ‘धरतीमाथि हाम्रो न्यायोचित अधिकार ।’
मैले भनेँ– ‘अलि प्रस्ट भन न ।’
मान्छेले दृढतापूर्वक भने– ‘हामीले परिभाषा गरेको न्याय ।’
मैले सोधेँ– ‘त्यो भनेको के ?’
मान्छेले जुँगामा ताउ लाएर भने– ‘तिमीहरूको सर्वस्वमा हाम्रो अधिकार । हामीलाई जति सम्पति भए पनि पुग्दैन ।’
मैले सोधेँ– ‘अनि ?’
मान्छेले भने– ‘तिमीहरूका सन्तानमा हाम्रो प्रभुत्व । हामीलाई जति दासदासी भए पनि पुग्दैन ।’
मैले सोधेँ– ‘अनि ?’
मान्छेले भने, ‘तिमीहरूको ज्यान । हामीलाई कसैले हाम्रो सिद्धान्तको विरोध गरेको मन पर्दैन ।’
मैले सोधेँ– ‘त्यसको साटो तिमी हामीलाई के दिन्छौ ?’
मान्छेले भने– ‘धरतीमा हाम्रो निर्विवाद, प्रश्नरहित एकछत्र शासन ।’
(२०६५ कात्तिक ३)
(‘जगदीश घिमिरेका प्रतिनिधि कथाहरू’बाट)