site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजरायलले चारदिने गाजा युद्धविराम र बन्धकको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने जनाएको छ । इजरायलको उक्त भनाइले हमाससँगको युद्ध रोक्न गरिएको महत्त्वपूर्ण सम्झौता कार्यान्वयनमा ढिलाइ भएको छ ।

इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० जनाको रिहाइ अपेक्षाअनुसार बिहीबार नहुने संकेत गरेका छन् ।

“हाम्रा बन्धकहरूको रिहाइका निम्ति सम्पर्क अगाडि बढेको छ र यो जारी छ,” उनले एक विज्ञप्तिमा भनेका छन्, “रिहाइको सुरुआत पक्षहरूबीचको मूल सम्झौताअनुसार हुनेछ र शुक्रबारभन्दा पहिला हुने छैन ।”

अर्का इजरायली अधिकारीले युद्धमा अस्थायी रोक बिहीबार पनि सुरु नहुने बताएका छन् । यो ढिलाइ आफ्ना प्रियजनलाई घर फर्केको हेर्न चिन्तित परिवार र ४७ दिनको युद्ध तथा अभावको समाप्तिका निम्ति प्रार्थना गरिरहेका २० लाखभन्दा धेरै गाजावासीका लागि ठूलो झट्का हो ।

जटिल र सावधानीपूर्वक तयार गरिएको सम्झौतामा इजरायल र हमास चारदिने युद्धविराम गर्न सहमत भएका छन् । सम्झौताअन्तर्गत प्यालेस्टाइनी लडाकु समूहले अक्टोबर ७ मा गरेको घातक हमलामा बन्धक बनाइएका मध्ये कम्तीमा ५० व्यक्तिलाई रिहा गरिनेछ ।

रिहा गरिने प्रत्येक १० अतिरिक्त बन्धकका निम्ति युद्धमा थप एक दिनको ‘विराम’ हुने इजरायली सरकारले एक दस्तावेजमा जनाएको छ । रिहाइका निम्ति तोकिएका मध्ये तीन वर्षीय अबिगैल मोर इदानसहित तीन अमेरिकी रहेका छन् ।

बदलामा इजरायलले कम्तीमा १५० प्यालेस्टाइनी महिला र बालबालिकालाई रिहा गर्नेछ । हप्तौँको बमबारी तथा ठूलो लडाइँपछि घेरामा परेको तटीय क्षेत्रमा थप मानवीय सहायताको प्रवेशलाई अनुमति दिइनेछ ।

इजरायल, हमास, कतार, इजिप्ट र अमेरिका सम्मिलित धेरै साताको कुराकानीपछि गरिएको सम्झौताको कार्यान्वयनमा भएको यो ढिलाइको कारण तत्काल स्पष्ट हुन सकेको छैन ।

कतारको विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल–अन्सारीले बिहीबार सम्झौताको कार्यान्वयन ‘जारी रहेको र सकारात्मक रूपमा भइरहेको’ बताए । “अबको केही घण्टामा युद्धविराम सम्झौताको टुंगो लगाइनेछ,” उनले भने । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro