site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको ‘नीति महाधिवेशन’ : तयारी नगर्ने, प्रकोप र चाडपर्व देखाएर सार्ने रणनीति
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक तेस्रोपटक सारिएको छ । हलको उपलब्धतादेखि नेताको कार्यव्यस्तता र चाडपर्व देखाएर पटकपटक कांग्रेसले महासमिति बैठक सारेको हो ।

कांग्रेसले २०७९ मंसिर अन्तिममा पार्टीको १४औँ महाधिवेशन सम्पन्न  गरेको थियो । उक्त महाधिवेशनमा पार्टीको नीतिमा छलफल भएन । नेतृत्व चयनका लागि मात्र भएको महाधिवेशनले नीति अधिवेशन भने एक वर्षभित्र गर्ने निर्णय गरेको तत्कालीन पार्टी प्रवक्ता तथा हालका महामन्त्री विश्वप्रकाश शर्माले बताएका थिए ।

तर, महाधिवेशन सम्पन्न भएको झन्डै दुई वर्षपश्चात् मात्र कांग्रेसले नीति अधिवेशन गर्ने निर्णय गरेको हो । पार्टीको २०८० साउन २ देखि १० गते सम्म बसेको केन्द्रीय समिति बैठकले मंसिर १३, १४ र १५ गते काठमाडौंमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो । यही महासमिति बैठकले नीति अधिवेशनको काम गर्ने निर्णय बैठकमा भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, केन्द्रीय समिति बैठकले तोकेको मिति कात्तिक १९ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले परिवर्तन गर्‍यो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बैठकपश्चात् कर्णाली प्रदेशमा गएको भूकम्प, आउँदै गरेको चाडपर्व र हलको अभाव देखाउँदै तोकिएको मितिमा बैठक नबसेर मंसिर २९ देखि पुस २ गतेसम्म बैठक बस्ने जानकारी दिएका थिए ।

“तत्कालै हलको अभाव । दोस्रो भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति बैठकको तयारीका थुप्रै काम प्रभावित भएको कारणले हो,” उनले भनेका थिए, “अर्कोतिर हलका लागि प्राविधिक केही कठिनाइ भयो । क्षमता पुग्ने हल काठमाडौंमा भएन भने, बाहिरको हल बुकिङ्ग गर्दा गोदावरी जानुपर्ने भएकाले त्यो समयमा मात्र हल उपलब्ध हुने भएपछि हामीले मंसिरको २९, ३० र पुसको १ र २ गतेभित्र बैठक सम्पन्न गर्ने निर्णय गरेका छौँ ।”

Global Ime bank

तर, कांग्रेसले मंगलबार पुनः पत्रकार सम्मेलन गर्दै सो मितिमा पनि बैठक सम्भव नभएको जानकारी दिएको छ । प्रचार विभाग प्रमुख विश्वकर्माले महासमिति बैठक राष्ट्रिय मेलमिलाप दिवसको दिनदेखि गर्ने मिति तय भएको जानकारी दिए ।

“पहिला हामीले महासमिति बैठक मंसिरको १३–१५ मा गर्ने भन्यौँ । विभिन्न कारणले केही दिन धकेलियो । कार्यसम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ । तर, तिथिमिति हेर्दा फेरि पनि बदल्नु परेको हो,” विश्वकर्माले भने, “अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौँ ।”

के हो यथार्थ ?

नेताहरूले दस्तावेज तयार पारेका छैनन् । दस्तावेज माथि छलफल प्रारम्भ भएकै छैन । तल्ला निकायदेखि राजनीतिभन्दा बाहिरका व्यक्तित्वसँग छलफल गर्ने र कांग्रेसको नीतिको दायरा फराकिलो पार्ने पूर्वघोषणा कार्यान्वयन भएको छैन । यही कारण महासमिति बैठक पछि सारिए पनि पार्टी भने भूकम्प, बीचमा परेको चाडपर्वलाई कारणको रुरूपमा प्रस्तुत गर्दै हिँडेको छ ।

“पुस १६ गते उद्घाटन गर्ने भनिए पनि अझै त्यो मितिमा हुन्छ भन्ने ग्यारेन्टी छैन,” सभापति देउवानिकट एक नेता भन्छन्, “नीति महाधिवेशनलाई साँच्चै प्रभावकारी बनाउने हो भने त तयारी पनि पर्‍याप्त भएकै छैन ।”

कांग्रेसले नीति महाधिवेशनका लागि तयार पारिएको प्रस्तावमा जिल्ला सभापति तहसम्म छलफल गर्ने आन्तरिक तयारी गरेको थियो । त्यसबाहेक राजनीतिबाहिरका नागरिक समाजका प्रतिनिधि र वुद्धिजीवीहरूको सुझाव लिने पनि उसको तयारी थियो । तर, अहिलेसम्म प्रस्ताव तयार गर्ने जिम्मेवारी पाएका पार्टी उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कसैले पनि प्रस्ताव तयार पारेका छैनन् । प्रारम्भिक मस्यौदा समेत तयारी नहुँदा प्रस्तावमा आन्तरिक छलफल समेत हुन नपाएको देउवानिकट अर्का एक नेता बताउँछन् ।

“हामीले तयार पारिएका प्रस्तावमा जिल्ला सभापतिसहित प्रदेश स्तरीय छफलको तयारी गरेका छौँ । अहिले दुईवटा कारणले त्यो छलफल सम्भव भएको छैन,” ती नेताले बाह्रखरीसँग भने, “पहिलो त प्रस्ताव नै तयार भएका छैनन् । दोस्रो जिल्ला सभापतिहरूले आफ्नो जिल्ला सम्मेलन नै सम्पन्न गरेका छैनन् । त्यसैले उनीहरूलाई मंसिर १० भित्र जिल्ला सम्मेलन सकेर पठाउन भनेका छौँ ।”

उनी एकपटक भने सातै प्रदेशमा छलफल गरेर मात्र नीति महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने बताउँछन् । तर, जुन् स्तरमा छलफल चलाएर कांग्रेसको नीतिको व्यापकता स्थापित गर्नुपर्ने हो, त्यसअनुरूप काम हुन नसकेको उनी स्वीकार गर्छन् ।

“पुराना दल भन्दै कांग्रेसका विषयमा जे जस्ता आरोप र प्रश्नहरू छन्, त्यसलाई व्यापक छलफल र अन्तरक्रियाले मात्रै चिर्न सक्छ । यो विषय मैले हाम्रो आन्तरिक बैठकको क्रममा पनि राखेको छु,” ती नेताले भने, “तर, जिम्मेवारीमा रहेका नेताहरू हामीले भन्दा सिरियस लिएझै गर्नुहुन्छ, व्यवहारमा सिरियस देखिनुभएको छैन ।”

देउवाले भनेका थिए– गोदावारी त टाढा हुन्छ, गाली गर्छन् हामीलाई

कांग्रेसले नीति अधिवेशन भृकुटीमण्डपमा गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम साउनमा उसले स्थानका लागि कुरा पनि गर्‍यो । तर, मंसिर महिनाभरिका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले सो स्थान रिर्जभ गरिसकेको थियो । कांग्रेसका नेताका अनुसार कुरा गर्दा जेठमै महासंघले मंसिरका लागि ‘भेन्यू बुक’ गरेको थियो ।

त्यसपश्चात् कांग्रेसले यलम्बर पार्टी प्यालेसमा बैठक गर्ने भन्दै प्रकृया अघि बढायो । दुई हजार ५०० बढी सहभागी हुने कार्यक्रम गर्न यलम्बरमा सम्भव देखिएन । “एकपटकमा २०० जनालाई मात्र खाना खुवाउन सकिन्छ भनेपछि भात खुवाउँदै दिन बित्ने भयो । त्यहाँ पनि सम्भव भएन,” देउवानिकट नेताले भने ।

महामन्त्रीद्वयबाट गोदावारीमा बैठक गर्ने प्रस्ताव आयो । तर, उक्त मितिमा गोदावारीमा हल उपलब्ध हुन असम्भव देखियो । मंसिर १३ देखि १५ गते सम्म गर्ने बैठक मंसिर २२ मा गर्ने प्रस्ताव कार्यसम्पादन समितिमा आयो । किनभने, मंसिर २२ देखि २६ सम्म गोदावारीमा हल खाली हुने देखियो । २७ र २८ पुनः हल बुकिङ भएको जानकारी गोदावारीबाट आयो ।  तर, शेखर कोइरालाले एक÷दुई दिन बैठक लम्बिए के हुन्छ भनेपछि त्यो मिति सारेर मंसिर २९ देखि पुस २ सम्मलाई पुर्याइएको थियो ।

यो सुनेपछि सभापति देउवाले गोदावरी टाढा हुने भनेका थिए । कार्यसम्पादन समितिमा बसेका ती नेताका अनुसार देउवाले बैठकमा सहभागी हुन आउनेले गाली गर्छन् भनेका थिए । “गोदावरी त टाढा हुन्छ । जाडोमा आउनेले किन टाढा राखेको भनेर गाली गर्छन्,” देउवाले बैठकमा भनेका थिए ।

देउवानिकट अर्का एक केन्द्रीय नेता मंसिर २९ गतेका लागि महासमिति बैठक गर्ने निर्णय पनि हतारमै भएको बताउँछन् । कात्तिक १९ गते बैठक बसेर मंसिर २९ लाई बैठक सरेको थियो । तर, उक्त समयमा उपप्रधान तथा रक्षामन्त्रीलगायत केही नेता नभ्याउने भए । यो समयलाई सारेर पुस ६ गतेपछि गर्ने प्रस्ताव महामन्त्रीहरुले गरेका थिए ।

तर, पुस १५ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन उद्घाटन गर्ने निर्णयमा कांग्रेस पुगेको हो । “यो सबै निर्णय आज बिहान बालुवाटारमा उभिएर भएको हो,” ती नेताले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  २१:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय